Saturday 9 March 2013

डायरी:- सडक दुर्घटना र ऊ

               सडक दुर्घटना र ऊ 
                                     
          ट्राफिक सिग्नलको हेलचेक्रयाईंले गर्दा यो दुर्घटना भएको हुनु पर्दछ।चौबाटोमा एकै दिशाका ट्रकले मोटर साइकललाई ठक्कर दिएर घटनास्थलमा नै मोटर चालकको मृत्यु भएको छ।बिहानको दश बजे कम्पनीको काम विशेषले गर्दा म कम्पनीको लोरी [ट्रक] मा बाहिर गएको हुँ।हामी त्यहाँ पुग्दा यो घटना घटी सकेको थियो।पुसिलले मृतकको पार्थिव शरीरलाई कालो प्लाष्टिकले घुँडासम्म छोपेको थियो।केहि मान्छेहरु
जम्मा भएका थिए।सवारी साधनहरुको गति कम भएकोले सडक जाम हुन्छ भनेर ट्राफिकहरु सक्रिय थिए।
       म र लोरी चालक [पाकिस्तानी मूलका मलेसियन नागरिक] बीच उक्त घटना कसरि हुन पुग्यो भनेर अनुमान लगाउन थाल्यौ।यो चौबाटो त्यसमा पनि ट्राफिक सिग्नलको सडक सिमांकन भएको ठाउँमा घटना हुन पुगेको छ,सायद ग्रिन सिग्नलको इशारा पाए पछि ट्रकले गति लिंदा ड्राइभरले छेउमा रहेको मोटर साइकलको ख्याल गरेन होला।यस्तै-यस्तै गफ चले पनि मैले आफ्नो देशलाई भक्कु सम्झिएँ किनकि यो घटना देशमा हुँदो हो त यति बेला अकल्पनीय गरि उथल-पुथल भई सक्ने थियो।सडक दुर्घटनामा गोरु,गाई,भैसी आदि चौपायाको के कुरा कुखुरा,हाँस नै घटनास्थलमा मरेछ भने जवसम्म क्षतिपूर्तिको कुरा हुँदैन तवसम्म सडक अवरुद्ध हुने गर्छ।निश्चय नै मृत्यु/दुर्घटना जसको होस् दु:खदायी नै हुने गर्छ।यद्यपि विवेक नगुमाई संयमता अपनाएर निष्कर्षमा पुग्न सक्नु पर्दछ।
      करिब एक घण्टा पछि हामी फर्किंदा बल्ल लाश उठाउने प्रक्रिया हुँदै थियो।मसंगैको ड्राइभरलाई पनि धेरै नै खिन्नता महशुस भैरहेको थियो।सडक किनारामा ट्रक रोकेर हामी घटनास्थललाई हेर्न र बुझ्न झर्यौ।एक जना स्थानीय मलायुबाट घटनाको जानकारी मिल्यो- 'चाइनिज मूलको मलेसियन नागरिक रहेछ,अन्दाजी १८ वर्षको केटो स्कूल जाने क्रममा यो घटना हुन पुगेको रहेछ..।
       त्यहाँबाट फर्किने क्रममा हामी दुवै जना अति नै भावुक हुन पुग्यौ।मौन रह्यौ।ड्राइभरको अनुहारमा स्पष्ट गरि मलिनता छाईसकेको थियो।भित्रि आत्मा रुए पनि आँखा बजबुत बनेर झिम्झिमाई रहेको देखें।यो अनुहारलाई नियाले पछि मलाई अनुमान लगाउन गह्यो परेन,पक्कै पनि उसले -बाह्र वर्ष अघि आफ्नो जेठो छोराको यसरि नै दुर्घटना भई मृत्यु भएको झलझली सम्झिएको हुनु पर्दछ अनि आठ वर्ष अघि माइलो छोराको उपचार गर्ने क्रममा हस्पिटलमा मृत्यु भएको क्षणहरु।यतिबेला म यी घटना र उसको अतितलाई मन-मथिंगलमा नचाहँदा-नचाहँदै सम्झिएर भाव विह्वल भैरहेको छु।
[०९-०३-२०१३    chemor - buntong  -सडक खण्ड ,मलेसिया ] 

1 comment: