Monday 11 March 2013

कविता- "मान्छे'

  "मान्छे"

मान्छे
प्रत्येक मान्छे जीउनका खातिर
यता-उता भौतारिएर
केहि हराएर खोजे जस्तो
केहि लिनलाई रोजे जस्तो
खै के-के चाहिरहेको हुन्छ
अनि केहि पाउने लालसामा

जीईरहेकोछ
फेरि लाग्छ
जिन्दगी नै तमसुकमा
कसैसामु राखिदिएको छ बन्धकी
यसर्थ
ऋण मुक्क्त हुन
भागदौड गरिरहेकोछ
विना कसैको पर्वाह
बेमतलव
जे गर्छ त्यसलाई जायज ठान्दै
वश,जीउनलाई गरिरहेछ
अनि गरिरहन्छ सायद
किनकी
प्राणीहरु मध्ये
बुध्दिले दिग्विजयी बनेको
सर्व श्रेष्ठ प्राणी मान्छे
धेरै समयपछि
मुखबाट बोलि फुरी
बाँदरहरुको हुलबाट
अप्रत्यासित उछिट्टिएर झागीन्दै
कहलिएको मान्छे
टार्न नमिल्ने मृत्युलाई भुलेर
जीउने आकाङ्क्षामा
पाप र पुण्यको हिस्सालाई
प्रायश्चित जताए जस्तो गरि
भगवानको खुशामत गर्दै
आफुलाई सर्वोपरि ठान्छ
अनि त्यसैको आडमा
जोसुकैसंग जे पनि गर्छ
विना हिच्किचाहट
विना डर,त्रास
अंह डराउदैन कसैसंग
केवल मान्छे डराउछ
मान्छेबाटै
मान्छे असुरक्षित हुन्छ
मान्छेबाटै
वाध्यता र स्वाभिमानको निहुँमा
बाँच्न र अस्तित्व बचाउन
मान्छेले मान्छेलाई नै मार्छ
रै पनि मान्छे आफुलाई
कहिल्यै सुरक्षित ठान्दै
निर्दुक्क बाँच्न सक्दैन
जीउनुमा सन्तुष्ट पाउदैन
यद्यपि
खै के-के चाहिरहेको हुन्छ
सायद जीवनको अन्त्यसम्म
हुन सक्छ यसरी नै
संसार यथावत रहेमा
अब कदापि मान्छे
बाँदर बन्न सक्दैन
अनि बाँदर कहिल्यै मान्छे बन्दैन
यसर्थ
जीउने बहाना र कोशिशमा
थाहा छैन कुन युगसम्म
निर्लज्ज,निर्लिप्त,निर्दयी बनि
अपाच्य शृंखलाहरु
सर्वथोक सदैव गरिरहन्छ
मान्छे

[२०-०९-२००९ मलेसिया]

No comments:

Post a Comment