Tuesday 15 July 2014

कविता:- आकाशवाणी र म // म फेदाङ्मा हुँ

"आकाशवाणी र म"

"हौ केटा !
कहिलेसम्म तटमा उभिएर रनभुल्ल पर्छस् ?
तँसंगै देखा परेकाहरु
बन्दरगाहबाट किस्ती लिएर
महासागरको यात्रामा निस्की सके
तैले पनि तय त गर्नै पर्छ
सबैको गन्तव्य त्यो निलो क्षितिजतिर नै हो
तँ जति नै
आंधी-हुरी,छाल,सुनामीसंग तर्किएरडराएर बसे पनि
तँ पनि जानु नै पर्छ एक दिन
ल सुन !

अरुलाई जस्तै
तेरो निम्ति पनि एउटा किस्ती पठाई दिएको छु
जसलाई तैले साथ लिएर गए साह्रै राम्रो
बाँकटे हानेर एक्लै जान्छस् भने पनि केहि छैन
तर
जा केटा जा !"

म मुलाङ्खरे !
धेरै किस्तीहरुको सामु पुगेर
धेरै पटक सफर गर्न हिच्किचाई रहने न परें
यात्रुहरुको लाईनमा उपल्लो पुच्छरतिर खडा भएपछि
फनक्क पछिल्लो लाईनमा फर्कने

यो पटक
एउटा किस्तीलाई नियाली रहेको छु
जसलाई पानीको तरंगले किनारतिर धकेलिरहेको छ
र'पनि
आफूलाई सहज बनाई कसैको प्रतिक्षारत देखिन्छ
म उसैको समिप जानलाई हरप्रयास गरिरहेकोछु
मलाई लाग्दैछ,
ति आंधी-हुरी,समुद्री-छाल,सुनामीसंग
साथमा साथ सामना गर्दै,साथमा साथ लागेर
त्यो अन्कटार क्षितिजतिरको गन्तव्यसम्मै हुनेछौ

बबुरो म !
महासागरको यात्रामा
मेरो सहयात्री बनाउनलाई
पटक-पटक इशारा दिई रहेकोछु ।
१६-१०-२०१३
###  ***  ####

" म फेदाङ्मा हुँ"

बक्नु..?
आ..के बक्नु
बक्दिन अहँ बक्दै बक्दिन
लेख्नु..?
आ..के लेख्नु,
लेख्दिन अहँ लेख्दै लेख्दिन
यो चैतको महिनामा
कत्रो-कत्रो हुण्डरी आउँछ जान्छ
यस बारेमा के बक्नु/ लेख्नु ?
लेखे पनि बके पनि आधिकारिक हुने छैन
यसो हुनाले म यति भन्छु
ममा देउता चढ्छ
ममा भूत सवार हुन्छ
यो बेला अलौकिक
म, सुनाउन सक्छु
म,बोल्न सक्छु
युगले नपत्याएको
म,फेदाङ् मा हुँ
मैले फलाकेको माने पनि भो
नमाने पनि भो
तर
तिमी त युगले पत्याएको महापुरुष
अझ मौसम विभागका कारिन्दा
मौन व्रत बस्न नसकेर
दैविक प्रकोपको झ्याली पिटिरहेका छौ
यी झिल्कोहरु,यी ताण्डव नृत्यहरु
यो तवाह यो आगलागी
चैतको मास सम्झी चित्त बुझाउनु भन्दै छौ
कतिलाई सक्छौ बुझाउदै गर
विनास/क्षतिहरुको विवरण
ति लुट्मुटिन्दै आएका हावासंगै उडाउदै गर
र भनि देऊ
हावाहरु संगोलमा हुण्डरी बनेर आयो
अनि असिनाहरु वर्षाउदै गयो
तिमी जे-जे भन म त्यसो भन्न सक्दिन
किनकि
म,फेदाङ् मा हुँ
ममा देउता चढ्छ
ममा भूत सवार हुन्छ
यो बेला अलौकिक
म, सुनाउन सक्छु
म,बोल्न सक्छु।

मलाई यति थाहा छ
आउने युगले तिमीलाई इतिहास सम्झिने छन्
मलाई रुढिवादी।
०१-०४-२०१३
[दृष्टान्त:- २४ मार्च २०१३ मा मलेसियाको जोहोरबारुमा स्थानीय बासिन्दा र नेपालीहरुबीच भएको झडपपछि सनसनी मचिएको घटनामा  धेरै नेपालीहरु हताहत भएका थिए। अनौपचारिक अड्कलबाजीसंगै कुटनीतिक नियोक/नेपाली निकायहरुको असक्षम भूमिकाले गर्दा सो घटनाको सत्य-तथ्य ईतिहासको कालो दिन बनेर लुकिसकेको छ ।यो कविता यहि सन्दर्भमा लेखिएको हो। ]

No comments:

Post a Comment