Saturday 23 March 2013

कथा- निमन्त्रणा"


                               ”निमन्त्रणा”

"अरे कहिले आयौ"
"अस्तिको दिन"सोझो जवाफ दिएँ।
          म उनको समिप पुग्दा एक टकले मलाई हेरी रहिन्।मानौ अकस्मात् सोचेको वस्तु सामुन्ने प्रकट भयो।उनको हाउभाउलाई राम्ररी नियाली रहें।मन्द मुस्कानलाई ख्याल गर्ने हो भने यस्तो तेजस्वी नूरमा जूनको के सादृश्य गर्यौ त्यहाँ जो दाग छ । अँ,'मोनालिसा'को अलौकिक चेहेराको तस्विर जसलाई सोह्रौ शताब्दीतिर ‘लियोनार्दो दा भिन्ची’ले क्यानभासमा उतारेर अहिलेसम्म विश्वलाई मोहित पारिरहेकोछ।‘नाई’ यो पनि न्यायोचित हुँदैन।बरु अहिलेका जल्दा-बल्दा चित्रकार रमेश पौडेल या खगेन्द्र लिम्बू जो पुस्तकहरुमा आवरण चित्र कोर्न खपिस हुनुहुन्छ।उहाँहरुले आफ्नै जिन्दगीको पुस्तकमा उनको मुस्कान भरिएको मुहारलाई
कलात्मक ढंगले जस्ताको त्यस्तै चित्रण गर्ने हो भने आउँदो शताब्दी भरीलाई अर्को रहस्यमय मुस्कानको तस्विर बनि फेरी विश्वमा तहल्का मचाई दिनेछ।हलुका शृंगारले सौन्दर्य थपेको मुहारमा सुहाउँदिलो ओठ,दुवै गाला केहि उठेका,मिलेका आँखीभुईं र परेलासंगै सानदार चक्षुको चमक,ललाटमा देखिने मधुर केहि धर्सा मानौ यी अवयवहरु मुहारमा खुब सजिएर आफूलाई बफादार साबित गरि रहेकोछ।अझ रेशमी झैँ लामो कपाल जो कम्मरसम्म लत्रिएको छ।यी विवरणबाट तयार हुने एक सक्लो तस्विर देखेर पक्कै जो पनि अपलक हेरिरहने थिए होला।जति पटक हाम्रो भेट भईरहेकोछ त्यति नै पटक म उनको रुपमा मगन भईरहेकोछु।
"कति कामले यतातिर आयौ ?" काँचो गमला ड्रमा राखेर बुट्टा भर्दै बोलिन्।
"चुरोट सकिएकोले जाहिरसंग माग्न आ'को।" उनीसंगै काम गर्ने बङ्गलादेशको जाहिर र मबीच निकै घनिष्टता छ।भाषा दोषको केहि समस्या हामी तीनै जनालाई भएता पनि जाहिरले बेला मौकामा हामी दुईलाई खुब जिस्काउने गर्छ।
"ऊ त ढापू [गमला पकाउने भट्टी] लगाउदैछ,एकछिनमा आउछ।" बोलि सकेर सुन्दर फूलको बुट्टा कुँदी सकेको गमला चाङमा राखिन्।म उनको क्रियाकलापलाई नियाली रहेकोछु।
        मेरो कम्पनीको सामुन्ने रहेको यो कम्पनीमा उनि काम गर्न थालेकी तीन वर्ष जति भयो।पहिले अन्तै काम गर्थी।अधवैशे यो उमेरमा पनि पुरुष उन्मादका लागि गुरुत्वाकार्षण नै छिन्।तत्कालको उमेरमा बीस वर्ष घटाउने हो भने लगभग बीस कि हुन्छिन् होला।यो चिप्लिसकेको उनको उमेरलाई म जवर्जस्ती वैशालु सम्झने असफल प्रयास गर्ने गर्छु।मेरो कपोल-कल्पित युगमा उनलाई जीउडाल,हाउभाउ,उचाई,लवज आदि मिलेर भरिपूर्ण रुपसी देख्ने गर्छु,अझ षोडशी सोच्नु पर्दा बिछट्टै अङ्गना।मेरो नजरमा यतिसम्म नाजवाफ रूपमती भएता पनि उनको जीवनको केहि कुरूपताको बारेमा जानिफकार छु।
“छुट्टीमा घर जाँदा किन बिहे गरेनौ ?” गमलामा साबिकको बुट्टा कुँदै पुन: बोलिन्।
“बिहे गर्नलाई कोहि फेला परेनन्,फेरि जरूरी लागेन।“ हल्का मुस्कान झल्काउदै बोलें।यिनलाई मेरो बारेमा जाहिरले भनिसकेको हुनु पदर्छ।त्यसैले निश्चिन्त भएर बोलिरहेकी छे। 
“बुद्धू..!बिहे कहीं जरूरी हुन सक्छ ? यो दुनियाँको दस्तुर हो।“
“जुन दस्तुरको लागि जिन्दगी बन्धक बन्छ भने त्यसलाई किन महत्व दिनु र !”
“बन्धक होईन सहारा हो,जो जिन्दगी बिताउनलाई अत्यावश्यक पर्दछ”
“यदि यसो हो भने तिम्रो जिन्दगी कता मोडिन्दैछ,कहिल्यै ख्याल गरेकी छौ के..?” प्याच्च बोलि दिएँ।यति बेला उनको मुहार हेर्न लायक थिएन। 
        लगभग बीस वर्षअघि मुस्लिम परम्परामा उनको बिहे भएको थियो। पाँच वर्षको छोरो हुँदा उनीहरु बीच सम्बन्ध-विच्छेद भयो।यसो हुनुमा सम्पूर्ण दोष उनीलाई मात्र छ,कारण नखरमाउली छे।हाउभाउ देखेर मात्र टिप्पणी गर्ने हो भने झट्टै जोकोहीले पनि उनको दोषमा सहमत जनाउन हिच्किच्याउने छैनन्।म जहिल्यै उनको जोखना हेर्ने गर्छु,यतिले मात्र सम्बन्धको गाँठो फुत्किएको होईन।दुबैमा अरु पनि दोषारोपण थिए होलान् जसलाई चर्चामा ल्याउन कसैले मुनासिब ठानेनन् होला।बस् जहाँ पनि छोरी मान्छेलाई बदनाम गर्न र गराउन यति भए काफी हुने गर्छ।
        मलेसियामा मुस्लिम महिलाले बुर्का पहिरनु अनिवार्य छैन। रै’पनि प्राय: जसो ‘तुडुङ्ग’ [कपाल छोप्ने सल] पहिरने गर्छन्।आस्तिक भएर पनि उनले यसो गरेको कहिल्यै देख्दिन।सायद धर्मलाई जतिसम्म पालना गर्न सक्छिन त्यति मात्र गर्ने गर्छिन होला।
“मन दुख्यो कि..! छैन भने केहि सोधुँ..?” मेरो मनमा उनीप्रति केहि सवालहरु जमेर बसेका छन्,जसलाई कुनै एक मौकामा सलल बगाउन चाहन्थें।
“के कुरा..?”
“सामुन्ने देखा पर्ने ‘नेपाली’ हरुप्रति कतिको रिस उठ्छ।“
“जोसंग शिकायत छ,ति बाहेक अरुसंग किन रिसाउनु।अब त ‘ऊ’प्रति पनि कुनै दुखेसो छैन।एउटा मीठो सपनामा सहभागी बनेर गई दियो।“ भावुक मुद्रामा बोलिन्।
“यति सजिलै ‘उसलाई’ माफ..!”
“मलाई छोडेर जानु ‘उसको’ गल्ति होईन,बरु कायरपन हो या त फर्किएर नआउन लाचार भयो।त्यस्तो मान्छेलाई के ठानेर माफ दिऊँ।“ काँचो गमलामा उही सुन्दर फूलको बुट्टा कुँदेर चाङमा राखिन्।
“आफ्नी छोरीको मुहार हेर्नलाई भा’पनि आउछ कि..!थोरै आशा त होला।“
“छोरीले तोते बोलि बोल्दै गर्दा छोडेर जाने मान्छे के फर्किएर आउला,त्यति बेला ‘ऊ’घर फर्किनु जरूरी थिएन।बहाना बुझेर पनि मैले जान दिएकी हुँ।कुनै दिन छोरीले ‘उसको ’खोजि गरेमा जवाफ सोची सकेकोछु।“
         उनको ’जवाफ’ के हुन सक्छ भन्ने हेक्का लगाउन मलाई मुश्किल परेन।सात वर्ष अघि उनि र एक ‘नेपाली’ नजिकैको भाडाको घरमा “लिभिंग रिलेशनशिप” मा बस्ने गर्थे।अहिले उनीहरुको छोरी पाँच वर्षकी भई सकेकीछे।ति ‘नेपाली’संग परिचित नभए तापनि उसले भट्टी पसलमा खुब गफ हाँकेको धेरै पटक सुनेकोछु।यहीको नागरिकसंग सम्बन्ध गाँसिन पुग्दा एक किसिमको ‘भूत’ सवार चै हुँदो नै रहेछ।त्यो उसमा स्पष्ट देख्ने गर्थे।आज ऊ भगौडा बनिसकेकोछ।उसको हर्कतले अन्य ‘नेपाली’हरुलाई असर पर्नु स्वाभाविक नै हो।अझ केहि वर्ष रहेको भए ‘ऊ’ बलिको बोको बन्ने निश्चित प्राय:थियो।संगसंगै आसपासमा रहेका हामी नेपालीहरुलाई नमीठो झड्का लाग्ने थियो किनकि परदेश भूमिमा सबैलाई राष्ट्रिय चिनारीले अछुतो पार्न सक्दैन।ताजुब के कुरामा लागिरहन्थ्यो भने ‘माया,सम्बन्ध’उनीहरुमा प्रगाढ थियो कथन कदाचित् जसको मूल्य चुकाउनु पर्दा हामी अन्जानहरू पनि सामेल हुनु पर्ने विडम्बनालाई टार्न सक्ने थिएनौ।उनीहरुको सम्बन्धको कारणले यहाको समुदायहरुमा हामी आँखाको कसिङ्गर भई सकेका थियौ।‘ऊ’ फर्किएर गयो मतलब ठूलो ‘आपत’लाई टारेर गयो र’पनि हाम्रो ईमानदारीतामा अवगुणको मानसिक प्रभाव छाडेर गयो।
“ऊ यहाँ बसेको भए टिक्न सक्दैन थियो।तिम्रो समुदायले स्वीकारे पनि अनिवार्य धर्म परिवर्तन गर्दा जो ‘इस्लाम’ बन्नलाई अपनाउनु पर्ने संस्कार छन् त्यसलाई ग्रहण गर्न कदापि सामान्य मान्न सकिन्न।उसले धेरै सोचेर नै जाने निर्णय गरेको हुनु पर्दछ।“ उनलाई नियाल्दै बोलें । उमेरको हिसाब लगाएर बोल्नु पर्दा मैले सम्मानार्थी शब्दले सम्बोधन गर्नु पर्दछ तर हामीबीच कहिल्यै लागू हुन सकेन।बेला-बेला महशुस खड्किए पनि वेवास्ता गर्दै थोरै आदर दिएर बोल्ने गर्छु।यो उनको आग्रह पनि हो।
“सायद।“ मधुर आवाजमा बोलिन्।
         परिवारको खातिर ‘ऊ’ यहाँ रहेको भए यायावर झैँ जिन्दगी गुजार्न सक्थ्यो।कदाचित् परिवारलाई ‘नेपाल’ लगेर गएको भए ‘उनि’ हाम्रो माहौलमा रहन असम्भव प्राय:नै हुने थियो ।समयको अन्तरलसंगै उकुसमुकुस भएपछि कुनै पनि सर्त स्वीकार्दै सबै त्यागेर फर्किने थिईन्।किनकि यहाँको जीवनवृति र हाम्रो रहन-सहनमा अचाक्ली बेमेल छन्।
        नेपाललाई विश्वको अग्लो चुचुरो “सगरमाथा” र “बुद्ध” जन्मिएको देश भनि राम्ररी चिनिसकेकी थिई।अब अर्कै ढंगले बुझ्नु पर्ने उनलाई वाध्यता रहेकोछ।अझ रोजगारीको निम्ति हुर्हुर्ती नेपालीहरु विदेश पलायन भएको थाहा पाएपछि सामाजिक,आर्थिक अवश्थाहरुलाई नै दयनीय अड्कल काटिसकेकी हुनु पर्दछ।त्यसैले अघिल्लो भेटमा मलाई सोधेकी थिई –
“तिमीहरुलाई कुनै पनि देशले रोजगार दिएनन् भने बाँच्न सक्छौ ?”
        स्वाभिमानको यस्तो सवाल बारम्बार प्रत्येक नेपालीहरुले आफैलाई तेर्साएर भरपर्दो जवाफ खोजिरहेको बखत उनले यसो भन्दा घाउमा नून छर्की दिए झैँ लाग्यो।बरु यिनीहरुको जीवनवृति सम्झिएर द्रवीभूत बन्ने गर्छु। नोकरी सिवाय वैकल्पिक आयस्रोत प्राय:कसैसंग केहि छैन।जवसम्म धन-सम्पत्ति जगेडा गर्न सक्दैनन् तवसम्म काम गरिरहनु पर्ने यो वाध्यतापूर्ण रहेको कर्म भूमिमा कारणवश रोजगार पाएनन् भने घर-धन्दा कसरि सम्हाल्छन् होला ?लामो सुस्केरा तान्दै जवाफ दिएँ-
“बाँच्न सक्छौ तर बचाई राख्न सक्दैनौ।“
“मतलव’ आश्चर्य मान्दै बोलिन्।
“मेरो देशमा गतिलो रोजगार पाउन मुश्किल छ।अवसर भन्दा मान्छे ज्यादा छौ तर आयस्रोतको लागि आफ्नै जग्गा-जमिन छ।खेतीपाती,पशु-पंक्षी पालन गर्छौ,नभए ज्याला-मजदुरी गरेर पनि बाँच्न सक्छौ।तथापि पारिवारिक जीवनस्तरलाई उकास्न यतिले मात्र काफी हुँदैन।“
      मेरो भनाईको तात्पर्यलाई खै कसरि बुझिन् औपचारिकताको लागि फिस्स हाँसिन्।म बोल्दै गएँ-
“बरु,यहाँ कुनै दुर्दशाले रोजगारीबाट वञ्चित हुनु पर्यो भने कसरि जीवन धान्न सक्छौ ? अस्ति विश्वमा ‘आर्थिक मन्दी’ हुँदा कति कम्पनीहरु टाट पल्टिएपछि विदेशीहरु घर फर्किन वाध्य भए अनि यहाँको जनताहरुले पनि रोजगार गुमाउन पुगे थाहै होला।“
“त्यस्तो बेला सरकारले सहयोग गर्छ।“चेहरामा उदासीनता झल्काउदै बोलिन्।
“एउटा कुरामा यहाँको जनताहरुदेखि मलाई ताजुब लाग्ने गर्छ।घर र कार खरिद गर्नको लागि बैंकबाट ऋण लिने गर्छन्।जवसम्म ऋण चुक्ता गर्छन् तवसम्म मान्छे नै बूढो भईसक्छन् साथ-साथै घर पुन:मर्मत गर्नु पर्ने हुन्छ,कार एकदम काम नलाग्ने भई सकेको हुन्छ।त्यसको प्रयोग सन्तानले कदापि गर्ने होईन।घर र कार उनीहरुले पनि त्यसरी नै खरिद गर्छन्।घर बेचौ त कसैले एक मुष्ट रकममा खरिद गर्ने होईन,कार कवाडीमा बेचे भो।आखिर यी सब आफ्नै लागि मात्र भोग हुने रहेछ त्यसैले यहाँ बुढेसकालमा सन्तानहरुले वेवास्ता गर्दा रहेछन्।“ यहाँको तीतो यथार्थ ओकली दिएँ।उनि वल्ल परेर मलाई हेरी रहिन्। 
       सायद उनीसंग चित्त बुझ्दो जवाफ नभएर नै प्रसंग बदल्दै छोरीलाई ‘नेपाली भाषा’ सिकाउन अनुरोध गरिन्।‘माया’को शरीरमा खाँट्टी नेपाली रगत दौडी रहेता पनि निष्प्रयोजन भाषा लदाएर कलिलो मष्तिस्कलाई भाँडभैलो गर्न उचित लागेन।उसो त यिनको नाम लफङ्गो पिताले ‘माया’ राखिदिएको हो।यहाँको मलायु भाषामा भने यसको अर्थ ‘धेरै/ज्यादा’हुन्छ।साँचै नै ‘माया’ एकदम माया लाग्दी छे।जहिल्यै बलिष्ठ आलिंगनमा समेटेर ‘माया’को निम्ति पिताको यानिकी आफ्नोपनको महशुस दिलाउन कोशिशरत हुने गर्छु तर ‘माया’ले के आभाष गर्ने गर्छिन थाहा छैन। प्रत्येक भेटमा मसंग लिप्सा हुन्छिन्।मानौ कि म यिनको लागि रुचिको पात्र बनिरहेकोछु।यसो हुँदा पनि भोलिको दिनमा यिनको परिपक्व मष्तिस्कले ‘नेपाली’लाई कतिसम्म घृणा गर्ने हुन् त्यो चित्कारलाई सम्झिएर संशय हुने गर्छु। पितालाई ठम्याउन नपाउदै लापता भईदिए पछि यिनको लागि यो भन्दा ज्यादा मर्माहत अरु के हुन सक्छ र! खैर हाम्रो भेट हुन साथ हात जोडेर ‘नमस्कार’ भन्न सिकाउने गरेकोछु तर स्पष्ट उच्चारण गर्न सकेकी छैन।यो पटक ‘नमस्ते’ भन्न सिकाएँ,तुरुन्तै दुरुस्त उच्चारण गरिन्।म अवाक् भएँ।जसरि ‘नमस्कार’मा सम्मान भाव दर्शिने गर्दछ त्यति नै ‘नमस्ते’ शब्दमा उपेक्षा दर्शिए झैँ लाग्यो।यो संयोग हुनुपर्दछ किनकि त्यति बोल्न साथ ‘माया’को ध्यान अन्तै मोडिनु पर्ने अवश्था भएको थियो।
        यतिबेला म उनको जीवनको आरोह-अवरोहलाई खोतल्दैछु।कुनै अपसोच नमानी भकाभक बखान गर्दैछिन्।मेरो लागि उनि सहिष्णुताको प्रतिमूर्ति बनिरहेकी छिन्।आफुलाई यतिसम्म अन्याय हुन दिनु एक अक्षम्य अपराध नै हो।उनले कहिले बुझेर आफुसंग घोर आपति जनाउने छिन् मैले अन्दाज लगाउन सकिन।‘अँह’ मबाट सहानुभूतिको शब्दसम्म लिन चाहिनन्।सायद जिन्दगीलाई आफ्नै ढङ्गले बुझेर परिभाषा गरि सकेकी हुनु पर्छ।म भावुक बनि रहेकोछु,उनि हँसिलो मुद्रामा वृत्तान्त सुनाई रहेकी छे।बाँकि जीवन कुन भंगालोमा जाकिने हो पटक्कै चिन्ता छैन न त सुखानुभूतिको दिन निम्त्याउने लालसा नै छ।बाफ रे! साहस कसरि जुटाउन सकेकी होलि सोचेर ताजुब मानि रहेकोछु।यहि बखत परोक्षबाट आवाज आयो। 
“हूहू..!” टाढाबाटै मस्तीका साथ हुङ्गकार गर्दै जाहिर आई पुग्यो।
         उसको आगमनले हाम्रो वार्तालापमा खलल पुग्यो।कटाक्ष गर्दै के-के सोच्यो कुन्नि चुरोट दिएर रूमतिर लाग्यो।उनले अहिलेसम्म गमलामा बुट्टा कुँदेर धेरै चाङ भरिसकेकी थिई।म चुरोटको सर्को तान्दै हावामा धूवाँ उडाउन थालें।प्रमुख वृत्तान्तलाई थाँती राख्दै प्रसंग बदलेर उनि बोलिन्।
“तिम्लाई थाहा छ,जाहिरले हाम्रो बारेमा अनेक सोचिसकेको छ नि !”
“जसले जे सोच्दछ,त्यो मानसिकतालाई केहिहदसम्म बदल्न सकिएता पनि निर्मूल पार्न कदापि सकिन्न,कुनै अवश्थामा त्यो सोच पुन:निश्चिन्त भई दोहोरिने गर्छ।त्यसैले जतिसम्म बुझाउन सकिन्छ त्यति मै सन्तोष मान्नु पर्छ।मलाई विश्वास छ,जाहिरले हामी दुईको सम्बन्धलाई चर्चामा ल्याउने छैन।“ चुरोटको लामो सर्को तानेर माथितिर धूवाँ फ्यालें।
“हाम्रो सम्बन्धलाई के नाम दिन्छौ?”कटाक्ष गर्दै मिहीन स्वरमा बोलिन्।
“कुनै-कुनै सम्बन्धको नाम नभएकै राम्रो।बेनामी भएर पनि सर्वोपरि हुन्छ।“ उनले बुट्टा कुँदी सकेको गमला चाङमा राखी दिंदै भनें। 
          हुन त हामी दुईको सम्बन्धलाई ठ्याक्कै एउटा संज्ञा दिएर कहलाउन सकेका छैनौ।उमेरको जोड-घटाऊमा हामीबीच धेरै नै अन्तर छ।उनको यथावत् उमेरमा बीस वर्ष घटाएर मस्त जवानीको उमेर बकस गर्दा म दश वर्षले जेठो हुन पुग्छु।यो हिसाबलाई स्वीकार्ने हो भने हामी यसरि घनिष्ट हुने अवसर दैवले पनि जुराउने थिएन होला।यध्यपि उनि मिजासिली छे,कसैसंग बोल्न हिच्किचाए जस्तो लाग्दैन।उनको आत्मीयताको बाणमा जो पनि निसाना बन्न रुचाउनेछ।अनि निर्धक्क भई बोल्ने खुबीमा लट्ठ नपर्ने को हुन सक्छ र! यस्तो असल चरित्रलाई खराब नीयतको उपमा दिने ति पुरुषप्रति दया जागेर आउछ।स्वभावलाई मापन गरि सम्बन्धको फैसला गर्ने त्यो वैचारिक क्षमताको प्रसंशा पटक्कै गर्न मन लागेन।लोग्ने मान्छेको मनोविकारमा स्वास्नी मान्छे परेपछि उसले यतिसम्म जलन खेपिरहेका हुन्छ कि यदि आफ्नी श्रीमतीको तारिफ दोश्रो पुरुषले गरेको बखत रिस या जलनलाई मापन गर्ने हो भने तापक्रम नाप्ने यन्त्र नै ध्वस्त हुनेछ।कदाचित् कसैले तारिफ गरेनन् भने या अवगुणहरु भट्याई दिए यतिसम्म कठांग्रिने छ कि न्यूनतम तापक्रमको यन्त्र नै जम्ने छ।उनको पहिलो वैवाहिक जीवन यहि प्रवृतिको शिकार बन्न पुगेको हुनु पर्दछ।पछिल्लो सम्बन्धलाई कच्चा धागोले बाँधिएको थियो।जसलाई जति नै कस्सिएर बाँध्न खोजिएता पनि विश्वस्त बन्धन हुन सक्ने सम्बन्ध थिएन।अन्ततःजसको परिणाम स्वरुप ‘ऊ’संगको मीठो-नमीठो यादहरुलाई संगाल्दै ‘आसेरांड’ हुन वाध्य भएकी छिन्।यस्तो लाग्छ यो वाध्यतालाई उनले सामान्य ठानी सकेकी छे किनकि ‘ऊ’फर्किएर आउनेछ भन्ने पटक्कै सोच्दिनन्।म पनि आश्वासन दिन चाहन्न।बरु बेस्मारी उनको जीवनप्रति अनुग्रह जताउने गर्छु।यहि सिलसिलामा हामीबीच निकटता हुँदा दया र मायामा हुने अलग संसर्गलाई छुट्याउन मुश्किल परिरहेकोछ।
“सायद तिमीलाई कुनै पनि सम्बन्धप्रति लगाव छैन या त हरेक सम्बन्धलाई गम्भीरतापूर्वक स्वीकार्ने गर्छौ।“नजर जुधाउदै भनिन्।
“समझदार मान्छे।“ फिस्स हाँसी दिएँ।
“उसो भा,तिमी ‘प्लेटोनिक लभर’ चाहिँ पक्का हौ। मसँग सम्बन्ध जोडिए जीवनभर सुखानुभूति मिल्न सक्छ तर औपचारिक सम्बन्ध नभएकै बेस हुनेछ भनि तिम्रो आत्माले निराकरण गरिसकेको होला।“ मनको गथासो धक नमानी छताछुल्ल पोखिन्।
“त्यो भन्दा ज्यादा ‘सेम्प्याथेटिक लभर’ हुँ क्यार ! तिमीलाई देखेर दयालु बन्छु र औधि सहानुभूति दर्शाउने गर्छु।“ यथार्थ बताएँ।
“म कसैको दयाको पात्र बन्न चाहन्न,जो छ जिन्दगी त्यसलाई स्वीकार्ने क्षमता ममा अझै पनि छ।यसरि सहानुभूति जताई रह्यौ भने तिमी नै कम्जोर बन्ने छौ।भावुक हुँदा समयले धेरै पछि छोडेर जान्छ,जव यथार्थ स्वीकार्नलाई तयार हुन्छौ तव तिम्रो आसपासमा ग्रहण गर्नलाई केहि हुँदैन।“ 
       उनि आफ्नो अनुभूति ओकलेर आफूलाई सक्षम साबित गर्न खोजिरहेकी छे।अनि मेरो भावुक स्वभावलाई तोडमोड गर्नका लागि उक्साई रहेकी छे।कदाचित् म आफ्नो संवेगमा उनको प्रवृत्तिलाई सामेल गर्न सक्दिन।उनको आचरणलाई मनन गरेर सवाल गर्छु-‘गम्भीर प्रवृत्तिका मान्छेमा यथार्थलाई पहिचान गरि तत्काल निर्णय गर्न सक्ने खुबी हुँदैन र!’ आफैप्रति सन्देह जाग्यो।किनकि उनि हाम्रो सम्बन्ध र अवश्थालाई मापन गरि क्रिया/प्रतिक्रिया जनाउन सक्छे तर म जहिल्यै किंकर्तव्यविमूढमा पर्छु।जति सोचे पनि ति सबै निकम्मा झैँ लाग्ने गर्छ।ति रद्दी सोचहरुलाई सोचमार्फत खेद गर्नमा तल्लिन थिएँ।सिलसिलेवार मेरो सोचलाई भङ्ग गर्दै उनि पुन:बोलिन्-
“पर्सि छोरीको ‘वर्थ डे’ हो।पाँच वर्ष पुरा भएकीले खुब धुमधामले मनाउने विचार छ।तिमीलाई निम्तो भो।साँझ लिन आउनेछु,तयार भएर बस्नु।“
“अवश्य।“ खुशी मुद्रामा निम्तोलाई स्वीकार गर्दै ‘मुन्टो’ हल्लाएँ।वास्तवमा म यस्तै चाहन्थें।उनि र मायाको सामू उपस्थित हुनलाई कुनै न कुनै बहाना मिलिरहोस्।अब हुने त्यो भेटलाई हाम्रो सम्बन्धको पछिल्लो कदमको सुरुवात ठानें।
      निकै लामो समय पछिको यति लामो संलापलाई बिट मार्ने बेला भयो।तीन घन्टाको पारिश्रमिक पाउने ‘ओभर टाईम’ कामलाई डेढ घन्टामा फत्ते गरिन्।उनले गमलामा कुँदेका बुट्टाहरु एकनासका छन्,कुनैमा फरक छैन।म यसमा पनि आकृष्ट भएँ।उनको हरेक क्रियाकलापले मलाई प्रभावित पार्ने गर्छ।यो उनलाई राम्ररी थाहा छ। छुटेर केहि कदम चालेपछि पछिल्लतिर फर्किएर हेरें।उनको मधुर मुस्कानसंगै वरिपरी अझै पनि केहि चुरोटको धूवाँहरु उडिरहेको थियो।यतिबेलासम्म मेरो हातको औंलोमा च्यापिएर रहेको चुरोटको ठुटो आधा भन्दा ज्यादा जलेर औंलो नै जलाउनलाई आतुर छ।म भने त्यो दिनको उपस्थितिलाई सोच्दै मग्नमस्त बनिरहेकोछु।मैले निर्णय लिई सकें,उनको घर अनि ‘माया’लाई भेट्ने अवसरलाई किमार्थ चुकाउने छैन।यथार्थत: समीप्यताको लागि स्वीकारेको हुँ उनको “निमन्त्रणा” ।
-मौलश्री लिम्बू
[२९-११-२०१२   मलेसिया]

No comments:

Post a Comment