Tuesday 10 June 2014

कथा:- “समर्पण”

[कथा ]           “समर्पण” 

“मलाई चिन्यौ ?”
       एकैचोटि यो शब्द कानमा गुञ्जिएकोले म अलमलमा परें।मलाई ठम्याउन मुश्किल पर्यो।जवाफमा अन्जान बनेर चिन्दिन भन्न पनि सकिन किनकि उनको सवाल अनुसार मसंग परिचित हुनु पर्दछ।द्विविधामा रुमलिन पुगें।यो पाँच वर्षको प्रवास बसाईमा सायदै पहिलो पटक यति सामिप्य गरि कुनै युवतीले मप्रति गरेको सम्बोधन हुनुपर्दछ।खैर ! उनको सवाल तुल्यताको बिन्ती बिसाएँ -
“सायद,रै पनि पुन: परिचय पाए आभारी हुने थिएँ।“
‘कुनै दिन भेटमा हुन्न र !”
        उनको प्रस्तावलाई ईन्कार गरेर भेट्ने करारलाई गुमाउन चाहिन।मलाई लाग्यो गलत सम्पर्कमा फोन गरिरहेकी छिन्।चनाखो बनेर जसको महशुससम्म दिने गल्ति गरिन।
थाहा छैन,उनलाई किन भ्रममा राख्न चाहिरहेको छु;हुन सक्छ म आफैलाई भ्रममा होमाई रहेको छु।जे होस् यो पललाई आफनै वशमा राख्न चाहें।
“अब,हामी कहिले र कहाँ भेटौ ?” उत्सुकता दर्शाएँ।
“म केहि दिनपछि समय मिलाएर भन्ने छु।जसरि नि भेट्नु पर्छ,फेरि यस्तो अवसर हामीलाई कहिल्यै नजुर्न पनि सक्छ।“
“यदि भेट हुनु नै छ भने,कसो समयको चक्रले हाम्रो भेट जुराई दिंदैन र !”
“उस् ! बबुरो मान्छे,दिलासा दिनु पर्दैन।“ फोन राखिन्।
       ‘बबुरो मान्छे’ यो थेगो धेरै पहिले कसैले मलाई बोल्ने गरेको झल्को आयो।विडम्बना,मैले ठम्याउन सकिन।अकस्मातको संलापले बेचैनी बढायो।अतीतलाई कोट्याउन वाध्य भएँ। उद्वेलन भएको मानसमा कुन चाहिँ तप्कालाई उकाएर समायोजन गरौ ? धुजापाती भईसकेको मथिंगललाई चियो गर्न पनि चाहिन।मेरो निन्द्राले मदेखि कुलेलम ठोक्यो।
      उनलाई कसरि पहिचान गरौ ? परिचयको लागि आग्रह गर्नु अघि नै मुरादलाई बुझ्न वाध्य भएँको थिएँ।कतै शुभचिन्तकको हैसियतले सम्बोधन गरेकी थिइन् कि ! म पनि सोचाईको भुमरीलाई यति चाँडो मडारेर ल्याउने गर्छु कि त्यहाँबाट आफूलाई फुत्काउदा पनि शन्देह नै पाउछु।पक्कै मेरो साहित्य-सृजनालाई मन पराएर भेट्न चाहेकी हुनु पर्दछ।पहिलो पटक औपचारिक रुपमा पाठकलाई भेट्न लागेकोमा निकै खुशी लाग्यो।यतिका वर्ष साहित्यमा डुबुल्की मार्दा यस्तो भेटवार्ता गर्ने अवसर पाउन सकेको थिईन।जो हुन लागेको छ किमार्थ गुमाउन चाहिन।आफ्नो रचनाहरुप्रति गर्व लागेर आयो।साहित्यकारहरुको निम्ती यो भन्दा ठूलो आबरु र पुरस्कार अरु के नै हुन सक्छ र ! लेखेर सम्पत्ति कमाउनु भन्दा एक उम्दा पाठकलाई नगुमाउनु मै काफी हुन्छ।आदर्शले आधारभूत आवश्यकतालाई पूर्ति नगरेता पनि आत्मसन्तुष्टि अवश्य मिल्ने गर्दछ।
      म आतुरमा थिएँ उनलाई भेट्न।निश्चित समय भन्दा अगावै निश्चित गरिएको स्थान ‘सुम्निमा भोजनालय’ ईपोमा पुगें।मेरो लागि यो रेष्टुरेन्ट नौलो थिएन र पनि मलाई अप्ठयारो महशुस भई रहेको थियो।चारैतिर नजर डुलाएँ,परिचित या कोहि परिचित जस्ता लाग्ने कोहि पनि थिएनन्।सबैको आवत-जावतलाई राम्ररी नियाल्न थालें।प्रतिक्षाको धैर्यतालाई बेस्मारी मनको सीमामा बेरेर छोटिन्दै गईरहेको उल्झनलाई सुल्झाउन म लालयित थिएँ।निकैबेरको अनुपस्थितमा कफी मगाएर चुस्की लिन थालें।चुरोटको धुँवालाई वर्षिन लागेको बादल झैँ सम्झिएँ।पत्रिकाको समाचारहरु भन्दा उनको आगमन हुने संघारतर्फ आँखालाई घोर्याएर आफ्नै मनलाई पढ्दै थिएँ।केहि समय पश्चात् मलाई ईंकित गरीए जसरि सम्बोधन भयो।
“ढिलो भएकोमा माफ गर्नु होला।“
        म झस्किएँ।शिर उठाएर आवाज निस्किएको चेहेरालाई नियालें।उनलाई देखेर निकैबेर मौन भएँ।सामुन्नेको कुर्सीमा बस्दै,पुन: बोलिन् – “मलाई चिन्यौ?”
      आँखाले चिन्नका लागि धुल्मुलिन्दै गएको बदन भएता पनि मनको अक्षिमा ऐनासरि छर्लंग भएको त्यो स्वरुपलाई भुल्न कहाँ सक्थे र ! वश,समय र परिस्थितिको कायापलटले गर्दा निस्तब्ध हुन पुगें।आफूलाई सम्हाल्दै बोलें-
“अरे ! तिमी, यहाँ कसरि ?”
“कम्तिमा भुलेको रहेनछौ,खुशी लाग्यो।सोचेकी थिएँ पुन: चिनापर्ची गर्नु पर्छ।“
“मैले त सोचेको पनि थिईन,यसरि हाम्रो भेट यहाँ हुन्छ भनेर !”
“सोचे जस्तो हुन्न जीवन।तिम्ले लेखेको कथा पत्रिकामा पढें,त्यसैको आधारमा सम्पर्क गरेकी थिएँ।आफूलाई जस्तै नाम त फेरेछौ नि ! यथार्थलाई अलिक बंग्याएर लेखे पनि कहानीलाई बुझ्न कठिन लागेन।“ वेटरले ल्याएको कफी पिउदै बोलिन्।
“नाम फेर्दैमा मान्छे बदलिन मिल्ने भए साह्रै जाती हुने थियो।त्यो कथा तिम्ले पनि पढ्ने छौ भन्ने हेक्का मिलेको भए म लेख्ने नै थिईन।कलम र कपि हातमा भए पछि आफ्नो पक्षमा लेख्नै पर्यो नि ! वास्तवमा मेरो रचनाहरु तिमीबाटै उत्प्रेरित भएर प्रस्फुटन भएका हुन्।म तिमीलाई कसरि भुल्न सक्छु र !” चुरोटको धुँवालाई हाम्रो माथा भन्दा माथि उडाउदै भनें।
“अँ,कथा पढेंपछि महशुस भयो।म मलेसिया आएकी दुई वर्ष हुन लाग्यो।करार अवधि पुरा नगरी वाध्यताले गर्दा चाडै फर्किन्दै छु।तिम्ले त चुरोट पनि तान्न थालेछौ,कतै अतीतलाई जलाएर धुँवासंगै उडाउने चेष्टा त गरेको हैनौ !” घुमाउरो शब्दवाणले प्रहार गरिन्।
“अतित भुल्न त्यति सजिलो छ र ! फेरि कदाचित् अतीतप्रति शिकायत पनि छैन। म त पाँच वर्ष भयो,अझै बस्नु पर्ने वाध्यता थपियो।सायद,अब त तिम्ले पनि बिहे गरि सक्यौ होला ? मलाई त समयको उल्झनले बेरिसकेको छ; जसलाई मिलाएर लैजान पनि सकिरहेको छैन।लाग्छ,जिन्दगीमा अरु केहि गर्नलाई कदापि फुर्सद मिल्दैन होला।“
“तिम्लाई कस्तो लाग्छ ? म चाहिँ अछुतो रहेकी छु र !” नजर जुधाउदै भनिन्।
        म किंकर्तव्यविमुढमा परें।उनले मलाई कसरि बुझिन् थाहा भएन,न त मैले नै उनलाई स्पष्ट बुझ्न सकें।सम्पर्क विहिन रहेको समयलाई लेखा-जोखा गरेर एकार्कालाई कम्जोर बनाउन चाहेनौ। मेरो निम्ति उनको उपस्थिति नै काफी थियो।पक्कै उनले पनि आफ्नै ढंगले जिन्दगीलाई बुझेर आफूलाई समायोजन गरिसकेकी हुनुपर्दछ।जसलाई कोट्याएर आलो बनाउन चाहिन।लामो अन्तरालपछि भेट भएर पनि एकआपसमा न हर्ष न विस्मातको शिकायत पोख्न सक्यौ।पत्तै विना भत्किन पुगेको त्यो हाम्रो सम्बन्धको अक्षम्य दोषी कसलाई ठहर्याउँ ? छुटिने बेलामा न्यास्रो मान्दै मैले भनें-
“छुटिने त मन थिएन रै पनि छुटिने बेला भयो,यो समय यहि रोकिन पुगे म स्वीकार्ने थिएँ।“
“बबुरो मान्छे ! त्यतिबेलै हामी भेटिएका हैनौ र ! यो त केवल भेटिनलाई छुटिन्दै छौ।“ अनुहारमा असहज मुस्कानलाई अस्पष्ट पार्दै बोलिन्।
      उनको क्लिष्ट शब्दलाई बुझ्न सकिन न त संलापलाई नै केलाएर उनलाई बुझ्न सकें।मलाई सहज तवरले बुझिन् होला,जो मेरो बारेमा आफ्नै ढंगले सोचिसकेकी थिईन्।बिहे गरिसकेकी हुनुपर्दछ, र त त्यस्तै आशय पोखिन्।मलाई अपशोच छैन किनकि मैले मनलाई ढाडस दिईसकेको छु।समय र परिस्थितिको झड्काले यस्तो नौमत भोग्न वाध्य भएका छौ।मेरो भागमा रहेको अतित लम्बिन्दै गएर भविष्य छोटीन्दै गएको वर्तमानको दलानमा बसेर त्यो क्षणलाई खोतल्न मन लाग्यो।
     उनको र मेरो सम्बन्धको सुरुवात पत्र-मित्रताबाट भएको थियो।निरन्तरको पत्राचारले हामीबीच प्रेमभावको शब्दहरु दौडिन थालेको हेक्कै पाएनौ।जव एक-अर्कालाई सम्हाल्न खोज्यौ तव ढिलो भई सकेको थियो। त्यसैले आपसमा प्रेम प्रस्तावलाई स्विकार्यौ।तस्वीरसम्म नदेखिएको मायामा केवल विश्वासले हामीलाई मजबुत बनाई दिएको थियो।उनको बारम्बारको आग्रहलाई नकार्न सकिन।यसर्थ ‘त्रिशाली मेला’ को अवसरमा उनको ठाउँ ‘यासोक बजार’ गएँ।त्यहाँ नै हाम्रो पहिलो पटक प्रत्यक्ष भेट भएको थियो।
     भोलिपल्ट साँझ साथीहरुको हुलमा हामी याराक्मा [धाननाच] मा मस्त थियौ।लिम्बू भाषा प्रष्टै बुझ्न र बोल्न नसके पनि नवपरिचित मित्रहरुको पालाममा लय मिलाउन थालें।मान्छेहरुको भिड अनि धान नाच्नेहरुको पालामले यासोक बजार गुन्जयमान थियो।यहि बखत हल्ला-खल्ला हुँदै मान्छेहरु तितरबितर हुन थाले। एकै क्षणमा बम र बन्दुक पड्किएको आवाज सुनिन थाल्यो।नजिकैको आर्मी क्याममा शाही सेना र माओवादी छापामारहरुबीच दोहोरो भिडन्त हुन थालेको ठम्याउन कसैलाई गाह्रो परेन।उनि र म भाग्दै सफाबुङ् बस्तीतिर लागेछौ। यस्तो अवस्थामा कुनै घरमा सुरक्षित हुनलाई जान सकेनौ।नजिकै देखिएको धानसारमा गएर बस्यौ।हामी भाग्दै धेरै ओरालो झरिसकेकोले ति पड्किएका आवाजहरु सुनिन छोडेको थियो।सायद भिडन्त रोकिएको हुनु पर्दछ।निकै बेरको मौनतालाई भंग गर्दै मैले भनें-
‘अब फर्कौ,यहाँ रहनु पनि उचित हुँदैन।छापामारहरु यतातिर आउन सक्छन् या शाही सेनाहरु सर्च अप्रेसन गर्दै आउन सक्छन्।“
“सखारै जानु पर्छ।अहिले गयौ भने जे पनि हुन सक्छ।‘ पछ्यौरीले शिर ढाक्दै बोलिन्।
     म रौदालोमा परें।तुसारो बढेर गंगरिन थालें।एकार्कालाई नियाल्यौ।जाडोबाट बच्न त्यहाँ कुनै प्रबन्ध थिएन।विकल्प नभएकोले उनको पछ्यौरीमा गुटमुटिएर रात बिताउन वाध्य भयौ।जव हालतले नै अवस्थालाई निम्त्याई दिन्छ भने नीयतको कुनै कसूर हुँदैन।वश,मुरादलाई हामीले स्विकारी दियौ।तिलस्मी त्यो क्षण सुनौलो थियो,जसलाई म मर्लान्त भुल्ने छैन।बिहान हामी सम्हालियौ।एक आपसमा नजर जुधाउन लजायौ।लाजले अवस्थाको प्रतिनिधित्व गरिरहेको थियो,जसले गर्दा हामीमा आत्मग्लानीको निसान पनि थिएन।
     यासोक बजार त्रसित ज्यादा चहलपहल कम थियो।हरेक मान्छेहरु शंकाको घेरामा थिए।तीन जना भन्दा ज्यादा संख्यामा समूह बनेर नबस्नु भन्ने शाही सेनाको उर्दीलाई सबैले पालना गरेका थिए।बजारका घरहरु,बजारमा देखा परेका मान्छेहरु अनि मेला भर्नका लागि डेरामा बस्ने सबैको सोधपुछ र खानतलासी भयो।जो समुहको नियोजित उपस्थित थियो उनीहरुले घटना घटाएर सामान्य भई सकेको हुनु पर्दछ।शंकास्पद व्यक्ति कोहि पनि फेला परेनन्।लाग्थ्यो हिजोको घटना शाही सेना विरुद्ध धावा बोल्नका लागि मात्र थियो।कुनै ठूलो हताहत हुने गरि भिडन्त भएको थिएन।कोहि भन्दै थिए- ‘मेलामा राति बसेर धान नाच्नेहरुले संस्कृतिमा विकृति ल्याएकाले सर्वसाधारण जनताहरुलाई खबदारी गरिएको हो।ताकि रातभर कोहि पनि धान ननाचोस्।‘
         छुटिने बेलामा उनले भनिन्-
“अब,हामी कहिले र कहाँ भेटौ ?”
“यदि भेट हुनु नै छ भने,कसो समयको चक्रले हाम्रो भेट जुराई दिंदैन र !” नजर जुधाएर भनें।
“उस् ! बबुरो मान्छे,दिलासा दिनु पर्दैन।“
       त्यसपछि विदेश जाने चक्करमा लागेकोले सम्पर्क गर्न सकिन।यो नै पछिल्लो पटकको पहिलो भेट थियो।म यहाँ आएपछि निकै पटक पत्र पठाई रहें तर जवाफ पाउन सकिन। रै पनि उनीसंग सम्पर्क गर्नलाई अन्य असफल प्रयासहरु गरिरहें।पछि मलाई लाग्यो उनले विहे गरि सकिन्।यसर्थ उनको वैवाहिक जीवनमा दखल नपुर्याउन सम्पर्क हुन सक्ने सबै असफल प्रयासहरुलाई सदाको लागि टुंग्याई दिएँ।उनीसंगको सम्बन्धलाई भुल्ने बहानामा आफूलाई यहाँ भुलाउन वाध्य भएँ।यो यथार्थ कसरि उनलाई भनुँ,सायद उनले पनि मनलाई समय र परिस्थितिको खन्जरसंग सम्झौता गरिसकेकी हुनु पर्दछ।त्यसैले होला,भावना र यथार्थलाई समायोजन गरेर क्लिष्ट भावमा भनाई राख्न माहिर भएकी।
      म निदाउने चेष्टारत थिएँ,उनको फोन आयो।निकैबेरको संलापपछि अन्तमा मेरो मनमा शूल बिझाउदै भनिन्-
“सुन त,म भोलि फर्किन्दैछु।मलाई विश्वास छ,त्यसैले तिम्रो शब्दमा भन्दैछु -“यदि भेट हुनु नै छ भने,कसो समयको चक्रले हाम्रो भेट जुराई दिंदैन र !”
“उस् ! बबुरो मान्छे,दिलासा दिनु पर्दैन।“ खिन्नता दर्शाएँ।
       मन भारि भएकोले निन्द्रालाई रिझाउन सकिन। म र निन्द्रा परस्पर भएर पनि निर्लिप्त भयौ।ति पुरानो वर्तमानलाई यतिबेला अतितको संज्ञा दिएर हियोचियो गर्दा आफूलाई नदारतमा रुमलिएको महशुस गरें।इन्डोनेसियाको सुमात्रा क्षेत्रमा लागेको डढेलोको धुँवा मलेसिया भरि फैलिएर स्वास-प्रस्वासमा कठिनाई गराए जस्तै सुदुर सम्झनाहरुको तापले मन-मस्तिष्कलाई तताई दिएकोले छट्पटाई रहें।अन्ततोगत्वा कतिबेला निन्द्राले ममाथि दिग्विजय प्राप्त गरेछ पत्तै भएन।
       सुर्योदयले मेरो रुमको झ्यालसम्म बिहानी ल्याएर गई सकेको थियो।दिमागको थकानले ढल्किएको ज्यान निकै बोझिलो हुने रहेछ।ब्युझिएर हेर्दा साथीहरु डिउटी जानलाई तयारी गर्दै थिए,हतपत म पनि सामेल भएँ। मेरो लागि समय कहिले पनि पायक बन्न सकेन या म चाहिं समयको निम्ति लायक बन्न नसकेको हुँ।खाली मेरो विशेष परिस्थितिहरुलाई निर्दयी बनेर हावाको झोंका निम्त्याए जसरि महशुस दिलाएर पठाई दिने गर्छ।
      राति अबेलासम्मको कामले गर्दा लखनतरान भई ओछ्यानमा पल्टीरहेको थिएँ।सार्वजनिक टेलिफोन नम्बरबाट कल आयो।लाईनको गडबडीले गर्दा दोहोरो सवाल-जवाफ हुन नपाउदै सम्पर्क विच्छेद भयो।वश एउटा सवाल स्पष्ट गरि मेरो कानमा गुन्जियो- “मलाई चिन्यौ?”
            उनि नै हो भनि चिन्नलाई मेरो लागि यति नै काफी भयो।
       हप्ता दिनपछि पत्रिका पढ्दै निदाउने कोशिस गरिरहेको थिएँ।उनको साथीले मलाई फोन गरिन्।उनि भन्दै थिईन् -
“तपाईसंग भेट्ने काम थियो,फर्किने बेलामा तपाईको साथीले तपाईको लागि पत्र लेखेर छोडेकी छिन्।लिन आउनु होला।“
      पत्रमा के लेखिएको रहेछ ? बुझ्ने कौतुहलताले सताए पनि कामको व्यस्तताले गर्दा केहि समय पश्चात भेट्न गएँ।त्यतिका दिन मानसिक तनावले मलाई खुब सताएको थियो।तव परदेशी जिन्दगीलाई खुब मज्जाले बुझें।बुढेसकालमा सखानुभूति मिल्ने लालसामा बैंश र स्वतन्त्रता अरु कै अधिकार लाग्ने मोहोरछाप लगाई दिए पछि हात्ती भएर पनि माहुतेको ईशारामा चल्न वाध्य बन्नु पर्ने रहेछ।
         उनको बारेमा बुझ्ने उत्सुकता जागेकोले पत्र थप्दै सोधें –
“यसरि चाँडै फर्किनु पर्ने त्यस्तो के वाध्यता थियो होला ? उनको घर-परिवारमा सबैलाई ठीकै छन् होला नि !”
“तपाईलाई उनको बारेमा केहि थाहा छैन ? उनको छोरा सिकिस्त बिरामी भएकोले फर्किएकी हुन्।घरमा आमा,भाई र छोरा मात्र छन् रे ! उनि कुमारी आमा भएकीले श्रीमान सम्पर्कमा हुनुहुन्न। कसैसंग प्रेम गरेवापत चार वर्ष अघि जन्मिएको नासोले गर्दा समाजमा बदनामी फैलिएर बसाई सरि धेरै टाढा बसेका छन् रे ! “ निन्याउरो अनुहार पार्दै बोलिन्।
      हाम्रो सवाल-जवाफमा उनको बारे निक्यौल हुन सकेन।अनियन्त्रित मनलाई सम्हाल्दै होस्टल फर्किएँ।
      म सोचमग्नमा परें।भेट हुँदा र फोनमा गफ गर्दा उनले जीवनको महाभारतलाई किन सुनाउन जरुरि ठानिनन् ? सायद उनको लागि म सुदुर सम्झनाको मान्छेसम्म परिन् होला।या त म यति खास मान्छे हुँ, उनले हरेक ढुकढुकीलाई मेरो उपस्थिति ठानी रहेकी छिन्।जहिल्यै उनको अघिल्तिर म देखा परि बटुवा बनेर बाटो देखाई रहेको छु।यसर्थ मलाई केहि भनिनन् ,म बुद्धु आफैलाई समझदार ठानीरहें।
      आखिर ति बच्चाको बुबा को होला ? जसले त्यो क्षणलाई जायज बनाएर यो हालतलाई नाजायज बनाई दिएकोछ।मैले हेक्कासम्म गरेको थिईन,उनले जिन्दगीको मोडमा यसरि नि:सार भई सफर गर्ने छिन्।खैर, विस्तारै उनको पत्र खोलेर पढें।मैले लेखेको कथा शैलीमा लेखिएकोले मेरो निम्ति पत्र हो या उक्त कथाको सारांश,द्विविधामा परें।पत्रमा मुख्य पात्रको मुख्य भूमिका छ तर पहिचान छैन।बच्चाको पिता बारेमा क्लिष्ट भावले ईंकित गरेकीले आफूप्रति शन्देह जागेर आयो।कतै त्यो तिलस्मी क्षणको नासोलाई त सम्हालेकी होईन ? यदि हो भने मलाई किन यथार्थ भनिनन्।त्यसो त मैले पनि उनको भावनालाई बुझ्ने कोशिस गरिन।यतिबेला अपशोचले पिरोली रहेकोछ।उनको हालतको अक्षम्य दोषी जो हुन्,उसलाई कदापि माफ हुन सक्दैन।मैले पनि कहिँ न कहिँ उनको मनको कुनामा शूल बनेर बिझाई रहेको छु होला।जसलाई मैले निचोरेर झिकी दिनु पर्छ।
      समय र भाग्यको लकिरले कुनै दिन मलाई उनको गल्लीतिर बटुवा बनाएर हिडाउछ नै होला।तव नि:सार उनको जिन्दगीमा सार मिलाउन नतमस्तक भई उपस्थित हुनेछु।यो बटुवाको गन्तव्य उनको पटांगिनीमा कदम राखेर टुंगिनेछ। तव सामुन्ने मलाई देखेर सारा खुशिहरुलाई चेहेरामा समेट्दै मेरो उपस्थितिलाई बुझेर पनि औपचारिकताको लागि सवाल गर्छिन् होला –
“अरे,बबुरो मान्छे ! तिमी यहाँ कसरि ?”
       मेरो बाँकि जिन्दगी नै भेटी चढाएर इन्द्रेणी छाएको नयनबाट अर्पणका वर्षाहरु वर्षौउदै उनको नि:सार जिन्दगीलाई प्रतिसवाल गर्नेछु –
“मलाई चिन्यौ?”
- पेराक,मलेसिया
२१-०१-२००८

No comments:

Post a Comment