Saturday 16 March 2013

लघुकथा- अनुसरण,सालिक

                                          '' अनुसरण ''


                      श्रीमती माईत जाने भएकीले अबेर रातसम्म रक्सि पार्न सघाएँ  रक्सि मीठो भएछ,अलिकति चाख्न दिएर सबै कोसेली लानलाई बोतलमा हालिन्  विहान दुवै जना उठेर सुकुटी,आलु,अन्डा पकाएर पेरुङ्गोमा राख्यौं l  जाने बेलामा मेरो लागि रक्सि र पक्वान्नहरु  छोडिदेला कि भन्ने आशाले कुरेर बसें उनको चालामाला  बुझेपछि सुटुक्कै एक बोतल रक्सि र एक पेरुङ्गो सुकुटी  लुकाऊदै
पछिल्तिर के हेरेको थिएँ,कतिबेला देखि ढोकाको संघारमा उभिएर छोरोले मेरो कर्तुत देखिरहेको थिएछ
उसलाई केहि नभन्नु भनि सम्झाएँ  यतिकैमा श्रीमती तयार भएर आईं एक पटक सबै कोसेलीहरु नियालेर हेरिसके पछि अनुहार बिगार्दै मलाई नानाभांती गालि गर्न थालिन् मैले केहि पनि लुकाएको छैन भनेर धेरै पटक विस्वास दिलाउन खोजें,पत्याए पो साईत बिग्रियो भनेर माईत नै नजाने घुर्की देखाउन थाली  म आपतमा परें वाध्य भएर अनुहार खुम्च्याउदै भनें -
''कसम,माई,किरिया मैले लुकाएको छैन ,यदि लुकाएको  छु भने अहिले मरि जाऊँ ''यो शब्दले उनलाई पत्यार भएछ क्यार,अपसोच मानेर उल्टै मसंग माफी माग्दै माईततिर प्रस्थान गरिन् 
                        भोलिपल्ट छोरालाई स्कुल पठाउनका लागि तयारी गर्न कोठामा पस्दै थिएँ,छोरोले मेरो पेन्टको खल्तीबाट केहि पैसा झिकी आफ्नो गोजीमा हाल्यो  यो देखेर मेरो रिसको पारो बढेर आयो ।यद्यपि कलिलो मस्तिष्कलाई हिर्काएर,गालि गरेर तर्साउनु भन्दा  सम्झाएर  सत्य वचन बोल्न लगाउनु  नै बुद्धिमता  ठहर्छ भन्ने लागेर तत्काल केहि भनिन उसलाई तयार गरि सकेर टिफिनमा खाजा खाने पैसा दिनलाई गोजीमा हात हाल्दै भनें -
''गोजीमा राखेको पैसा छैन त ,यसरी नमागी झिक्नु भनेको चोरी गर्नु हो,यस्तो कार्य गर्नु हुदैन,खै त्यो पैसा तुरुन्तै फिर्ता गर ''
                   मेरो कुरा सुनेर अनुहार खुम्च्याउदै छोरो बोल्यो -
''कसम,माई,किरिया मैले चोरेको छैन,यदि चोरेको छु भने अहिले मरि जाऊँ ''
 [रचनाकाल :-  २३-०१-२०११ ]

*******************************************
                                'सालीक'

                   देशको आन्दोलन दिनानुदिन चर्किरहेको थियो ।सम्पूर्ण राजनीतिक पार्टिहरु एक भएर राजतन्त्र विरुद्ध दिलोज्यान दिई गणतन्त्र स्थापना गर्नलाई संघर्षरत थिए।हाम्रो क्षेत्रबाट उ प्रमुख नाईके बनेर आन्दोलनलाई फत्ते पार्न अग्रसर थियो ।यहिक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भई बीच सडकमा प्रहरीले गोली चलाउँदा उसको मृत्यु हुन पुग्यो । 
                    केही समय पछि देशमा धन जनको ठूलो क्षती पश्चात आन्दोलन सफल भई गणतन्त्रको घोषणा भयो ।देश भरि गणतन्त्रको अचाक्ली लहर चल्यो ।हाम्रो क्षेत्रबाट उ पहिलो शहीद कहलिन पुगेकोले उसको आहुतिलाई उदाहरणीय पार्न सम्मान स्वरुप सालीक निर्माण गर्ने निर्णय भयो ।सबै क्षेत्रबाट सकारात्मक आवश्यकताको महशुस गर्दै उसले सहादत प्राप्त गरेको बीच सडकमा उसको सालीकको अनावरण भयो ।केही समयसम्म सबैले उसको व्यक्त्तित्त्व र सालीकको कदर गर्दै चर्चा परिचर्चा गरे ।त्यसपछि सबैले  दिक्दारी मान्दै भन्न थाले-'त्यसै त साँघुरो सडक,त्यसमाथि उफ्! बीचैमा सालीक ।' 
[रचनाकाल:-  ०८-०३-२००९ ]

No comments:

Post a Comment