Thursday 12 December 2013

लघुकथा:- लज्जा // साहित्यकार

              "लज्जा"

"छोरी, तिमीलाई लिन दुलहाको घरबाट सबै जना आउनु भएको छ,ल जाउ भित्र गएर सबैलाई ढोक गर। '
        आमाको आज्ञा पालना गर्दै भाँडाकुटी खेलिरहेकी रुपवती जुरुक्क उठिन्।दाँया-बाँया केहि नदेखे पछि हतपत आमाको घुम्टो थुती आफ्नो शिर ढाकेर पाहुना कोठामा गई।जहाँ आफन्तजनहरुको बाक्लो उपस्थिति थियो।सबैलाई ढोक गरि आमाको छेउमा शिर झुकाएर बसिन्।
         गाउँका धनाढ्य दुवै चौधरी परिवारबीच सम्बन्ध गाँसिएकोले औधी खुशी छन् ।नौ वर्षीय दुलही र बाह्र वर्षीय दुलहाको विवाह हुँदा गाउँमाकसैलाई ताजुब लागेको थिएन।आज रीत अनुसार छ महिनापछि दुलही बिदाको अवसरमा गाउँ नै मगन भएकोछ।वार्तालाप कै क्रममा सबैको ध्यान केन्द्रित गर्नु हुँदै रुपवतीकी सासू बोल्नु भो- 

"दुलहीनानी,यता आउ तिम्रो लागि राम्रो-राम्रो नाना ल्याईदिएको छु।अब यो लगाएर आफ्नो घर जानु पर्छ।"
         कलिलो मस्तिष्ककी रुपवती खुशी हुँदै सम्मानपूर्वक थापेर आफ्नी आमा सामू निर्वस्त्र भई लुगा लगाई दिन अनुरोध गरि।
                   [रचनाकाल:- ३१-०७-२०१२]
******     *******     *****    ******** 

                     "साहित्यकार"

           उसले पहिलो पटक रेष्टुरेण्टको उद् घाटन गर्दा मलाई निम्तो दिएको थियो ।यो दोश्रो अवसर उसले आफ्नो कृति लोकापर्ण गर्नलाई कार्यक्रममा निम्त्याएको थियो,मैले सहर्ष स्विकारें ।कार्यक्रममा निकै खर्च गरिएको हुनुपर्दछ,उपस्थित सबैलाई पुस्तक र खानपिन नि:शुल्क थियो।
      केही महिनापछि मैले उसलाई फोन गरेर पुस्तक के कति रहेको सवाल गरें,उसले सबै सकियो भन्ने जवाफ दियो ।त्यसपछि हाम्रो सम्पर्क भएन ।रै पनि उसको चर्चा शहरका साहित्य सर्जकहरुमाझ फैलिएको थियो ।वर्षदिन भित्रै प्रकासित पुस्तक सकिएको कुराले मलाई पनि पुस्तक प्रकाशन गर्न ईच्छा जाग्यो । एकदिन आफ्नो कृतिको भूमिका लेखाउन र पुस्तक चाँडै बिक्री गराउने रहस्य माग्न उसको रेष्टुरेण्ट गएँ ।जहाँ नाम परिवर्तन भएकोले ठम्याउन धामा पर्‍यो ।नयाँ साहुजीलाई सोधें,उहाँले भन्नुभयो-
"पुस्तक प्रकाशन गर्नलाई मबाट उसले कर्जा लिएको थियो ।सर्त बमोजिम तिर्न नसकेकोले रेष्टुरेण्ट मेरो भयो ।आजकाल उ यतै-कतै भौतारिएर हिंडेको देख्छु ।" यस कुराले मेरो चेहेराको नूर मलिन भयो ।औपचारिकता जताउनलाई कफी मगाएँ।झोलाबाट पाण्डुलिपी झिकेर नियालें,त्यसपछि निराकरण गर्दै रमाना भएँ ।
[रचनाकाल:- २४-०३-२००८ ]

No comments:

Post a Comment