Monday 30 December 2013

कविता:- उपस्थिति//गाउँहरु

''उपस्थिति''


अहिले फर्किएर आउँदा
तिमी उस्तै रहेछौ
म अलिकति बद्लिएछु
यो नै
हाम्रो सम्बन्धको फाटक बनेर
सदिऔको लागि पर्खाल हुने भो
यसो हुनुमा
कसको दोष..?

म निरुत्तर छु

पहिले कटु वचन दिंदा जस्तै
यसर्थ,तिमी नै भन
त्यतिबेला
तिम्रो समिप आउन लाग्दा
तिमी किन तर्कियौ / झर्कियौ
आज त्यसैको प्रतिफल यो 'वक्ररेखा'
जसको वर्ग खिचिन
कुनै ज्यामितिको सुत्रले
कदापि सिद्ध गर्न सक्दैन
किनकी,त्यो बेला
तिम्रो अहमता अनि मेरो असहनता
जसलाई साध्यसंग सादृश्य गरि
हल गराएता पनि
अहिलेको यो भूगोलले
जताततै सीमारेखा कोरिदिए पछि
सम्बन्धको रुलरले आयतनलाई खुम्च्याएर
अब
तिम्रो पटांगिनीमा
म कसरी उपस्थित भई
त्रिभुज बनौं..?

रचनाकाल:- २२-०५-२०११
रचनास्थान:- पेराक,मलेसिया 
*****   *****   ***

"गाउँहरु"

हो साच्चै नै
व्यस्त शहरहरुको तुलनामा
गाउँहरु
लम्पसार परेर अव्यस्त टोलाईरहेछ
आशावादी भएर पनि गुनासो विहिन
किनकी
गाउँहरुलाई थाहा छ
गाउँहरु गाउँ नै हो

शहरहरु शहर नै हो
कसैद्वारा बनाईएको आकाश पातालको अन्तर
रै पनि
गाउँहरुमा नंग्रा खियाईन्छ
शहरहरुमा बुद्धि खियाईन्छ
नंग्रा खियाएर संसार बचाईन्छ
बुद्धि खियाएर संसार अड्याईन्छ
यहाँ पक्कै अब
संसार बचाईनु पर्छ
न कि क्षणभर अड्याएर मात्र
संसारलाई बचाईरहन सकिन्दैन।

फेरी पनि यहाँ
संसारकै अस्तित्त्व बनेका
गाउँहरु अपहेलित छन
के शहर भएर गाउँ भो?
कि गाउँ भएर शहर !
ए है !
शहरप्रति अभिमान राखि रम्न चाहनेहरु
गाउँहरु विनाको शहरलाई
परिकल्पना गरिहेर त
के गाउँ विना शहरको अस्तित्त्व रहला ?
पक्कै रहदैन
त्यसैले
गाउँहरुमा बसेर देखिएका सपनाहरु
गाउँहरुमा बसेर कल्पिएका कल्पनाहरु
गाउँहरुमा बसेर बनाईएका योजनाहरु
फगत,शहरमा लगेर लिलामी गरी
सफलताको आडम्बरी बन्नु
व्यर्थ छ
गर्छौ भने / सक्छौ भने
बेस्मारी थिचाईएको,चेप्ट्याईएको अनि चुसिएको
गाउँहरु मै
ति सपना,कल्पना अनि योजनाहरुलाई
दृढ संकल्प गरि साकार पार
यहि शहर अनि संसार नै पाउँने छौ
हो !निकम्मा बनाईएको
गाउँहरु ।

२०६१ असार 

No comments:

Post a Comment