Tuesday 5 November 2013

कविता:-"श्रीमतीलाई चिट्ठी" // "जीवन-रङ्ग"

"श्रीमतीलाई चिट्ठी"

प्यारी..!
तिम्रो नाममा फेरि चिट्ठी लेख्दैछु
यो पटक
यो देश[मलेसिया] र हाम्रो देशको बारेमा केहि सादृश्य गरें है
यहाँको सडक,शहर,औधोगिक अनि बडेमाको महलहरु
हाम्रा नाती-पनातिले पनि
देशमा देख्न नपाउलान्
विलासीता भोग्न नपाउलान्
त्यो आफ्नै ठाउँमा छ

टि.भी., पत्र-पत्रिकामा देख्ने गर्थें
अस्ति भर्खर खुद यहि आँखाले देखें /नियालें

बनमा बस्नेहरु जो 'ओराङ्ग असली' [भूमिपुत्र]
अझै पनि उनीहरु
बाँसको फुँदो बनाएर फुकी ढेंडू-बाँदर,कालिज मारी खाँदा रै'छन्
दुवालीमा माछा मारी खाँदा रै'छन्
केहि चै शहरतिर पनि पसेका रै'छन्
यहाँका शासकले
उनीहरुलाई जल-जमिन-जंगल दे'का छन्
त्यतातिर मन परि गर्न दे'का छन्
अनि तिनै शासकले जंगल,पहाड आफू अनुकुल पारेर
उनीहरुलाई अझ भित्र-भित्र ओडारतिर पुर्याउदै छन्
र पनि उनीहरु चुप छन्
तर म चुप छैन
मनमा ज्वालामुखीका लाभाहरु तप्का-तप्का बसेका छन्
र विस्फोट नहुनलाई भन्छु-
एक दिन- उनीहरुले फुँदोहरु,दुवालीहरु
कसो शासकहरुतिर फुकी नपठाउलान् र !

अब हामी दुईको कुरा है
तिमीलाई धेरै वर्ष प्रेम गरेर 'बे' गर्न राजी गराएँ
त्यतिका वर्ष मेरो शारीरिक बनावटलाई स्वीकार्न सकेनौ
पछि यो कुरा तिम्ले नै स्विकार्यौ नि
हुन पनि म अनि मेरो वर्ण
अलिक पुड्को ,नाक थेप्चे,अनुहार अलिक डल्लो आदि ईत्यादी
त्यस्तै छातीमा पटक्कै रौँ नभएको
फेरि मेरो भाषा,धर्म,संस्कार,रीतिरिवाज छुट्टै
ओहो ! बित्थामा भित्रिएछु भनि एक मनले सोच्न खोज्यौ होला
तर
मेरो मायालाई माया गर्ने मान्छे तिमी
मेरो भावनालाई कदर गर्ने मान्छे तिमी
अझ,मेरो हर सुख-दु:खमा साथ दिने मान्छे तिमी
ती सबै तिम्रा लागि निहिर
आखिर सहज बन्दै गई रहेको छ नि !

अँ,
अब तिम्रो वर्णन है त
अलिक अग्ली,नाक चुच्ची,अनुहार अलिक लाम्चो आदि ईत्यादी
हात-खुट्टामा रौँ चै अलिक बेसी नै छ है
अनि नाके बोलि
जे होस् यसैमा म लट्ठ
मतवल
हामी दुईका वर्ण हामी दुईलाई काफी

कहिलेकाहीं गम्भीर भएर भन्ने गर्छौ-
"ए काले ! तिमीले सोचेका छौ ?
देशको यहि अवश्था भई दियो भने-
भोलि हाम्रो सन्तानहरुले तिमीलाई धिकार्ने छन् या त मसंग विद्रोह गर्ने छन् '
यतिबेला म
तिम्रो तात्पर्यतामा
'ओराङ्ग असली' लाई देखेर हेक्का लगाउदैछु

बुझ्न वाध्य भएको छु
हामी दुवैको समुदाय अनि देशको तरलतालाई ।
           [रचनाकाल:- २६-१०-२०१३]
*******    ********    ******   ********

  "जीवन-रङ्ग"

म आँखी झ्यालबाट
जूनलाई नियाल्ने गर्छु
र देख्छु
निर्मल-कोमल-चञ्चल
अनि
मोहित बनेर मनबाट शन्देश/इशारा पठाउछु
-"जव तिमी झुल्किन्छौ तव मेरो रवाफ सुरु हुन्छ
झरेका फूलहरुमा जीवन अभिष्ट देख्छु "
मतलव,सबै-सबै जायज लाग्छ
तत्काल कोहि आएर
म हुनुको परिभाषाहरु
म सामु आई प्रष्टाएर भन्छ
-"तँ साधारण छस्,तँ पटमुखा छस्,अन्तत: पछुताउछस्.."
म,बेमतलव
बेपर्वाह जूनतिरै टोलाई रहन्छु
सायद मप्रतिको अनुग्रहमा
मेरो इरादालाई
मेरो तरानालाई हल्का पन्साएर जून भन्छ
- "ए मान्छे !सुन,ममा केहि दाग छ"
म शुष्क हुँदै दिलासा दिन्छु
-"तिमीलाई थाहा छ,दाग हुनु नै जीवन-रंग हो
जसले बेरंग जिन्दगीमा रंग भर्ने गर्छ"।
                 [रचनाकाल:- १४-१०-२०१३ ]

No comments:

Post a Comment