Monday 21 October 2013

कथा:- सम्झौता

                                    “सम्झौता” 

“तिमी के चाहन्छौ ?”
“म के चाहन्छु,थाहा छैन;सायद तिमीलाई थाहा छ कि !” अकस्मात् उनले मलाई सवाल गरिन्;हतपत जवाफ दिएँ।
       सदा झैँ चमेना गृहमा उनको समिप गएर तराना नियाली रहें।यसरि हेर्नु मेरो आदत बसी सकेको थियो। उनलाई अप्ठ्यारो महशुस भएता पनि म स्वाभाविक ठान्थें।म लटमुखा छु,त्यसैले उनको सामु केहि बोल्नलाई हिम्मत जुटाउन सकेको थिईन।वाध्यतावश उनले नै पहिलो पटक सम्बोधन गरिन् ;जसलाई मैले सम्बन्धको सुरुवात ठानें।
“जहिले हेरिरहन्छौ,यस्तो मलाई पटक्कै मन पर्दैन;ख्याल गर नि !” मुहारमा आवेग झल्काउदै बोलिन्।
“आँखाले हेर्दा रिसाउछौ भने अबदेखि मनले हेरी दिउला नि !” ठट्टा गर्दै भनें।
      उनीसंगको संलाप यसरि हुन्छ भनेर मैले कदापि सोचेको थिईन।यस्तो सुरुवातको हेक्का मिलेको भए पहिल्यै बोल्ने थिएँ या त किमार्थ बोल्ने थिइन।वर्ष दिन पछिको फल निल्नु न ओकल्नु झैँ भयो।एउटै कम्पनीको कामदार भएर पनि काम गर्ने विभाग अलग-अलग भएकोले आकल-झुकल नजर जुध्ने गर्थ्यो।विश्राम र छुट्टीको समयमा प्राय: म उनकै आसपासमा देखा परिरहन्थें।जसले गर्दा मलाई ख्याल गर्न वाध्य भएकी थिईन्।
“तिमी को हौ ?अकार्थ सम्बन्ध जोड्ने कोशिश गर्छौ?” कफी आईस् पिउन अघि बोलिन्।
“मेरो निम्ति तिम्रो मनमा जे सवाल छ,म त्यसैको जवाफ हुँ।“ चुरोट सल्काएं।
 
   मलाई थाहा छ,उनि कर्कशा छिन् ।रै पनि म उनिप्रति लट्ठ छु ।मेरो नीयतमा खोट छैन,केवल म उनलाई संवरण गर्छु।महशुससम्म जताउन नसकेको बखत कसरि गथासो पोखौं।प्रेममा मन पराउनु र माया गर्नु अलग वास्तविकता हुन्छ।जव व्यवहार र आत्माबाट प्रष्फुटन हुन्छ तव सच्चा प्रेम कहलिन्छ।जसलाई कुनै सीमाको पर्वाह हुँदैन ।भौगोलिक दृष्टिकोणले उनि इन्डोन [इन्डोनेसिया],म नेपाली; दैवसंयोग हाम्रो कर्मथलो मलेसिया।हामीबीच अपाम्मे भिन्नता भएता पनि मान्छे हुनुको सार्थकतामा निहित मानवता र आत्माले गर्दा म उनीप्रति खिचिएको छु।मलाई विश्वास छ,उनि पनि अछुतो रहने छैनन् ।मेरो आचरणप्रति साथीहरु रुष्ट छन्,यसलाई म ईर्ष्या सम्झन्छु ।रोजगारको सिलसिलामा विदेशिएँ,मन अझ विदेशिन्छ भने म कसरि काबूमा राख्न सक्छु र ! तनले धन नकमाएता पनि मनले मन कमाउन चाहन्छु।जवानीमा जीवनीको कदम चाल्नुलाई बेवकुफी ठान्छन् ।वस्तुतः प्रेम र युद्धमा सबै जायज हुन्छ तर बेवकुफिले युद्धलाई बर्बाद पार्छ भने प्रेमलाई आबाद बनाउँछ।सुहाङ्ले मलाई बारम्बार भन्ने गर्थ्यो–
“यस्तै आचरणले गर्दा यहाँ सबैको बदनाम भईरहेको छ।उनीहरुको इरादालाई ख्याल गर,नीयत र पैसाले गर्दा साथ दिन्छन्,फकीर बनाउलान् अनि पछुताउनु पर्ला।“
“नजीर हुन त पाउँ,अनि सोचौला।“
“जवानीमा बरालिएर समय खेर नफाल,यतिबेलै भाग्य-रेखा कोरिन्छ।“ मलाई किंकर्तव्यविमुढ बनाउदै भन्थ्यो।
“खिचिएको भाग्य-रेखा कसले पो बदल्न सक्छ र !” यसरि नै उसको सवाललाई प्रश्न चिन्ह खडा गरि दिन्थें।
       समय र सम्बन्धले केहि कोल्टे फेर्न थाल्यो।उनलाई बोल्न वाध्य बनाउन थालें।म छेउ लाग्दा उनि अन्मरिन्थी,वेवास्तालाई आदतमा बदलेर समायोजन गर्थें।किञ्चित् शिकायत छैन,उनको आचरणप्रति।बेलाबखत आफैलाई लेखा-जोखा गर्ने कोशिश गरें,अपसोच पाईन।आबरु दिन खोज्दा पनि हुर्मत लिईन् ।यस्तो क्रुर कसैमा पाएको थिईन । सुन्दरताको अभिमान भन्दा छुट्टै कारण हुनु पर्दछ।सायद हामीमा भएको भौगोलिक भिन्नताले गर्दा होला।किमार्थ हो भने म सदैव उनीमा नतमस्तक भईरहने छु।हामीबीचको अपुष्ट सम्बन्धको छिनो-फानो गर्नलाई पार्कमा बोलाएँ ।मलाई विश्वास थ्यो,उनि अवश्य आउने छिन् ।फोन गरिन,मैले उठाईन किनकि नआउनलाई बहाना बताउने छिन् ।केहीबेर पछि आएर ठुस्किन्दै मसमिप बसेर भनिन्-
“किन समस्यालाई निम्त्याउन चाहन्छौ ?”
“दिई हेर साथ,म समस्यालाई नै कतै अल्झाई दिनेछु।“ नजर जुधाएर भनें ।
       उनको उपस्थिति नै मेरो निम्ति काफी भयो ।उनलाई यहाँ बोलाउनु नै मेरो प्रेम प्रस्ताव थियो ।मलाई स्वीकारेकी हुनु पर्दछ,त्यसैले आईन् ।प्रेम अव्यक्तमा पनि व्यक्त हुने गर्दछ ।उनको उपस्थितिले मेरो लागि ईंकित गर्यो ।मैले भने-
“म तिमीलाई औधि माया गर्छु ।“
“तिमी स्त्रीलम्पट हौ,त्यसैले मन पराउन सक्छौ।फेरि मन पराउनेलाई कसले पो बन्देज लगाउन सक्छ र !”
“मलाई कामातुर ठानेकी तिम्ले,यदि यसो हुँदो हुँ तिम्रो बेमतलवलाई किन म प्रेम-इशारा सम्झिन्थें।वासना लुटाउनलाई जहाँ पनि जान सक्छु।“ चुरोट सल्काएर एक सर्को धुँवा आकाशतिर उडाएँ ।
“आफूलाई सम्हाल,हाम्रो आ-आफ्नै दुनियाँ छ,जसले तबाह पारिदिन सक्छ ।“ छड्के नजर पार्दै बोलिन्
“तिम्रो खातिर जे पनि गर्न सक्छु।यसको मतलव मर्न पनि तयार छु भनेको चाहिं होईन नि ! किनकि बाँचेर नै तिमीसंग जिन्दगी गुजार्न चाहन्छु।“ यो पटक चुरोटको धुँवा भुईतिर छोडें ।
        आफ्नो सारा गथासोहरु उनीसमक्ष पोखें।गलफदी मात्र सावित भो।मेरो भावनालाई कदर गरेकी भए सम्बन्धलाई शब्दमा बदलेर व्यक्त गर्ने थिइन् ।विडम्बना,उनले निराकरण गर्न सकिनन् ।मैले पनि ढिपी कसिन।यति लामो समयसम्म मन-मस्तिष्कलाई खर्चिएर आफूलाई कम्जोर पार्न सिवाय केहि पाईन ।मेरो पैसाले उनीलाई होईन उनको तिरस्कार सम्मलाई पनि खरिद गर्न लायक भएन।अकार्थ आत्मा सम्मानमा ठेस पुगेको आभाष भयो।आफैलाई सम्हाल्न चाहें।जसो-तसो सम्हालिएँ पनि तर मेरो मन मबाट बेखबर भई निकम्मा भईसकेको रहेछ,सम्झाउन सकिन।
       एक साँझ होस्टल पछाडिको डहरमा गई घर फोन गरिरहेको थिएँ।एक जमात आएर एक्कासी मलाई जथाभावी कुट्न थाले।लुटेराहरु सम्झी मोबाईल र पर्स दिन खोजें,उनीहरुले लिन चाहेनन्।हारगुहार गर्दै प्रतिकार गरें।मेरो चिच्यावट सुनेर सुहाङ् केहि साथीहरु लिएर आयो,तिनीहरु भागे।निधार फुटेकोले तत्काल मलाई हस्पिटल पुर्याईयो।जीउभरि चोटैचोट भएकोले पन्ध्र दिनको छुट्टी-पत्र मिलाएर होस्टेलमा बसें।आखिर मलाई कुन नीयतले कुटिएको थियो,हेक्कासम्म लगाउन सकिन।यदि लुटेराहरु हुँदो हो म लुटिनु पर्थ्यो तर कुटाई खाएँ।तिनीहरु विदेशी थिए जोसंग मेरो सरोकार नै छैन र पनि कुटिएँ।यहि सोचेर मन बहलाएँ।बाह्रौ दिनको साँझ उनको फोन आयो,मैले वेवास्ता गरें।कारण बुझ्नलाई दिलचस्पी पनि लागेन।चोटहरुलाई डिटोल-पानीले सफा गर्दै थिएँ,सुहाङ्संगै उनि कोठा भित्र पसिन्।म अवाक् भएँ।फलफूल थमाई दिंदै उनि बोलिन्-
“मलाई माफ गर,मेरै कारणले तिमीलाई यस्तो भएको हो।“
“कसरि तिम्रो कारणले हुन सक्छ ? वश,मेरो दुर्भाग्य थियो।“ मधुर स्वरमा बोलें।
“मैले तिमीलाई पहिले नै सजग गराउन चाहेकी थिएँ।तिम्ले बुझ्न सकेनौ,मैले रोक्न सकिन। ‘अमिन’ र उसको साथीहरु थिए।“ शिर झुकाईन् ।
“को हो ‘अमिन’ ? मेरो उसंग के दुश्मनी थियो र !” उनलाई नियाल्दै सवाल गरें।
“उसंग मेरो वाग्दान भईसकेको छ।तिम्रो हर्कत उसलाई भनि दिएकी थिएँ।उसले तिम्रो खबर लिई रहेको थिएछ।उसको इरादाबाट धन्न बच्यौ।अस्तिको दिन उसको करार अवधि सकिएकोले घर फर्कियो।“ चेहेरालाई मलिन मुद्रा पार्दै बोलिन्।
       उनको कुराले एक क्षण स्तब्ध भएँ।म कुटिनुको नीयतबाट नजोगिएता पनि तिनीहरुको इरादाबाट भाग्यवश बचेछु।यो खबरले मृत्युको महशुस गरेर ब्युँतिएँ।हाम्रो अपुष्ट सम्बन्ध हुँदा त मैले यो हविगत पाएँ भने कदाचित् सम्बन्ध गाँस्न पुगेको भए कस्तो नौबत बेहोर्नु पर्थ्यो होला ? अन्दाज लगाउन पनि डर लाग्यो।हरेक समस्याको हल मृत्युमा खोज्नेहरुसंग सम्बन्ध राख्नु भन्दा तोड्नु नै बुद्धिमता ठहर्छ।सुहाङ्ले तात्तातो कफी ल्यायो।हामी दुई जना बरन्डामा गयौ।म मौन रहें।उनले मलमपट्टी फेरिदिईन्।त्यसपछि मेरो हात समाउदै भनिन्-
“तिमी के चाहन्छौ ?”
“म के चाहन्छु,थाहा छैन।सायद तिमीलाई थाहा छ।“ मधुर स्वरमा बोलें।
       प्रतिसवाल सोचेर नै गरें।यो सवालले पहिले कै इरादा र अवश्थाको प्रतिनिधित्व गरिरहेको थियो।फरक छ त त्यतिबेला मैले प्रतिसवाल गरेको थिएँ मनको स्वीकृति विना,यतिबेला मनले गरेको छ मेरो इजाजत विना। “प्राय: दिमागले उब्जाएको सवालको जवाफ पाउन सकिन्छ तर कहिले कहिँ मनबाट उब्जिएको सवालको जवाफ पाउन धेरै मुश्किल पर्छ।" कफी पिउदै नजर जुधाएर बोलिन्।
“भावनालाई यथार्थमा बदल्ने चेष्टा नगर प्राय: अनाहकमा मूल्य चुकाउनु पर्छ।‘ भावुक हुँदै मैले भनें।
“ यो तिमी के भन्दैछौ ? सायद तिम्ले मलाई प्रेम गरेकै थिएनौ;त्यसैले पन्सिन खोज्दैछौ।म, मेरो दुनियाँ छोडेर तिम्रो दुनियाँसंग सम्झौता गर्न लालयित छु।डरकोप किन प्रेमको बहाना जताउनु पर्यो ?पक्कै तिमी स्त्रीलम्पट हौ।मेरो लागि यो नौबत भोग्यौ,अब म एक कदम अघि सरेर सम्बन्धको खातिर संघर्ष गर्नेछु।तिमी जे भन,मैले तिमीलाई संवरण गरिसकें।“ आँशु बगाएर मायाको मूल्य पोखिन्।
“म तिमीलाई के भनेर सहानुभूति दिउँ,खूद सहानुभूति भएको छु।खैर ! तिम्रो यो पना मलाई मन पर्यो”। उनको ललाटमा भावनात्मक चुम्बन गरें।
        सम्बन्धको सुरुवात जसरि भए पनि त्यसलाई समयानुकुल स्विकार्नु पर्छ।मैले हारेको थिएँ,उनले जिताईन् ।यसैमा हामी मगन भयौ।भविष्यको लकीर खिच्न थाल्यौ।सुहाङ्ले पनि हाम्रो सम्बन्धलाई स्वीकार्यो।सारा सीमाहरूलाई तोड्दै परस्पर समिलित जिन्दगीलाई सार्थक बनाउनमा चेष्टारत भयौ।हामीपछि रहेको आ-आफ्नो दुनियाँलाई थन्काएर नयाँ दुनियाँको संरचना गर्न थाल्यौ।आपसमा समझदारी अपनाएर जिन्दगीलाई समायोजन गर्नु पर्दा अद्भूत महशुस भो।हाम्रो सम्बन्धलाई दसी दिलाउन एउटा अकाट्य सुत्रपात भयो।चेहेरामा नूर झल्काउदै उनि बोलिन्-
"सायद,म प्रेग्नेन्ट भएकि छु।“
“सत्य ठहरियोस् तिम्रो अन्दाज।पक्कै भाग्यमानी हुन्छ होला हाम्रो बच्चा।म नेपालमा जन्मिएँ तिमी इन्डोनेसियामा,अब ऊ मलेसियामा जन्मिन्दैछ।उसको पृष्ठभूमिले सारा दुर्भाग्यलाई कतै थन्काएर सार्थक जिन्दगी जिउने छ।हामी सांसारिक परिस्थितिको जंजीरमा बेरिएर दुर्भाग्यलाई टालटुल गर्न मजदुर भई विदेशीयौ।उसलाई हाम्रो हालतको महशुसबाटै टाढा राख्नु पर्छ।“
“सायद,हाम्रो सम्बन्ध भगवानको मर्जी थिएछ,त्यसैले भौगोलिक सीमाले पनि रोक्न सकेन।बरु सबैको निम्ति उदाहरणीय बनाई दियो।मलाई यसरि नै साथ दिएर खुशी राख्नु।के तिमी प्रण गर्न सक्छौ ?” एक पटक मलाई हेर्दै अंगालोमा बेरिन् ।
“तिम्रो खुशीको निम्ति मेरो वशमा भएसम्म भगवानसंगै सौदा गर्नेछु।“
        यो अवश्था ममा निम्तिनलाई नियतीको झटारोसम्मले धर्मराउन सकेन।विना शन्देह मेरो मन उफान भयो।झटपट मोवाईल उठाएर सुहाङ्संग खुशी बाँडें।सबैसंग खुशी बाँडेर पनि पहिलो पटक आफैप्रति अपशोच लाग्यो।सायद म,परिस्थितिले निम्त्याई दिएको इरादालाई कतै थन्काएर स्वार्थको भुमरीमा रुमाली सकेको छु।अनि घर-परिवारको भाग्यलाई दाउमा राखेर आफ्नै भाग्यको खातिर एकाग्र भई सकेको छु। छोरा हुनुको कर्तव्यलाई आफ्नै ढंगमा सार्थक बनाउनाले चुकीसकेको छु।म कसरी वृत्तान्त सुनाउँ ? यहाँ मैले दुनियाँ बनाई सकेको छु भनेर।यो खबरले यहाँहरुको आत्मामा कस्तो शूल बिझ्ने हुन,अन्दाजसम्म लगाउन सकिन।भरोसा बनि दिएर बदलामा बज्रपात वर्षाई रहेकोछु।यो अक्षम्य भूलको सायद प्रायश्चित नहोला।अब त मैले आत्मग्लानि लिएर पनि फाईदा छैन।किनकि उहाँहरुको निम्ति म पतिङ्गर बनि सकेको छु।मलाई थाहा छैन,यो परिस्थितिको प्रमुख दोषी म हुँ या मेरो नियति।सन्तान जति नै निकम्मा ठहरिएता पनि अभिभावकहरुको निम्ति भरोसायुक्त हुने गर्दछ।त्यसैले सैयौं भूलहरू निमेक भरमै माफ गरिन्छन्।भोलि गएर मेरो सन्तानले गर्ने भूललाई म क्षमा दिन सक्छु या सक्दिन,थाहा छैन।ममा केहि अंश रहने मौलिक संस्कार र परम्परालाई थन्काएर नौलो परिवेशमा हुतिने पो हुन् कि ! त्यसबखत के भनि शिकायत गरौ ?कुनै हल फेला पार्न सकिन।
       एक साँझ दिल्लगी गरिरहेका थियौ।उनको दाजूको फोन रहेछ निकै बेर कुरा गरिन् ।भर्खरै छाएको चेहेराको नूरमा मलिन झल्किन थाल्यो।उनीहरु बोलेको भाषालाई अड्कल काँटें,पक्कै तिलस्मी भएको हुनु पर्दछ।उनि शुक्-शुक् रुंन थालिन्,निन्याउरो अनुहार पार्दै सोधें-
“के भो ?”
“आमा,शिकिस्त बिरामी हुनु भएछ,सायद उहाँको आखिरी सास भेट्न पाउँदिन होला। म कति अभागिनी रहेछु,यतिबेला उहाँले अन्तिम ईच्छाका लागि मलाई भेट्न पुकारी रहनु भएको छ रे ! म कसरी पुरा गरिदिन सक्छु र !”
“प्रत्येक जन्मको अकाट्य सत्य नै मृत्यु हो,यसलाई कसैले टार्न सक्दैन।यहाँ चिरञ्जीवी को छ र ! तिम्रो यो अवश्थालाई महशुस गर्न सक्छु।म निर्दयी छैन,हामी दुवै जना जानु पर्छ।हाम्रो सम्बन्धको बारेमा तिम्रो गाउँ-घरमा सबैलाई थाहा होला नि !” आलिंगन मार्दै भावुक मुद्रामा भनें।
“सबैलाई थाहा छ,रै पनि स्वीकार्न मुश्किल छ।“ आँखा जुधौदै बोलिन् ।
“तिम्रो साथमा हर मुश्किल मेरो निम्ति फितलो सावित हुन्छ।मेरो भरोसा तिमी हौ,के तिमीलाई आफूप्रति किञ्चित् भरोसा छैन ?”
“मलाई थाहा छैन,हाम्रो सम्बन्धको भाग्यमा के कोरिएको छ।मलाई डर छ भर्खरै सुरुवात भएको सुनौलो संसार एकै पलमा अन्त्य हुन्छ कि भनेर।“ अनुहार निन्याउरो पारिन्।
“मैले भाग्य फल्ने रुख रोपेको छैन।जे हुनेवाला छ त्यसलाई बदल्न सकिन्दैन।अब जे हुन्छ त्यतिबेलै सोचौला।डरलाई थन्काएर हिम्मत जुटाउ सब ठीक हुन्छ।“ आफ्नो मन र उनलाई ढाडस दिने हेतुले भनें।
        परिस्थितिसँग सम्झौता गर्न सक्नु नै सार्थक जीवन ठहर्छ।हामीले हाम्रो सम्बन्धलाई स्वीकार गरेर पनि अभिभावकसमक्ष उपस्थित हुन डराई रहेका थियौ।समस्यादेखि जति भागेता पनि त्यति नै समस्याले गाँज्ने गर्छ।त्यसैले हिम्मत जुटाउन वाध्य भयौ।उनि दोजिया भएकीले दुवै जना जानका लागि सुहाङ्ले पनि सहमति जनायो।
      पानीजहाजको सफर मेरो निम्ति सपना र कल्पना बाहिरको यात्रा थियो।म भाग्यमानी हुनु पर्छ,एकैचोटी तय गरेर यात्रा गर्ने अवसर पाएँ।उनको गाउँ मेरो ठाउँ भन्दा पृथक थिएन।देशान्तरको भान पटक्कै भएन। रै पनि म यहाँको दैदस्तुरसंग विल्कुल अञ्जान थिएँ।उनले चिनाए जति सबैसंग परिचयात्मक औपचारिकतालाई पुरा गरें।विश्राम गर्नलाई कोठामा लगिन्।उनि आमालाई भेट्न अर्को कोठामा गई।केहि क्षण पछि हस्याङ्ग-फस्यांग गर्दै भित्र पसेर हतास मुद्रामा बोलिन्-
“हामी परिबन्दमा फस्यौ,आमालाई केहि भएको रहेनछ।हाम्रो सम्बन्धलाई विच्छेद गराउने इरादालाई ठम्याएर पनि भावनामा बहनु हाम्रो कमजोरी भयो। थाहा छैन,अब कुन हविगतको शिकार बन्दैछौ ।हामीलाई नश्तर हुने शंका लागेको छ।“ ढोकाको चुकुल बन्द गरिन्।
       म भयभीत मुद्रामा रहें।सोचाईका ज्वारभाटाहरु पहिलो पटक मत्थर भयो।यो हालतले म शारीरिक र मानसिक रुपमै शिथिल हुन पुगें।
“तिमी के चाहन्छौ ?” मलाई झस्काउदै उनि बोलिन्।मेरो हवास खुल्यो।
“म के चाहन्छु,थाहा छैन,सायद तिमीलाई थाहा छ।“
“तिमी भन्ने गर्थ्यौ समस्यालाई कतै अल्झाई दिन्छु।अब मैले डरलाई थन्काई सकेकी छु।उपाय विनाको समस्या पक्कै आउदैन,वश हामीले जिन्दगीलाई बचाएर सम्बन्ध सार्थक बनाउनु पर्छ।जसको लागि मृत्युसिवाय जस्तो मूल्य चुकाउन पनि सम्झौता गर्नु पर्छ।तिमीलाई कबूल छ ?” हृदयविदारक मुद्रामा भनिन्।
“कबूल छ।तिम्रै खातिर आफूलाई झुकाई सकेको छु,अनि मृत्युलाई चियाई सकेको छु।त्यो कुन मृत्यु हुन सक्छ जसले मृत्यु हुनबाट बचाओस् ? खैर,मेरो नासोलाई किमार्थ बचाई दिनु।“ आलिंगन मार्दै भनें।
        आउने दुर्दशालाई कसले टार्न सक्छ ? मेरो भाग्यको लकीरमा खिचिएको दुर्भाग्यलाई पन्साउन सकिन।त्यहाँबाट उम्कनलाई उपाय सोच्न नपाउदै मान्छेको भीड भयो।कर्कशध्वनिको प्रहार हुन थाल्यो।म मौन रहें।मेरो बचाउमा उनि रुँदै बोल्न थालिन्।यो परिस्थितिको प्रमुख दोषी म थिएँ।अब आफैलाई शिकायत गरेर हालतलाई कसरी बदल्न सक्छु र ! म के अभिप्राय लिएर मलेसिया भित्रिएको थिएँ,यो जोखिम र मुश्किललाई किन निम्त्याएँ, म निरुत्तर छु।आफ्नो गाउँघर-परिवारलाई वेवास्ता गरेर योग्य छोरा कहलिनुमा म चुकिसकेको छु।कदाचित् बाँचे छु भने देश फर्कीएर कसरी स्वाभिमानको नजराना बाँडौ ? कसूर छुपाएर बेकसूरको स्वाँङलाई मर्लान्त अंगाल्न सक्दिन।किनकि प्रत्येक पल पश्चातापको रापले मलाई पिरोलीरहने छ।
       समस्यामा कुनै उपायको आशा पाईन।रै पनि आफूलाई कम्जोर बनाईन।‘अमिन’लाई देखें,जसले मलेसियामा छँदा मलाई निर्घात पिटेको थियो।अब उसको इरादामा लाचार बनि शिकार हुने भएँ।ऊ जोशिएर म माथि मुक्का वर्षाउन थाल्यो,त्यसपछि उनको दाईले पनि मेसो पाउनु भो।उनि सामर्थ्यले भ्याएसम्म प्रतिकार गरि रहिन्।मैले सुरक्षित हुन असफल प्रयास गरि रहें।लगभग बेहोशी कै हालतमा मलाई प्रहरीद्वारा पक्राउ गरियो।जव मेरो पूर्ण हवास खुल्यो तव आफूलाई थानाभित्र हुलिया गुमेको अवश्थामा पाएँ।मध्यरातमा पुन: भागीदार विनाको सजाय पाएँ।दुर्व्यवहारको सास्तीले निस्किएको मेरो आर्तनादले मानवताको अभिमानलाई बदल्न सकेन।सायद,मैले अक्षम्य भूल गरेछु,जसको मुनासिब सजाय पाएँ।यसलाई प्रायश्चित सम्झें।लाग्यो,मेरो भागमा रहेको जिन्दगीको पल विस्तारै तुरिन्दै छ।ज्ञात भएको मृत्युप्रति डर भएन,बरु मन-मष्तिस्कमा पैदा हुने सोचाईले जिउने लालसालाई पिरोल्दो रहेछ। प्रत्येक जन्मले मृत्युसंग अनि समयले परिस्थितिसंग सम्झौता गरेको हुन्छ।यहि अकाट्य सत्यलाई सम्झिएर मन बहलाएँ।मनलाई अचाक्ली शंकाले गाँज्यो।जसलाई जिवनान्त माया गर्न चाहे,उनैले सुनियोजित फन्दामा जड्काई त दिईनन् ? सुहाङ्लाई सम्झिएर आत्मग्लानि भयो।पाँचौ दिनको साँझपख उनीसंगै केहि मानिसहरु आए।उनको बदन,चेहेरा कम्जोर र दयनीय भएको देखें।मलाई अर्को कोठामा लगियो।लाग्यो,हाम्रो सम्बन्धलाई सबैले स्वीकार्न वाध्य भए छन्।म यो अवश्थाबाट मुक्त हुन्छु भनेर रतिभर सोचेको थिईन।
       मन र मष्तिस्कले मलाई सम्हाल्दै यो परिस्थितिलाई पनि थेगी दियो।आफूलाई भाग्यमा सुम्पिएँ,थाहा छैन,भाग्यले कस्तो मोडमा पुर्याई दिने हो।उनको दाई र अमिन मसामू आए।मेरो पासपोर्ट र कागजपत्र थमाई दिंदै कड्किएर दाई बोल्नु भो-
“बहिनीको खातिर तेरो जिन्दगीलाई एक मौका दिएँ,कदाचित् हर्कत देखाउने कोशिशसम्म गरिस् भने यस्तो मौका नमिल्न सक्छ।“
“यो जिन्दगी त्यहि नमिल्ने मौकाको प्रतिक्षामा रहने मौका भो।“ नजर जुधाएर भनें।
         स्थिति भयानक बन्न लागेको थियो।यहिबखत आमा आउनु भयो।दाई र अमिन बाहिर निस्किए।मलाई निकैबेर नियाल्नु भएपछि भावुक मुद्रामा बोल्नु भयो-
“के तिम्रो देशमा प्रेमको खातिर यस्तो हविगत भोगेर पनि सम्बन्ध जोड्ने साहस गर्न सक्छन् ?यहाँ त यो हविगतको संकेत नै प्रेम व्यर्थ ठहरिनलाई काफी हुने गर्छ।तिम्ले त यसलाई झेलेर पनि बच्यौ।“
“मलाई अपशोच छ,हजुरको देशमा कसैले कसैलाई सच्चा प्रेम नगर्दो रहेछ।मैले हजुरकी छोरीलाई जिवनान्त पवित्र-प्रेम गरेको छु।उनलाई पाउन हविगतको वशमा हुँदो हो म कैयौं झेल्न तयार छु।“
“सायद,तिमी भाग्यमानी रहेछौ,त्यसैले जिन्दगी बकस पायौ।यसलाई आफ्नो तकदीर सम्झिएर सम्हालिनु।“ तुडुङ्ग [कपाल छोप्ने सल] ले कपाल राम्ररी छोप्नु हुँदै सम्झाउनु भयो।
“तपाई तकदीरलाई मान्नु हुन्छ ? मेरो तकदीर भनेको हजुरकी छोरी र उनको दोजिया अवस्था हो।वश,यो जिन्दगी त स्वीकार मात्र हो।“ शिर झुकाएर भावावेग पोखें।
“तिमीहरुको प्रेमको खातिर अन्तिम पटक अल्लाहलाई मेरो तकदीरको मालिक सम्झेर अजमाउन चाहन्छु।तिमीहरुको तकदीरलाई मैले आफ्नो तकदीर ठानें।“ यतिबेला उहाको आँखा रसाई रहेको थियो।
“हरेक अभिभावकहरुको तकदीर भगवानको मर्जीमा हुन्छ अनि सन्तानहरुको तकदीर अभिभावकहरुको आशिर्वादमा हुन्छ।म भाग्यमानी हुनु पर्दछ,परदेशमा पनि हजुरलाई आमा बनाउने सौभाग्य पाएँ।“ उहाँको आत्मीयताले म भावुक हुँदै गएँ।
“मलाई अपशोच छ,तिमीहरुको सम्बन्ध अल्लाहको मर्जी थिएनछ,अनि तकदीरले पनि सार्थक बनाउन सकेन।एउटै दुर्भाग्यको नौमत काफी ठहरियो।आफूलाई कम्जोर नबनाउ,तिम्रो नासोलाई हिफाजत सम्हाली दिने म वाचा गर्छु।“ अप्ठ्यारो महशुस गर्नु हुँदै बोल्नु भयो।
              मेरो मन हड्बडायो,हतास हुँदै सोधें-
“के भो ? कस्तो नौमत हाम्रो निम्ति दुर्भाग्य हुने भयो।“
        मलाई केहीबेर नियाल्नु भएपछि विस्तारै पछाडि फर्कनु भयो,जहाँ ढोकाको संघारनेर उनि थिईन्।अघिदेखि हाम्रो संलाप सुनिरहेकी थिईन् क्यार ! मलाई पत्तै भएन।उनलाई भित्र पस्ने इशारा दिनु हुँदै आमा बाहिर जानु भयो।सरासर मेरो समिप आएर भकानिन्दै रुँन थालिन्।आलिंगन मार्दै सम्झाएँ-
“यसरी कम्जोर बनेर मलाई अझ लाचारी नबनाऊ,अब सबै ठीक हुन्छ।“
              उनि मौन रहिन्।केशराशी सम्हाली दिदै पुन: बोलें-
“अब यहाँ एक पल पनि बस्नु हुँदैन।जानु पर्छ जहाँ हाम्रो भविष्यले कुरिरहेको छ।बाँच्नका लागि यो दुनियाँ ठूलो छ,तर जिन्दगी गुजार्न कठिन छ त्यसलाई हामी दुवै मिलि झेलौला।मेरो देश-परिवेशमा यस्तो नौमत हामीले झेल्नु पर्ने छैन। मेरो भन्नु नै अब हामी दुबैको हो।त्यहाँ तिमीलाई शिकायतको कुनै मौका दिंदिन,यो मेरो सकार भो।“
                आँशु पुछ्दै मौनतालाई चिरेर भावुक मुद्रामा बोलिन् ।
“म तिमीलाई के भनि सहानुभूति दिउँ,अपशोच अब म तिम्री रहिन।जो पल हामीले गुजार्यौ त्यहि थियो यो जुनीभरिको लागि साथ।बाँकि जिउने जिन्दगी त मृत्युले दिएको इजाजत जीवन मात्र बन्ने भयो,जो अकार्थ छ,रै पनि सास रहुन्जेल जिउनै पर्छ।विकल्प मसंग थिएन,तिमीले नै कबूल गरेका थियौ मृत्युसिवाय कुनै पनि सम्झौता गर्नु पर्छ भनेर।मैले तिमी र तिम्रो नासोलाई बचाउन अमिनसंग बिहेको सम्झौता गरें।मलाई थाहा छैन,मैले अक्षम्य भुल गरें या हाम्रो मायालाई बचाएँ।बाँचेर मात्रै माया गरि जिन्दगी गुजार्नु पर्छ भनेको होईनौ ! मलाई माफ गरिदेऊ मैले यो कस्तो सम्झौता गरें !”
          म मौन रहें।मेरो चेहेरालाई मायालु नजरले नियाल्दै पुन: बोलिन्-
“हाम्रो भाग्यको लकीरमा यस्तै वेदान्त लेखिएको थिएछ।हाम्रो मर्जीले जिउन पाउने जिन्दगीमाथि यस्तो फैसला हुँदा पनि अल्लाहले मान्छेको इरादालाई बदल्न सक्नु भएन।सायद,हामी जस्तै वाध्य हुनु भएर बेइन्साफलाई स्विकार्नु भयो।हामी त मान्छे हौ,अभिमानलाई स्वाभिमान ठान्ने।यहि नीयतको जन्जिरमा बेरिन पुग्यौ।अब तिमीसंग मेरो वाचा भो- ‘ममा रहेको तिम्रो नासोलाई मर्लान्त अघि अवश्य तिमीलाई सुम्पिने छु।यदि अल्लाह हुनुहुन्छ भने मेरो पुकार सुनिदिनु हुनेछ।‘ तुडुङ्गले आँशु पुस्दै अन्तिम वाक्य बोलिन्- ‘मलाई थाहा छैन,सम्झौता गरेर तिमीलाई बचाएँ या आफूलाई।“
         यस्तो लाचारीपन ममा पहिलो र आखिरी पटक हुनु पर्दछ।मैले सम्बन्ध गाँसेर गुमाएँ अनि गुमाएर जीवन पाएँ।यसैलाई लेखा-जोखा गरेर मन-मष्तिस्कलाई सम्हालें।सायद,उनलाई प्रेम गरेवापत तिर्नु पर्ने हर्जाना यहि थिएछ क्यार ! आफूलाई लुटाएर नै दिएँ।धन कमाएर घरपरिवारलाई सुखको आभाष दिलाउने अभिप्रायले म विदेशिएको थिएँ ,बदलामा जिन्दगीभरिका लागि लम्लस्ट निम्त्याउन पुगें।मलाई थाहा छैन,यो हविगतले म सुपुत्र कहलिन्छु या कुपुत्र।पक्कै छोरा हुनुको कर्तव्य र जिम्मेवारीलाई मैले चुकाई सकेको छु।त्यसैले आफूमा नदारत पाईरहेको छु।मलाई कसैप्रति शिकायत छैन।वश आफैप्रति अपशोच छ।दुर्भाग्यशाली श्रीमान् अनि बच्चा देख्न नपाउने अभागि पिता बन्दै थिएँ।
         मेरो थर्थराई रहेको ओठहरुले उनको ललाटभरि अन्तिम पटक चुमेर बोलें-
“म भगवानलाई भन्दा ज्यादा तिम्रो भरोसा गर्छु।यदि मेरो वशमा हुँदो हो,हरेक परिस्थितिमा भगवानलाई सम्झिने मानसिकतालाई बदलेर तिमीलाई नै सहारा र भरोसाको खातिर पुकार्ने थिएँ।जो निर्णय गर्यौ त्यो हाम्रो भलाईको निम्ति गर्यौ।सायद,कसैले हामीलाई कायर ठान्लान् तर हामी लाचार छौ,किनकि हामीबाट जन्मन लागेको बच्चालाई यो दुनियाँमा आउन वञ्चित गराउनु हुँदैन।उसैको लागि हाम्रो जिन्दगी कुर्वान भो।अब तिम्रो प्रतिज्ञा मेरो निम्ति मर्लान्त प्रतिक्षा रहने भो।“
        हामीबीच गाँसिएको सम्बन्धलाई आत्मा मै सीमित राख्ने अठोट गर्यौ,अरण्यरोदनलाई जिन्दगी भर छुपाउने भयौ।ढोकाको संघार नाघ्न अघि अन्तिम पटक पलक फर्काएर आँशु झार्दै मबाट उनि ओझेल भईन्।मैले अश्रुधारा बगाउदै तराना हेरिरहें।मेरो हेराईको सतहले फर्किएर समय र परिस्थितिलाई ईंकित गर्दै विक्षिप्त भावमा भन्यो- ‘अब जिन्दगीको दुर्भाग्यमा जट्कीएर परिबन्दको चक्रव्यूहबाट निस्कनलाई यो भन्दा कहरदायी अर्को के बाँकि छ र ! गर्नु पर्ने ‘सम्झौता’

[द्रष्टव्य:- उपर्युक्त कथाको पात्र ‘सुहाङ्” संगको संलाप बाहेक अन्य संलापहरु मलायुइन्डोन भाषामा आधारीत हुन् ।] 

रचनाकाल:- ०१-०६-२००८
रचनास्थान:- पेराक,मलेसिया 

1 comment:

  1. सर,साँच्चै मािर्मक बनेकाे छ "सम्झाैता" कथा ।

    ReplyDelete