Sunday 4 May 2014

कथा:- "परिबन्द"

                “परिबन्द” 

“अरे तिमी पनि यहाँ?”
“अँ ,म पनि।“ उसलाई नियाल्दै भनें।
         अकस्मात् भेटलाई सामान्य पार्न समिप बस्ने इशारा दिएँ।उसको शारीरिक बनावट धेरै परिवर्तन भई सकेको रहेछ।ठ्याक्कै चिन्नका लागि मलाई एकछिन हाम्मे-हाम्मे पर्यो।धन्न स्वर बद्लीएको रहेनछ।मान्छेको मन-मस्तिष्क बदल्न केहि समय पनि पर्याप्त हुन्छ तर बदन बद्लिनलाई त धेरै समय लाग्नु पर्ने हो।जे होस् मेरो मानसिकतालाई उसको बद्लिसकेको स्वरुपले बदल्न वाध्य पार्यो।त्यो हष्टपुष्ट जीउडाल पाँच वर्षको अन्तरालमा यसरि खिएर ख्याउटे हुन्छ भन्ने हेक्का मलाई
लागेको थिएन।मलाई लाग्यो,,बदनमा भएको परिवर्तनसंगै मन-मस्तिष्क पनि बदलिएर उसको स्वरुपलाई अंकमाल गरिरहेको होला।नत्र किन यसरि आफ्नो गाउँ,घर-परिवारदेखि धेरै समय बेखबर रहन्थ्यो र ! ऊ बेखबर भएकोले म आउँने बेलामा उसको निम्ति खबर र पार्सल ल्याउन सकिन।
         एक साँझ यहाँ आउने प्रकिया मिलाउदै गरेको बखत उसकी आमाले कारुणिक भावमा भन्नु भएको थियो-
“हाम्रो चिन्ता नलिनु बरू बेलाबखत खबर भए पनि पठाउदै गर्नु,परदेशमा रहे पनि आफूलाई परदेशी नबनाउनु त्यो परदेश आफ्नो हुँदैन।“
       उहाँले भन्न खोज्नु भएको तात्पर्यले मेरो मगजमा प्रभाव पारेको थियो।यो सन्देशलाई म ऊसमक्ष कसरि जस्ताको त्यस्तै एकै लहरमा भनौं। यस सन्देशमा धेरै खबर र सुझावहरु छन्।उसलाई सविस्तार गरौ त, उमेरले म भन्दा जेठो फेरि यो परदेशको वातावरणसंग म भन्दा पहिले जानकार भई सकेको मान्छे। त्यसैले यस सवाल-जवाफलाई मनैमा थाँती राखेर ऊसंगको भेटलाई सहज बनाएँ।
“तिमीलाई चिन्न झन्डै समस्या परेको।त्यस्तो मान्छे यस्तो कसरि हुन पुग्यौ? धन्न स्वर चाहिं बद्लीएको रहेनछ।यो पनि बद्लीएको भए तिमी नै हौ भनेर पत्याउनलाई म इन्कार गर्ने थिएँ।अनि परिचित हुनलाई तिम्ले धेरै कोशिश गर्नु पर्ने थियो।“
“खै के भनुँ ! यो मलेसियाको वातावरणले सबैलाई कुनै न कुनै तवरले प्रभाव पारेर छोड्छ।अनि तिमी आएको चाहिं कति भो ?” वेटरले ल्याएको मेलो आईस् पिउन अघि बोल्यो।
“दुई वर्ष हुन लाग्यो।“ उसले जे भन्न चाहेको थियो,मैले हेक्का नराखी जवाफ दिएँ।
“गाउँ-घरमा सबैलाई ठीकै होला नि !” जिज्ञासु नजर लगाउदै सोध्यो।
“गाउँ-घरमा हुनु पर्ने परिवर्तनहरु भईरहेका छन्।बाँकि सबै ठीकै छन्।म यहाँ आउने बखतमा तुम्मासंग भेट हुन सकेन।तिम्रो यहाँको ठेगाना ल्याएको थिएँ तर त्यो ठाउँ धेरै टाढा रहेछ।फोन नम्बर हुँदो हो त सम्पर्क गर्न सजिलो हुने थियो।यसरि हाम्रो भेट हुन्छ भनेर कदापी सोचेको थिईन।संयोगवश भेट भो।“ ऊ बोल्न खोज्दै थियो,म पुन: कर्कश लवजमा बोल्न थालें- “किन यसरि बेखबर भएको ? पैसा नपठाए पनि बेलाबखत खबर त पठाउँदा हुन्थ्यो नि ! तीन वर्षदेखि लापता हुनु पर्ने त्यस्तो के वाध्यता पर्यो र ! तिमी आफै सोच त,तुम्माले घर-व्यवहार कसरि धानिरहनु भएको छ होला।धन्न अविवाहित छौ,तिम्रो आफ्नै परिवार भए के हालत भईसक्ने थियो,तिमी आफै अन्दाज लगाउन सक्छौ।“
      उसको चेहेरा केहि मलिन बन्न पुग्यो।मलाई अप्ठ्यारो महशुस भएता पनि गथासो पोख्न पाएकोमा मेरो मन केहि हलुको भए झैँ लाग्यो।मैले जे भनें उसले कसरि सम्झियो त्यो उसैलाई थाहा होला।खैर,जसले जसलाई जे सुझाव दिन्छ,उसले उसलाई समझदारीमा ल्याउन चाहन्छ।अब व्यावहारिक बन्ने या नबन्ने उसैको मानसिकतामा भर पर्छ।
“खै के भनु,तिमीलाई मेरो वृत्तान्त,मलाई पनि लाग्छ म धेरै बदली सकें।समय र परिस्थितिले मान्छेलाई कस्तो बनाउँछ कसैलाई थाहा हुँदैन,भोग्दै जाँदा बनिन्दै गईदो रहेछ।तीन वर्ष भो,इलिगल काम गर्दैछु।पहिलेको काम र कम्पनी ठीक लागेन,त्यसैले छोडें।धेरै ठाउँ लुकिछिपी काम गरें।त्यो दु:ख भनेर साध्य छैन।अहिले दुई वर्ष जति भो,यहि नजिकै फर्निचर कम्पनीमा काम गरिरहेको छु।“
        उसले आफ्नो केहि यथार्थ भन्यो।मलाई लागेको थियो,ऊ भड्किने छ तर सामान्य बन्यो।
“त्यसो भए आजकल पैसा कमाई सोचे जस्तो भई रहेको होला नि ! कहिले कहीं घरमा पठाउदै गर्नु ।कतै तिम्ले यतै घरजम गर्ने प्रबन्ध मिलाई सकेका त छैनौ ? खै-खै पाँच वर्ष बिताएको मान्छेलाई कुनै न कुनै उल्झनले पक्कै अल्झाएको चाहिं हुनु पर्छ।“ कर्के नजर लगाउँदै भनें।
“खै के भनुँ, पैसा र मबीच अझै तालमेल मिल्न सकेको छैन।जति कमाए पनि सोचे जस्तो गर्न नपाउदै कतिबेला तुरिन्छ थाहै हुँदैन।विचार गर्दैछु,केहि महिनापछि जति भएपनि घरमा पैसा पठाउनु पर्ला।“ भावुक मुद्रामा भन्यो।
         मलाई थाहा छ,यहाँ पैसा बचत गर्न गाह्रो छ।ठूलो पैसा, सिमित कमाई,वस्तुको खरिदारीमा तुलनात्मक तवरले महँगो।यता-उता सर-समान किन्दा-किन्दै महिना दिनको तलव कता हराउन पुग्छ पत्तै हुँदैन।रै पनि केहि पैसा त बचत हुन्छ नै।उसले यतिका वर्षसम्ममा केहि पैसा बचत गरेको हुनु पर्दछ या त सो पैसा बराबरको कुनै वस्तु।अचानक पहिलो पटक भेट भएर होला उसले आफ्नो बारेमा केहि बताउन चाहेको छैन।उसको वास्तविकता बुझ्नलाई नजर जुधाउदै सवाल गरें-
“यहाँको वातावरणमा यसरि रुझि रहनलाई कुनै न कुनै बहाना त चाहिन्छ नै ! खैर,तिम्रो व्यक्तिगत कुरा हो,रै पनि त्यस्तो कुनै मामिला छ भने थाहा दिए राम्रो,भोलि हुन सक्ने समस्यालाई समाधान गर्न सहज हुनेछ।“
“खै के भनुँ।“ शिर झुकाउदै मुख बंग्याएर ऊ बोल्यो।
         त्यो भेटले हामीबीच सम्पर्क बढायो।ऊ बोल्नमा माहिर भएकोले कहिल्यै उसको घरको अवश्था बारेमा भन्ने मौका पाईन।जव केहि भन्न खोज्थें उसले कुरा घुमाएर आफ्नो अन्दाजमा बोल्थ्यो।लाग्थ्यो उसलाई घर-परिवारबाट वितृष्णा जागिसकेको छ।थाहा छैन,मान्छे कुन नियतिको शिकार बन्दा आफूलाई परिवारबाट बेखबर बनाउँछ।उसले आफ्नो कोठामा आउनलाई बारम्बार अनुरोध गरिरहेकोले वाध्य भएर जानु पर्ने भो।सुनेको थिएँ ऊ स्त्रीलम्पट भईसकेको छ।यहाँ हुने सब भन्दा सजिलो उल्झन,अल्झेपछि त्यसलाई छुटाउन कतिसम्म हाम्मे पर्छ अब उसले भोगेर कसैलाई अर्थ्याउने भो।छुट्टीको दिन भएकोले मध्य दिनमा उसको कोठा गएँ।व्यवस्थित कोठा देखेर मलाई ताजुब लाग्यो।हामी जस्तो श्रमिकको लागि यति सुविधायुक्त कोठा उपलब्ध हुनलाई भाग्य आफैले कोर्नु पर्दछ।पक्कै ऊ मालिकको वफादार मनुवा होला अनि मुलाहिजा गरेबापतको यो विलासी इनामलाई लुटाई रहेछ।वार्तालाप गरिरहेका थियौ,हाम्रो लागि कफी र नास्ता एक युवतीले ल्याएर टेवलमा राखिन्। उसको बारेमा जे सुनेको थिएँ सत्य रहेछ।सायद,यहि रहस्योघाटन गर्न मलाई बोलाएको होकी भन्ने अनुमान लगाएँ।यतिसम्म वास्तविकता देखाएर पनि बताउन चाहेन।त्यसैले मैले नै सुरुवाती सवाल गरें-
“उनि को हुन् ? नोकर्नी हुन की अरु कोहि ?”
“खै,के भनुँ !” शिर झुकाउदै मुख बंग्याएर ऊ बोल्यो।
           म मौन रहें।मेरो मौनतालाई मौका ठान्दै ऊ पुन: बोल्यो-
“ मलाई थाहा छैन,तिमी नै भन उनलाई म के नाम दिउँ ?”
“तिम्ले घर-परिवारबाट लुकाएर राखेका छौ त्यसैले उनि ‘रखौटी’ हुन् ।फेरि यहाँ सबैको सामु राखेकाछौ त्यसैले तिम्री श्रीमती हुन् ।अब उनलाई के नाम दिन चाहन्छौ तिम्रो इरादामा भर पर्छ।“ नजर जुधाएर भनें।
         समय र जिन्दगीको उत्तर-चढावमा मान्छे कहाँबाट कहाँ पुग्छ भन्ने हेक्का भगवानलाई पनि थाहा हुँदैन होला।हामी त मान्छे हौ,जे भोग्दै जान्छौ,त्यसैलाई स्वीकार्दै जानु पर्दछ।होइन भने जिन्दगीलाई पूर्णविराम लगाएर थन्काउनु पर्छ।ऊ थोरै पनि हिच्किचाहट नराखी आफूलाई समय र जिन्दगी भन्दा एक कदम अगाडि हिडाई रहेकोछ।जसको परिणाम के हुन्छ,मैले अन्दाज लगाउन सकिन।जे होस्,उसले यहाँ कमाएको पैसालाई बचत गर्न नसकेता पनि सो मूल्य बराबरको वस्तु भने जगेडा गरिरहेको इङ्गित गरायो।
“सायद,उनि प्रेग्नेन्ट भएकी छे ?” कफी पिउन अघि सोधें।
“हो,सात महिना चलिरहेको छ।यो सत्य तिमीलाई थाहा दिन यहाँ बोलाएको हुँ।“ निन्याउरो अनुहार बनाएर भन्यो।
“अब के गर्छौ ?यहि घरजम गरेर बस्ने मनस्थिति बनाईसकेको हो ?’ अलिक नम्र हुँदै भनें- ‘घर फर्किन तिमी सक्छौ अनि जसोतसो भिजिटिंग भिषामा उनलाई पनि लान सक्छौ होला तर बच्चा जन्मेपछि साथै लैजान निकै समस्या पर्छ भन्ने सुनेको छु।यो तिमीहरुले के गरेको ? एकैछिनको मोजमस्तीमा यो अवस्थालाई निम्त्याउनु हुँदैन थियो।के तिमीले उनलाई श्रीमती स्विकारी सकेको हो ?”
“तिमी पनि ! संगै बस्दैमा श्रीमती नै हुनु पर्छ र ! यसरि त म धेरै जनाको पोई बनिसकेको छु।वास्तवमा यो बच्चा हाम्रो लागि होईन।मेरो बोस अपूतो हुनु भएकोले जन्मेपछि बच्चा सुम्पिने सर्तमा हामीसंगै बसेका हौ।अहिलेसम्म सबै खर्च बोसले नै बेहोरी रहनु भएको छ।मलाई आफ्नै छोरा जस्तो व्यवहार गर्नु भएकोले यसो गर्न मानेको हुँ।उहाँहरुले मेरो लागि धेरै गरेका छन्,त्यसको बदलामा यो भन्दा उपयुक्त अर्को केहि हुनै सक्दैन।फेरि यो भन्दा ठूलो मानव धर्म अरु के हुन सक्छ ?” अपसोच नजताई गर्वका साथ बोल्यो।
        जहाँसम्म मलाई लाग्छ,ऊ समझदार मान्छे पक्कै थिएन।सायद,नियतिको झटारोले उसलाई मज्जाले लागेको हुनु पर्दछ।नत्र निखट्ट मान्छे यतिसम्मको त्याग र आदर्शको भुमरीमा नफस्नु पर्ने हो।कति सजिलै महान् कहलिन तम्तयार भई रहेको छ।मानौ वफादारीको दसी जुटाउनलाई आफ्नो ज्यान समेत कुर्वान गर्न हिच्किच्याउने छैन।मेरो मथिंगलले केहि सोच्नै भ्याएन।निकैबेरको आफनै मौनतालाई चिरफार गरेर भनें-
“तिमीले छोरा मान्छे वेश्या हुन्छ भनेर कहिल्यै सुनेको,देखेको छौ ? यदि छैन भने आफूलाई एक पटक राम्ररी नियाल।वेश्यालयमा जाने छोरामान्छेलाई वेश्या ठान्ने हाम्रो मानसिकता छैन तर तिम्रो जस्तो व्यवहार गर्नेलाई पक्कै पनि कुनै नाम होला।मैले सुनेको थिएँ श्रीमती बन्ध्या भएमा बच्चा हासिल गर्नलाई ‘सरोगेट मदर’ (जसको विर्यबाट जन्माईएको हो उसैलाई बच्चा सुम्पने आमा) राख्ने गर्छन भनेर,बरू यसलाई म मानव धर्म मान्न सक्छु तर तिमीहरुको हर्कत कदापि धर्म हुन सक्दैन।तिमीहरुलाई जन्मिने बच्चाको अलिकति पनि दया,माया लाग्दैन ?“
“यसलाई म पाप पनि ठान्दिन।मैले के गर्न आँटेको हुँ त्यसलाई गम्भीर भएर सोच्न पनि चाहन्न।तिमीले देखेकै होला,यहाँ बिहे गरेर बस्न कति समस्या छ।फेरि उनि इन्डोनेसियाकी म जस्तै इलिगल मान्छे।घर लगेर पनि कसरि जिन्दगी बिताउनु ? बच्चा सुम्पिने सर्तमा उनि पनि राजी छे,काम तमाम भएपछि हाम्रो सम्बन्ध पनि खतम हुनेछ।बोसले उनलाई केहि पैसा दिनु हुनेछ,त्यसपछि उनि आफ्नो बाटो म आफ्नो बाटो।यहाँ हामी सबै जना कुनै पनि तवरले पैसा कमाउन आएका हौ।हेर्दै जाउँ समयले कतातिर हत्याउने छ।विन्ती छ,यो कुरा कुनै पनि हालतमा कसैलाई नभन हैं !”
“धिक्कार छ,तिम्रो जिन्दगीलाई।भोलि गएर कदाचित् तिम्रो बच्चाले यो सत्य थाहा पाएर भेट्न आयो भने तिमी के जवाफ दिन्छौ ? कहिलेकाहीं मान्छेले भगवानसँग होईन आफैसंग पनि डराउनु पर्छ।फेरि मसंग किन विन्ती बिसाउँछौ ,बरु तिमीलाई मेरो विन्ती छ ! यो कुरा आईन्दा अरु कसैलाई नभन।किनकि यो सत्यले समाजमा नराम्रो प्रभाव पार्नेछ।‘ ऊसँग नजर जुधाउँदै पुन:भने- ‘अँह,तिम्रो यो हर्कतले तिमीलाई दुश्चरित्रको मान्छेसिवाय अर्को सोच्नै सकिन।“
        ऊप्रति आवेग पोखें।मबाट सल्लाह,सहयोग र दिलासा चाहन्छ तर उसलाई भक्कु कटु वचन पोख्नु मुनासिब लाग्यो।सम्बन्धको ख्याल नगरी नानाभाँती भनि दिएँ।उसको कोठामा उसैलाई गालीगलौज गर्दा ममाथि हातपात गर्छ कि भनि डर पनि लाग्यो,धन्न केहि गरेन।उसको अनुहार पूर्ण रुपले हबुल्लो भयो। मेरो असहमतीको प्रभावमा परेर कुनै दिन अपसोच मानी दुष्कर्मको निर्णयलाई बदल्दै सत्कर्म गर्छ कि भनि आफ्नै मनलाई ढाडस दिएँ।
        समय र परिस्थितिको सञ्जालमा बेरिएपछि मान्छेले हरेक कदमहरुलाई स्विकार्नु पर्ने वाध्यता सिलसिलेवार भएर आउने गर्छ।जसलाई कतै पन्साएर आफ्नो अनुकूल समायोजन गरि जिन्दगीलाई सही दिशामा डोर्याउन धौधौ पर्छ।जसले निराकरण गरेर आफ्नो हिसाबमा जिन्दगीलाई गुजारा गर्छ उसले जिउन जानेको हुन्छ।लाचार सम्झिएर आफूलाई अरुको निर्देशनमा होमाउनु मान्छेको नाममा अपमानीत जिन्दगीसिवाय अर्को के हुन सक्छ र ! उसले आफ्नो तन,मन,विवेक सबै आफ्नो बोसलाई सुम्पिएर वफादारीको दसी जुटाउदै जिउने ढर्रालाई स्वीकारेको देख्दा मलाई आफू मान्छे हुनुमा लज्जा लागेर आयो।विरानो देशमा उसलाई वैधानिक-अवैधानिक झन्झटबाट बचाउदै सदैव सहारा दिई रहने बोसप्रति ऊ पक्कै ऋणी बन्नु पर्दछ तर बदलामा हुन लागेको मूल्य चुकाउनु पर्छ भने मानवताको सम्बन्धमा अब प्रश्नवाचक चिन्ह खडा बनेर अवश्य दुनियाँलाई अनर्थ पार्नेछ।
        ऊसँग सम्पर्क नभएको धेरै समय भई सकेको थियो।बेखबर हुन चाहेकोले उसको लम्लस्ट जिन्दगीको खबर मलाई थिएन।कम्पनीको कामले व्यस्त भएकोले कतै जाने फुर्सद पनि मिलेन।अबेर रातसम्मको कामले लखनतरान भई भुसुक्कै निदाई रहेको थिएँ।मोबाईलको घन्टी अघिदेखि बजिरहेको थिएछ,रिसिभ गर्दा तीन मिस्ड कल भई सकेको थियो।उसको फोन थियो,केहि खुशी भावमा बोल्यो-
‘बधाई छ,तिमी काका बन्यौ।तिम्रो भतिजलाई हेर्न आउने होला नि ! फतिमा हस्पिटल,ईपो।“
       निन्द्राको आलस्यपनलाई झट्कारेर सामान्य बनें।उसको बधाई अर्पणलाई सहर्ष स्वीकार्न सकिन।ऊ पिता भएकोमा खुशी भाव दर्शाउदै बधाई दिन हिच्किचाएं।असली पिता बनेर पनि थोरै समयको लागि उपाधि ग्रहण गर्ने यो दुनियाँको सायद ऊ पहिलो पिता होला।जिम्मेवारीलाई खेलाची सम्झिएर कति सजिलै पन्सिन खोजेको देख्दा मलाई ताजुब लागिरहेको छ।औपचारिकता जताउनलाई भनें-
“बधाई छ तिमीलाई,कम्तिमा थोरै समयको लागि भएपनि कसैको पिता कहलिने सौभाग्य पायौ।“
“सुन त,छोरा काँटीकुँटि म जस्तै छ।पर्सि यहाँबाट हामी डिस्चार्ज हुँदैछौ।समय मिलाएर चाडै भेट्न आउँछौ होला नि ! फेरि भतिजको अनुहार हेर्ने मौका दिएन भनेर गुनासो चाहीं नगर है !”
“यदि हस्पिटलको वर्थ सर्टिफिकेटमा तिमी पिता हौ भनेर उल्लेख छैन भने शंकै छ,नत्र तिम्रो खुनले कसैबाट सापटी लिएर तिम्रो नाममा त्यो छोरा नजन्मिनु पर्ने हो।तिम्रै हो,त्यसैले तिमी जस्तै हुनु पर्छ।“ हल्का ठट्टा गर्दै भनें।
       म उसलाई किन गुनासो गर्नु,गुनासो त उसले आफ्नै परिस्थितिसँग गर्नु उचित हुन्छ।आदर्शको स्वांगमा ऊ खडारस बनिरहेको उसलाई नै पत्तो छैन क्यार ! फेरि कसैले औल्याई दिएर ठहर्याउदा पनि मान्छे किन हठी बन्छ ? मैले यो रहस्यलाई बुझ्न सकेको छैन।मेरो नजरमा अपर्झट समझदार र वफादार बनेको मान्छे त्यो पनि कसैको निम्ति।यस्तो मान्छेलाई आफ्नै लागि वफादार बन्ने कहिले बुद्धि पलाउँला ? ऊ बद्लीएको मान्छे,पहिले जस्तो बकम्फुस छैन तर आदर्श र वफादारको रौरब जिन्दगीतर्फ धकलिन्दै गएको उसलाई महशुससम्म छैन।त्यो दलदलबाट निकाल्न नसकेकोमा म आफैलाई खेद लागिरहेको छ।
      महिना दिन बित्न लाग्दा पनि उसलाई भेट्ने फुर्सद मिलेको थिएन।उसले बारम्बार बोलाउँदा आनाकानी गरिरहेको थिएँ।केहि दिनपछि ऊ घर फर्किन्छु भनेकोले भेट्नलाई वाध्य भएँ।उसलाई अन्तिम पटक सम्झाएर बच्चा हस्तान्तरण नगर्न सल्लाह दिन मन लाग्यो।होईन भने मैले नै बच्चाको निम्ति केहि सोच्नु पर्छ,आफैलाई ढाडस दिंदै उसको होस्टल गएँ।ऊ कोठामा एक्लै थियो।त्यो रबाफी कोठामा केहि कमि भएको महशुस गरें।भाउजु र भतिजलाई नदेखेकोले उनीहरुको बारेमा सोधें।उसले आफ्नै स्वभावमा भन्यो-
“त्यसलाई पहिल्यै सम्झाएको हो,अहिले आएर बच्चा सुम्पिन नमानेकीले उनलाई बोसले घर फर्काई दिई सक्नु भयो।बच्चा लिएर कतै भागौ भन्दै थिई,मैले मानिन।पछि एक्लै बच्चा लिएर भाग्न खोज्दै थिई मैले थाहा पाएर पक्रिएँ ।झन्डै त्यसले अप्ठ्यारोमा पारेकी ! रिस उठेकोले दिएँ दुई-चार झापड त्यसको गालामा।अब म पनि यहाँ बस्नु उचित छैन,त्यसैले घर फर्किंदै छु।जसोतसो आफ्नै गाउँघरमा बस्नेछु।“
        अब उसलाई सम्झाउने आवश्यकता ठानिन,साथै ऊप्रति मेरो शिकायत पनि रहेन।उसले जे निर्णय गरेको थियो,त्यहि गर्यो।अपसोच जताई दिएर आफै दु:खित हुने ममा सहस भएन ।सम्झाएर नराम्रो बन्नु भन्दा मौन रहेर उसको कुकर्मलाई नियाल्नु नै मुनासिब लाग्यो।उसको चेहेरालाई नियाल्दै भनें-
“कुनै पनि आमाले आफ्नो बच्चा कसैलाई सुम्पिने दुष्कर्म गर्न सक्दिनन्।जे गर्न खोजेकी थिईन् म त्यस साहसलाई सलाम गर्छु।उनि जे भएता पनि कम्तिमा कलंकित आमा हुनबाट आफूलाई बचाईन्।“
                 पहिलो पटक मेरो सामु भावुक मुद्रामा ऊ बोल्यो-
“मलाई थाहा छ,उनीसंग म दाँजिन लायक छैन।तिम्लाई लागेको यो दुष्कर्मको भागिदारीबाट साँचै नै उनि मुक्त भएर गईन्।अब म चाहेर पनि उन्मुक्त हुन सक्दिन र चाहन्न पनि।“
          झ्यालबाहिर क्षितिजतिर केहि देख्नलाई प्रतिक्षारत नजर लगाउदै ऊ पुन: बोल्यो-
“तिमी नै भन,हामी भागेर कहाँ जाने ? अनि कहिलेसम्म भागिरहने ? समय र परिस्थितिको कटपुतली बनेपछि सहज हुनलाई अलिकति भएपनि आफू अनुकूल हरेक अवश्थालाई स्वीकार्न सक्नु पर्छ।सत्य छ,प्रत्येक मान्छेले सब भन्दा पहिले आफैलाई बचाउन चाहन्छ।यो नै उसको धर्म पनि हो,यसलाई स्वार्थ भन्न मिल्दैन किनकि बाँचेर मात्र बचाउन सकिन्छ।“
        उसको कुराले म नि:स्तब्ध भएँ।भाव विह्वल भएर उसको पछिल्तिरको पूर्ण बदनलाई नियालें।मैले हेक्का नराखेको यो पछिल्तिरको आधा मान्छेले यतिबेला मलाई भावनात्मक रौदालोमा पारिरहेको छ।उसको अघिल्तिरको मान्छे हुनुको वास्तविक रुपलाई मैले तथानाम भनिसकेको छु।ऊप्रतिको सहानुभूतिले मलाई निथार्दै लग्यो र कोठामा सन्नाटा छायो।बच्चा रुएको आवाजसंगै म झस्किएँ।उसले बच्चा लिएर मेरो काखमा राख्दै नम्र भावमा भन्यो-
“लौ हेर !तिम्रो हुन नसकेको अभागी भतिजलाई अनि लाचार उसको यो पितालाई।“
         दुवैलाई अन्त:करणबाट नियालेर म एकदम निहिर बनें।ऊ पिता बनेर जिम्मेवारी निभाउन नसकिरहेको बखत,म झन् कसरि बच्चालाई आफूसंगै लैजाउँ ? मेरो मन-मस्तिष्कले केहि पनि निराकरण गर्न सकेन।त्यसैले यी अनियन्त्रीत भावनालाई समायोजन गर्दै उसलाई एक पुलुक्क हेरेर बच्चालाई सुम्सुमाएँ।अकाट्य सम्बन्ध नै तोडिने भएपछि यी नाबालकलाई सम्बन्ध भन्दा मूल्यवान उपहार अर्को के नै दिन सक्थें र ! खैर,त्यो पनि भाग्यमा रहेन।वश,यो सुनौलो संसारमा आगमन भएको उपलक्ष्यमा खुशी मिश्रित अमूल्य आँसुका थोपाहरुलाई कलिलो बदनमा झारी दिएर रुझाई दिएँ।
पेराक,मलेसिया 
१५-०९-२००८ 

No comments:

Post a Comment