Sunday 31 August 2014

कविता:- अस्तित्व // पुकार

“अस्तित्व"

तिम्रो भाषा बोल्न लगायौ
मैंले बोलें
तिम्रो संस्कार अँगाल्न लगायौ
मैंले अँगाले
तिमीले आफु जस्तो बनाउन
जे-जे मलाई अख्तियार गर्यौ
सबै-सबै स्वीकारें
मानौ कि तिम्रो निम्ति बनेको A4 कागज हुँ
जसमा जे मुद्रण गर्छौ
दुरुस्तै भई दिन्छु/भई रहेकोछु
मलाई थाहा छ
कहिले जवर्जस्ती,कहिले छलकपटमा

कहिले कहिँ त मेरो चाप्लुसी गर्दै
छपाई रह्यौ मलाई

फलस्वरूप
म फुर्किन्दै,लुटिन्दै
तिमी सकल हुनुको प्रमाणलाई
म नकल बनिदिएर
शताब्दीदेखि तिम्रो अस्तित्वलाई स्विकारी रहेकोछु
यसर्थ
साँचै नै तिम्रो फोटोकपि हुँ
ममा जे पनि छपाउन सक्छौ
र छपाई रहेकाछौ

तर कहिलेसम्म ?

यतिबेला म देखी रहेकोछु
म जस्तै कागजहरु
तिम्रो छापहरुलाई मेटेर
कोरा कागज भई तमसुक बनिरहेका छन्
जो तमसुकमा तिम्रो औठा छाप दलाएर
तिमीबाट स्वतन्त्र हुन चाहन्छन्
अत: गोलबद्ध भईरहेका छन्
म अलिक पर्तिर बसेर नियाली रहेको छु
मेरो डफ्फाहरुलाई अनि तिमीसंगको मुद्धाहरुलाई
यी सबै-सबै व्यर्थ हुँदै होईन
मैले धेरै पटक महशुस गरिसकेको छु
तिमी तिमी नै हौ
म म नै हुँ
हाम्रो दैदस्तुर पटक्कै मिल्दैन
वस्तुतः म हुँदै होईन -तिमी

तिमी हुँदै होईनौ -म

तिमीलाई थाहा छ ?

आज म जस्तै कागजले
कागजी भाषामा सवाल गर्दा रौदालोमा परें
त्यहि कागजको अविच्छेद भएर पनि
तत्काल तिम्रो भाषामा प्रतिसवाल गरें
जो ममा निहित छ
जसको जवाफमा केहि आउँदै आएन
वश,आयो त ! एक महशुस
तिम्रो फोटोकपि बनी दिंदाको
म कमसल कागजलाई
अस्तित्वको आत्मग्लानी।
१६-१२-२०१२
####  ****  ###  *****   ###

    "पुकार"

म सदैव प्रार्थना गरिरहन्छु
जहाँ जो छन् उसैलाई
आत्माको आवाज जसले सुन्छ
आत्माको भाषा जसले बुझ्छ

उसैलाई
म पुकारी रहेको हुन्छु
जसले तिमीलाई लिएर गएकोछ
उसले हरेक कदमहरुमा
उसले वैतरणी तार्नमा
साथ दियो या दिएन ?
जहाँ पुग्नु पर्थ्यो तिमी,त्यहाँ पुग्यौ कि पुगेनौ ?
म,आफै यहाँ
हमेशा अपशोचको दायरामा बेरिएर
आफूलाई किंकर्तव्यविमूढमा पारिरहेको हुन्छु
तिम्रै निम्ति

मलाई थाहा छ
सम्बन्ध र समय जहिल्यै कम्जोर धागोले बाँधिएको हुन्छ
त्यसैले जोडिन्छ/फुस्किन्छ
त्यसैले बनिन्छ/भत्किन्छ
त्यसैले बाँधिन्छ/चुडिन्छ
कथन कदाचित्
मेरो प्रार्थना र अपशोचको पुकार
जसले सुन्नु पर्ने हो
जसको भावना र निर्णय बदल्नु पर्ने हो
म आफूलाई दाउमा राखेर बदल्न वाध्य गराउने थिएँ

विडम्बना ,यहाँबाट
मिलाउनु पर्ने के नै मिल्छ र !
पाउनु पर्ने के नै पाईन्छ र !
किनकि जिन्दगी प्राय: अमिल्दो हुन्छ
जिन्दगी प्राय: असोचनीय हुन्छ
जिन्दगी प्राय:अथाह हुन्छ
जिउनु नै भ्रम जस्तो
जिउनु नै बेमतलव जस्तो
दुर्भाग्य ,जिन्दगी जिउनै पर्छ
यसैको आसपासमा जिएको जिन्दगी
कप्ठेरोबाट जतन गर्दा गर्दै पनि
सदाको निम्ति तवाह हुने यो जिन्दगीलाई बुझेको छु
यो सम्बन्ध र समयलाई बुझेको छु

खैर !
आफूलाई बुझाएको छु
आफूलाई सम्हालेको छु
आफूलाई सुम्पिएको छु
वस्
तिम्रै निम्ति।

रचनाकाल:- १३-१०-२००८
           [ २७-०६-२०६० ति एक दशक अघिको सम्झनामा]

No comments:

Post a Comment