Monday 31 March 2014

कविता:- हुँ // पौठाजोरी

  “हुँ” 

म भूत हुँ
लु जा मैले नै स्वीकारें
म भूत हुँ
तर कब्रस्थानको आत्मा/भूत पटक्कै होईन
तिमी /मान्छेको बस्तीबाट [जो मेरो पनि थियो ]
अस्तिदेखि उचाल्दै-थेचार्दै गरेर हत्याई दियौ
फलस्वरूप
निस्सासिएर/बिच्किएर दिउसै देखा पर्न वाध्य भएको
स-शरीर भूत हुँ र हुँहरुको जमात पनि भूत हुन्
म [हामी] भूतहरुलाई देखेर हाँस्दै हौला या तर्सिंदै हौला
अझ भनौ मनमनै हात लोपार्दै हौला

अनि कहिले कहीं हाम्रो [भूतको] तमासा हुँदा
तिम्रो बस्तीमा भुईचालो जाँदो हो
र डराउदै पनि हौला

उफ् ...
अब डराउ या नडराउ या जे-जे गर
म मेरो घरमा/मेरो बस्तीमा
तमासा गरेरै म [मान्छे] बनेर देखा पर्नेछु
मलाई पन्साउन कुनै मन्त्रले सक्ने छैन
जतासुकै भाकल गर अनि बलि नै चढाउ
निष्फल निष्फल हुने छन्
यता बस्तितिरकालाई चढायौ भने
पक्का तथास्तु हुने छैन
ति सबै भूतहरुका भूत हुन्।

अर्को कुरा
जसरी रातको भूतलाई
अन्डा-अछेताले मन्साई पठाउछौ
जसरी रातको भूतलाई
चल्ला-कुखुरा दे’र फकाई पठाउछौ
ति भूतहरु तिम्ले दे’को यी सबै-सबैलाई
तोङ्बा,निगार र रक्सीको घुट्कीसंग खाएर/मातेर बिलाई जान्छन्
तर म [हुँहरुको जमात ]
त्यो किसिमको भूत हुँदै होईन
यति हो
ति भूतहरुसंग डि .एन.ए. मिल्छ।

रचनाकाल:- ०३-०७-२०१३
पेराक,मलेसिया
***   ####   *****   ####

"पौठाजोरी"

मलाई छल्दै
मलाई बेमतलब गर्दै
मलाई हलम्बू सम्झंदै
आफ्नै मनमानिमा
कावा खाने हुचिलले
खुत्याउन केहि सकेन
खैर
सक्यो त आखिर
मलाई छल्न
मलाई बेमतलब गर्न
मलाई हलम्बू सम्झन
आफ्नै मनमानिमा
कावा खाने हुचिलले
कुहिरोमा रुमलिन बाहेक
खुत्याउन केहि सकेन
मानौ
यो बदमाश मन

अब
पाखुरी सुर्केर
यसलाई पिंजडामा थुनेर
म उड्नेछु
मैले पहिचान गरिसकेको
त्यो जूनको समिप
अनि भन्नेछु हुचिललाई
देखिस्-
"तेरो लहैलहैमा
रहेको नि:सारपनलाई
पांग्रा उछिटिन्दै गएको
मेरो जीवन रथलाई
मैले एकै झड्कामा
मर्मत गरिदिएँ"

हेर्दै जा/ भोग्दै जा
मेरो खास भएर पनि
मेरै विरुद्धमा नस्तर दिने
मलाई इशारामा नचाउने
मलाई नालायक बनाउने
मलाई नामर्द बनाउन खोज्ने
बदमाश
बदमाश मन ..!

०७-०७-२०१२ 

No comments:

Post a Comment