Wednesday 21 May 2014

लघुकथा:- नि:सार // दैदस्तुर

   [लघुकथा]         “नि:सार”

         क्याम्पस मोडमा आमासंगै बदाम बेचेर गुजारा चलाई रहेकी नौ वर्षीय ईतुषाले आउने-जाने सबैको हाउभाउलाई खुब नियाल्ने गर्थी।केटाहरुले अनेक किसिमबाट केटीहरुलाई जिस्काएको पटक्कै मन पराउदिन थिई।ति केटीहरु रिसाउनु भन्दा रमाइलो मानेर ठट्टा गरेको देख्दा उनि अचम्मै मान्ने गर्थी।एकदिन एक जमात आएर आपसमा बदामले हानाहान गर्दै हाँसी-मजाग गरेकोले ईतुषाको चित्त बुझेन।तिनीहरु गएपछि आमालाई भनिन्-
“आमा..! यी ठुल-ठुला दिदी र दाजुहरु किन यसरी जिस्किएका हुन्? म भए ति दाजुहरूलाई बदामले होईन ढुंगाले हान्ने थिएँ।“
        अबोध छोरीको आशयलाई बुझेर मुस्कुराउदै आमाले सम्झाउनु भयो –
“बैंसमा सबै यस्तै हुन्छन्।तेरो बैंस आएपछि तँलाई पनि यी कुराहरु राम्रो लाग्नेछ।“
“मेरो पनि बैंस आउँछ ?आउने बेलामा मलाई भन्नु नि !” शुष्क मुहारमा जिज्ञासा र कौतुहलतालाई मिश्रण गरेर ईतुषा बोलिन्।

“जव तँ ठुली हुँदा सुन्दरी देखिन्छस्,त्यतिबेला यसरी नै केटाहरुले जिस्काउने छन् अनि बैंस थाहा पाउछस्।“ अट्टहासमा जवाफ दिनु भयो।
       ईतुषा सोचमग्न हुँदै आफूलाई ठुली भएकी सम्झिन्।क्याम्पसका ति दिदीहरुसंग आफूलाई दाँज्न थाली।राम्रा-राम्रा लुगा,सफासुग्घर अनुहार,सर्लक्कै लत्रिएको कपाल,हातमा किताब र कापी बोकेर यहि क्याम्पस भित्र प्रवेश गरिन्।उनलाई केटाहरुले जति नै जिस्काए पनि पटक्कै रिस उठेको छैन बरु रमाइलो अनुभूत गरि रहेकी छे।क्षण भरमै झस्किएर आफ्नो वास्तविकतालाई नियाल्न थाली।फाटेको कुर्ता,मैलो-धैलो फ्रक,लट्ठा परेको कपाल,दुवै गलामा सिगानका पाप्राहरु जसलाई बालमनोभावले सुन्दरतासंग किञ्चित पनि सादृश्य गर्न सकिनन्। यसर्थ ईतुषा त्यहि निर्णयमा पुगिन् जुन हरेक पटक उनका दमाल केटाहरुले गिज्याउदा रुन्थी या ढुंगाले हान्ने गर्थी।
        मन अमिलो पार्दै ईतुषा बोलिन्- “आमा ! मेरो बैंस आउदैन है !मलाई हेर्नुहोस्न,ति दिदीहरु जस्ती म छँदै छैन।“
३०-०८-२०१३

#####  ******    #####

               “दैदस्तुर”

“मागे जति रकम दिन तयार हुनुहुन्छ भने तपाईकी छोरीसँग मेरो छोराको विहे गराउन राजी हुनेछु।‘ मोटो रकमको प्रस्ताव राख्दै रामवरण ठाकुर बोल्यो।परम्परा अनुसार केटि पक्षसंग पैसाको माग राख्न मिल्ने भएकोले यो अवसरमा पाँच वर्ष अघि विदेश जाँदा बन्धकीमा परेको जमीन उकास्न चाहन्छ।साथै साइकल,टि.भी,फर्निचर इत्यादि खरिद गर्ने सोच बनाएकोले आवश्यक रकममा जोड-घटाउ गरेर नै माग गरेको हो।
“हजुर,यति धेरै रकम एकै पटक प्रबन्ध गर्न मुश्किल पर्छ।विहे अघि आधा र विहे पछि पुरा रकम दिन तयार छु।“ शिर झुकाउदै महन्त ठाकुरले बिन्ति बिसायो।छोरीको विहेको लागि जुटाएको रकम भन्दा दोब्बर माग भएकोले चिन्तित देखिन्थ्यो।
“बरु विहे सम्पन्न हुने वचन दिनेछु तर जवसम्म एक मुष्ट रकम हुँदैन तवसम्मलाई विहेको मिति थाँती राखौ।रकम पुरा दिनु भएपछि संगै बसेर विहेको शुभ मुहूर्त तोक्नु पर्छ।“ विहेपछि बाँकि रकम असुल्न समस्या हुने भएकोले आफ्नो मागमा अडिग रहँदै रामवरण ठाकुरले प्रस्ताव दोहोर्यायो।
“रकमको प्रबन्ध गरेपछि हजुरसँग सम्पर्क गर्ने छु तर जानकारी बिना अन्त विहे गर्न पाउनु हुने छैन।“ छोरीको निम्ति पहिलो पटक रोजेको कुटुम्बले माग गरे जति रकम दिन नसके समाजमा प्रतिष्ठा घट्ने निश्चित ठानी महन्त ठाकुर सोहि रकममा सहमति हुन वाध्य भयो।
        केहि महिनापछि एक मुष्ट रकम बुझिलिएकोले रामवरण ठाकुर आफ्नो छोराको विहे गर्न राजी भयो।प्राप्त रकमले पूर्व योजनाहरुलाई साकार गर्यो।आज छोराको विहेमा मोटो रकम लिएर पनि साधारण खर्च गरिरहेकोमा हर्षित देखिन्छ।यति बेला ऊ मगन भई एक छेऊमा बसेर अघिल्तिर कम्मर मर्काई-मर्काई नाचिरहेकी आफ्नी दुई नाबालिका छोरीलाई हौसला दिंदै ताली बजाई रहेकाछन्।
०६-०१-२०१३

No comments:

Post a Comment