Saturday 10 August 2013

गजल:- मेरो मन // याद गर्दा // यो तिम्रो

५) गजल 

मेरो मन दु:खाउने,तिम्रो मनलाई माफ दिएँ
आँखालाई रुवाउने,तिम्रो मनलाई माफ दिएँ

सिलसिला जो प्रेमको,टुटायौ आज विना कसूर 
साथ हाम्रो छुटाउने,तिम्रो मनलाई माफ दिएँ



आएर बस्यौ दिलमा,गएर दु:खायौ दिललाई 
वाचा गरि भुलाउने,तिम्रो मनलाई माफ दिएँ

झरेका यी आँशुदेखी,शिकायत मेरो ठान्छौ तिमी 
आँशुसरि डुबाउने,तिम्रो मनलाई माफ दिएँ

कैले कहीं भेट हुँदा,शिर झुकाई प्रायश्चित गर्छौ 
सामू पर्दा झुकाउने,तिम्रो मनलाई माफ दिएँ  


६) गजल


याद गर्दा यादै भरि,तिमी नै खास हुन्छौ 
पराईसंग गए पनि,मेरै आभास हुन्छौ

न रोएर न धोएर,जान्छ मनको दर्द 
भूल सम्झी भुल्न खोज्दा,हुरी बतास हुन्छौ

त्यो मनबाट यो मन,फिर्ता हुने कहिले 
सजाय हो या आधार,आखिरी श्वास हुन्छौ

तिम्रो मेरो भन्नु अब,सम्बन्ध नै के रह्यो 
म फकीर तिमी उता,जिउँदो लाश हुन्छौ    

७) गजल
यो तिम्रो बहाना हो या,माया नै इन्कार हो 
मेरो त्याग समर्पण,तिम्रो हावादार हो

ठीक नै बेठीक हुन्छ,जव सामुन्ने पर्छौ 
यो कुनै परीक्षा हो या,तिम्रो अख्तियार हो

तर्नु छ मैले जंघार,साथमा या यादमा 
जहाँ छौ त्यो किनार हो,या त माझधार हो

द्वुविधामा हामी दुवै,गन्तव्य कहाँ चुनौ 
इशारा अनि नखरा,ममा अत्याचार हो  

[प्रयुक्त गजलहरु अनाम मण्डली मलेसियाद्वारा प्रकाशित संयुक्त गजलसंग्रह "समुद्र दन्केपछि" २०१३ मा समावेश भई सकेको छ ] 

No comments:

Post a Comment