Monday 1 April 2013

मलेसिया: घटना र सूचना संयन्त्र


  मलेसिया: घटना र सूचना संयन्त्र 

    मलेसियाको जोहोरबारु राज्यस्थित पासिरगुडाङमा गत साँझ आइतवार [२४ मार्च २०१३]मा भएको झडपका बारेमा अनेकानेक हल्ला,अड्कलबाजीहरु संगै सत्य-तथ्यहरु घुलमिलेर हराउन खोजिरहेको छया भनौ सत्य-तथ्यहरु संगै हल्ला-अड्कलबाजीहरु घुलमिलेर हराउन खोजिरहेको छ यसो हुनु नितान्त दु:खद पक्ष हो एक दर्दनाक घटनाकाण्ड यसरि मोडिएर सबै सामू सवाल,रहस्य र
निष्कर्षविहिन हुँदै जानु भविष्यको लागि पक्कै पनि राम्रो लक्षण चाहिं हुँदै होईनर पनि आशा गरौ चाँडै नै उच्च स्तरीय छानविन आयोग गठन भई घटनाको सत्य-तथ्य विवरण सम्पूर्ण नेपालीहरुलाई चित्त बुझ्दो गरि आउनेछ/आओस्साथै दोषीहरुलाई कडा-भन्दा-कडा कानूनी सजाय होस्
      घटना भएको आज आठौ दिनसम्ममा फेसबूक र मलेसिया लगायत विभिन्न देशमा रहनु भएका नेपालीहरुबीच घटनाको विषय र त्यसको विवरणहरु असोचनीय,अकल्पनीय गरि फैलिरहेको छजसले नेपालीहरुमा संयमता भन्दा उत्तेजनकता पैदा गर्नमा सघाउ पुगी रहेको छ;यसो हुनु कसैको लागि पनि हितकार हुने छैनउक्त घटनाको फोटो भनि कतिपय अन्तै घटनाको फोटोहरुलाई तोडमोड[कम्प्युटराइज्ड] गरि भड्कावको उद्धेश्यले फैलाएको जस्तो पनि देख्नमा आएको छवर्षौ देखि कायम रहँदै आएको नेपाल-मलेसिया बीचको सम्बन्ध,सद्भाव एवं सहिष्णुतालाई आवेगमा आएर भताभुंग पार्नु पक्कै बुद्धिमता कार्य हुन सक्दैनयस संवेदनशील घटनाको सूचना प्रवाह गर्ने क्रममा कसैलाई उद्धृत वा फोन सम्पर्कको आधारमा मात्र सूचना दिएर वास्तविक घटना हुनुको कारण र विवरणलाई ढाकछोप गराउनमा सघाउ नपुर्याउअहिलेको प्रविधि युगमा फोनको वार्तालापलाई रेकर्ड गरेर सुरक्षित राख्न वा सुनाउन सकिन्छयी होशियारी अपनाएर मात्र सूचना संकलन र प्रसारित गरौकारणवश कसैले सूचना प्रसार गरेको आधारमा छानविन प्रक्रिया हुन गएमा समस्या उत्पन्न नहोस् भन्ने कामना गर्दछुसाथै आउने दिनहरुमा यस्ता घटनाहरु पुन:नदोहोरियोस् भनि हामी सबैले आ-आफ्नो कार्य क्षेत्र,निवास साथै कुनै पनि अवस्थामा सजगता,संयमता अपनाई रहनु होला 
- मौलश्री लिम्बू    [०१-०४-२०१३ मलेसिया] 


घटनास्थल 
 *************************
[http://www.onlinekhabar.com मा प्रकाशित समाचार र फोटोहरु ]
 स्थलगत अनुसन्धानपछि दूतावासले भन्यो- मलेसियामा नेपालीको ज्यान गएको छैन
 रामचन्द्र नेपाल
१६ चैत, क्वालालम्पुर । मलेसियाको जोहोरबारुस्थित पासिरगुडाङमा गत आइतवार भएको झडपमा कुनै पनि नेपालीको ज्यान नगएको र सवैको विबरण दुरुस्त देखिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
घटनापछि दूतावासबाट पुगेको अनुसन्धान टोलीले नेपाली कामदार, रोजगारदाता र प्रहरीसँग भेटेर छलफल गरेको र त्यसबाट सवै नेपालीहरुको बिबरण दुरुस्त देखिएको जनाएको छ ।
   दूतावासले शुक्रबार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा कुन-कुन कम्पनीमा कति नेपाली छन र उनीहरुको अबस्था के छ भन्ने बिबरण खुलाएको छ । होष्टलमा रहेका, प्रहरी नियन्त्रणमा रहेका र अस्पतालमा उपचार गराईरहेका समेत जोड्दा सवैको बिबरण प्राप्त भएको र कोही पनि नहराएको दूतावासले प्रष्ट पारेको छ।मलेसियामा कामदारको मृत्यु भएको हल्लापछि दूतावासले अनुसन्धान टोली खटाई त्यहाँ कुनै पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको थियो । तर सामाजिक संजालहरुमा हाइटीको द्वन्द्वमा मारिएहरुको तस्वीर राखी १५ जना नेपालीको मृत्यु भएको हल्ला चलाइएको थियो ।
मलेसियन प्रहरी भन्छ- यहाँको कानुन पालना नगरे कडा कारवाही
     यसैवीच मलेसियन प्रहरीले जोहोरबारुमा भएको घटनामा कुनै पनि नेपालीको मृत्यु नभएको प्रष्ट पारेको छ । घटनापछि पहिलोपटक सार्वजनिक बक्तब्य दिंदै जोहोरबारु राज्यका प्रहरी प्रमुख मोक्तार मोहम्मद सरिफले भन्नुभयो- स्थानीयसँगको झडपमा कुनै पनि नेपालीको मृत्यु भएको छैन, त्यो सरासर हल्ला हो ।
    मलेसियाको द स्टार अनलाइनका अनुसार नेपाली कामदारहरुले सार्वजनिक स्थलमा मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयसँग झडप भएको प्रहरीले दावी गरेको छ । घाइतेमध्ये चार जनालाई सुल्तान अस्पतालमा उपचार गरिएको र घटनामा संलग्न २२ जनालाई गिरफ्ता गरिएको उहाँले जानकारी दिनुभयो।जोहोरमा काम गर्न आउने बिदेशीहरुले मलेसियाको कानुनलाई कडाईपूर्वक पालना गर्नुपर्ने भन्दै उहाँले त्यसो नगरिएको सम्बन्धित देशमा डिर्पोट गर्नेसम्मका कडा कारवाही भोग्नुपर्ने चेतावनी दिनुभयो।यदि कोही बिदेशी यहाँ आएर राम्रो काम र राम्रो दामको अपेक्षा गर्दछन भने उनीहरुले यहाँको कानुनलाई सम्मान गर्नेपर्छ’- प्रहरी प्रमुख सरिफले भन्नुभयो ।
*****************************************

मलेसियामा नेपालीमाथि आक्रमण, मृत्युको खबर मिथ्या

तीन घाइते, नौ पक्राउ

रामचन्द्र नेपाल/भीम तामाङ
अपडेटः १२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली बसिरहेको होस्टलमा गएराति स्थानीय मलेसियन युवाहरुको समूहले सांघातिक आक्रमण गरेको छ । स्थानीय समयअनुसार साँझ करिव ८ बजेतिर सुरुमा ४ जनाको समूहमा मोटरसाइकलमा आएका युवाहरुले आक्रामण प्रयास गरेका थिए । उनीहरु उल्टै पिटाइ खाएर फर्किएपछि करिब साढे दुई सयको संख्यामा आएका स्थानीय युवाहरुले नेपालीहरुमाथि आक्रमण गरेका थिए ।प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार तरबार, रड र घरेलु हतियारसहित आएका ती युवाहरुको आक्रमणबाट तीनजना घाइते भएका छन । जसमध्ये दुइजनाको अवस्था गम्भीर छ भने अन्य केही युवाहरु सामान्य घाइते भएका छन् । स्थानीय प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु पछि हटेका थिए । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गर्नुपरेको थियो ।
    जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी बोल्न नसक्ने अवस्थामा छन् भने राजुको टाउकोभन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । स्थानीय क्लिनिकमा भेटिएका एक नेपालीले भने आफ्नो अवस्था समान्य भएको भन्दै परिचय नखुलाइदिन आग्रह गरे।प्रहरीले घटनामा संलग्न ९ जना नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । त्यसबाहेक कुनै पनि पनि नेपाली नियन्त्रणमा नरहेको र घटनामा कसैको पनि हताहती नभएको प्रहरीले जानकारी दियो।होस्टलमा रहेका नेपाली कामदारहरुले आफ्ना १२ साथीहरु हराइरहेको बताए पनि नेपाली राजदूतावासका प्रतिनिधि चक्र सुवेदीले ९ जना प्रहरी नियन्त्रणमा र ३ जना अस्पतालमा रहेको जानकारी दिएपछि उनीहरुले आफ्ना सवै साथीहरु सम्पर्कमा आएको र हताहती नभएको बताए । प्रहरी नियन्त्रणमा रहेका नेपालीलाई दूतावासका प्रतिनिधिले भोलि हिरासतमा भेट्ने कार्यक्रम छ ।
 हल्लाका पछाडि मन्त्री आफैं
     यता काठमाण्डौमा भने सोमबार बिहानैदेखि मलेसियामा ६ जना नेपालीको ज्यान गएको र १८ जना अस्पतालमा भर्ना भएको खबर प्रसारण भयो । हल्लालाई औपचारिकता दिने काम नवनियुक्त परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरेले ।हल्ला के हो भनेर फोन गर्ने सञ्चारकर्मीलाई घिमिरेले ६ जनाको मृत्यु भएको र १८ जना घाइते भएको खबर आएको जानकारी दिए । कतिपय संचारमाध्यमलाई कलब्याक गरेरै मन्त्रीज्यूले अपुष्ट भनिएको खबर टिपाउनुभयो ।नेपालीको मृत्यु भएको हल्लासँगै परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावासका कार्यबाहक राजदूतलाई बोलाएर नेपाली नागरिकको सुरक्षा गर्न आग्रहसमेत गरेपछि राजधानीको कूटनीतिक वृत्तमा केहीबेर खैलाबैला मच्चियो । तर, मन्त्री आफैंले चढाएको हल्ला मलेसियास्थित दूतावासले खण्डन गरेपछि परराष्ट्रका अधिकारीहरु यस्तो हल्लाको दोष मिडियामाथि लगाएर आफू पानीमाथिको ओभानो बन्ने प्रयासमा लागे । सोमबार दिउँसै परारष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले पत्रकार सम्मेलन गरेर मन्त्रालयको बचाऊ गरे ।
   स्रोतका अनुसार मलेसियास्थित नेपाली राजदूतावासले यस्तो हल्ला चलेको भए पनि पुष्टि हुन नसकेको जानकारी परराष्ट्रलाई गराएको थियो । तर, मलेसियास्थित दूतावासले अपुष्ट भन्दाभन्दै परराष्ट्र मन्त्रीले पुष्टि भइसकेको खबरझैं मिडियालाई कोट उपलब्ध गराए । जसले गर्दा नेपालमा दिनभरि नै सन्त्रास फैलियो भने मलेसियास्थित नेपाली राजदूतावास मरेको कुरा हल्लामात्रै भन्दा भन्दै हैरान पर्‍यो।खबर थाहा पाउनासाथ नेपालस्थित म्यानपावर कम्पनी डराउन थाले । ०६० भदौ १६ मा इराकमा भएको नेपालीको हत्यापछि जे अवस्था आयो, त्यस्तै हुन सक्छ भन्दै म्यानपावर कम्पनीले बिहानैदेखि कार्यालयका पासपोर्ट सुरक्षित स्थलमा सार्न थाले । अधिकांशजसो म्यानपावर दिनभरजसो नै बन्द भए भने व्यवसायीहरुले गृह र श्रम मन्त्रालयमा फोन गरी आफ्ना कार्यालयमा सुरक्षा दिन माग गरे ।
******************************************

मलेसियाको भिडन्तस्थलमा मैले जे देखेँ..

 भीम तामाङ, जोहोरबारु
    आइतवार साँझ म सधैंझैं काममा व्यस्त थिएँ । करिव साढे ९ बजेतिर जोहोरबारुको पासिरगुडाङमा रहेको एक होष्टलमा नेपालीमाथि सांघातिक आक्रमण भएको हल्ला चल्यो । त्यो क्षेत्रमा रहेका मेरा साथीहरुलाई सम्र्पक गरेँ । अनि आक्रमण भएको होष्टलकै साथीहरुको नम्बर लिएर मैले धमाधम फोन लगाउन थालेँ।धेरैले फोन उठाएनन्, जतिले उठाए एकदमै डराएको र मसिनो स्वरमा अहिले कुरा गर्न मिल्दैनभन्दै फोन राखिदिए । खास के भएको हो ? तपाईहरुको अवस्था के छ भनेर सोध्दा उनीहरुले होष्टलमा मलेसियन युवाहरुको ठूलो समूहले आक्रमण गरिरहेको र आफूहरु ट्वाइलेट र खाटमुनि लुकेर बसिरहेको बताए।साथीहरु कति घाइते भए, कत्तिका अवस्था गम्भीर छ, हल्ला गरेजस्तो हताहती भयो कि भएन भनेर मैले बुझ्न खुब कोसिस गरेँ, तर कतैबाट पनि जानकारी भएन । क्वालालम्पुरसहित अन्य ठाउँका साथीहरुले रातभर के भएको हो भनेर सोधिरहे, बिहानैसम्म सुतिएन । हामीले जति बुझ्न खोजे पनि नेपालीहरुको वास्तविक स्थिति थाहा भएन ।
कोही अस्पतालमा, कोही हिरासतमा
   म बसेको ठाउँबाट घटना भएको होष्टल पुग्न गाडीमा करिव आधा घण्टा लाग्ने भए पनि त्यहाँ पुग्ने हिम्मत भएन । जानकारी लिन खोजेर पनि हामीले पाउने थिएनौं  । त्यसका लागि त दूतावासकै प्रतिनिधि जरुरी हुन्थ्यो । बिहान करिव ९ बजेतिर क्वालालम्पुरस्थित नेपाली राजदूतावासबाट द्वीतीय सचिव चक्र सुवेदी आइपुग्नुभयो । म पनि उहाँकै साथमा सुल्तान अस्पताल पुगेँ । त्यहाँ दुईजना गम्भीर घाइते नेपालीहरु उपचार गराइरहेको अवस्थामा हामीले भेट्यौं ।
   जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको रहेछ । साहुको दुबै हातखुटटा र भाँचिएको र टाउकोमा चोट लागेको रहेछ । उनी बोल्न नसक्ने अवस्थामा थिए । राजुको टाउको भन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । चक्र सर र मैले दुबैजनाको तस्वीर लियौं । राजु बोल्न सक्ने अवस्थामा थिए । उनले घटनाबारे सामान्य जानकारी दिए । त्यसपछि हामी त्यहीं नजिकै रहेको एक क्लिनिकमा गयौं । त्यहाँ कम्पनीले नै केही नेपालीलाई उपचार गर्न ल्याएको सूचनाका आधारमा पुगेका थियौं ।
    त्यहाँ एकजना नेपाली टाउकोमा चोट लागेको अवस्थामा भेटिए । सामान्य उपचारपछि उनी होस्टल फर्किने सुरसारमा रहेछन् । आफु काममा फर्किन तयार रहेको र गम्भीर बिरामी नभएकाले आफ्नो नाम कतै नखुलाइदिन उनले आग्रह गरे । मेरा घर परिवारले चिन्ता गर्छन्, मेरो परिचय नखुलाइदिनुस, म सामान्य अवस्थामै छु भन्दै उनले आग्रह गरे । चक्र सरले उनीसँग पनि घटनाबारे सोधपुछ गर्नुभयो ।
    अझै पनि वातावरण पूरै आक्रान्त थियो । जताजतैबाट मलाई फोन आइरहेको थियो । क्वालालम्पुर र काठमाण्डौमा रहनुभएका साथीहरुले ६ जनाको मृत्यु भयो रे कतिको शव भेट्नुभयो भन्दै फोन गरिरहेका थिए । तर, हामी केही भन्न सक्ने अवस्थामा थिएनौं । हामी घाइते भेटिएका दुई जनाको विवरण नेपाली दूतावासमा टिपाएर घटनास्थल पासिरगुडाङ प्रहरी स्टेशनमा पुग्यौं ।
   परिचय दिनासाथ प्रहरीले चक्र सरलाई घटनाबारे विस्तृत जानकारी दियो । घटना भएको थाहा पाएपछि तुरुन्तै प्रहरी परिचालन गरिएको र हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । हाम्रो नियन्त्रणमा १२ जना छन, त्यसमध्ये ९ जना नेपाली छन्स्थानीय प्रहरी कमाण्डरले भने- अहिले उनीहरुलाई हिरासतमा राखिएको छ, भोलि १० बजे भेटाइदिन सक्छौं ।नियन्त्रणमा लिइएकामध्ये एकजना नेपालीलाई सामान्य उपचारपछि हिरासतमा राखिएको रहेछ ।प्रहरीले नेपालीमाथि आक्रमण भएको हो कि दोहोरो झडप भएको हो यकिन बताएन । अनुसन्धान जारी रहेको उसले चक्र सरलाई जानकारी दियो । हामीले कतिजना नेपाली मरेका हुन् भनेर सोध्यौं, तर, प्रहरीले घटनामा कोही पनि मरेको जानकारी नभएको बतायो ।तर, बाहिर ६ जनाको ज्यान गएको हल्ला चलेको थियो । नेपालमा म्यानपावरहरु तोडफोड हुनसक्ने भन्दै पासपोर्ट लुकाउन थालिएको सूचना आएको थियो । नेपालका अधिकांश पत्रिकाले नेपालका परराष्ट्रमन्त्रीलाई हवाला दिंदै ६ जनाको ज्यान गएको समाचार प्रसारण गरेछन् । तर, मैले क्वालालम्पुरमा रामचन्द्र नेपाल र काठमाडौं अफिसका सरहरुलाई मिनेट मिनेटको सूचना दिँदै मृतक नभेटिएको जानकारी दिइरहेको थिएँ । त्यसैले हामीले दिएको समाचारमा चाँहि मृत्युको कुरा गएन ।
घटनास्थलको विवरण
    पुलिसले हामीलाई स्कर्टिङ गरेर घटनास्थल लग्यो । त्यहाँ पुग्दा वातावरण एकदमै सन्नाटा थियो । त्यहाँ धेरै पुलिस तैनाथ थिए । हामीले कसरी घटना भयो, कति घाइते भए भनेर प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुबाट जानकारी लिन प्रयास गर्‍यौं । धेरै साथीहरु विक्षिप्त र त्रसित अवस्थामा थिए । उनीहरु बोल्न पनि डराइरहेका थिए ।
हामीले होस्टलको निरीक्षण गर्‍यौं । झ्यालका सबै सिसा फुटेका थिए, कोठामा राखिएका टेलिभिजन पनि फुटेका थिए, कपडा च्यातिएका थिए । भुँइमा रगतका टाटा देखिन्थे । होस्टलमा भर्खरै ठूलै लडाइँ सकिएको जस्तो देखिन्थ्यो ।
मलेसिया सरकारको यो होस्टलमा त्यस वरपर रहेका चारवटा कम्पनीमा कार्यरत नेपाली कामदार बस्ने रहेछन् । घटना भएपछि बिहानै तीन वटा होस्टलका नेपालीलाई कम्पनीले अन्यत्र नै सारिसकेछ ।
  त्यहाँ भेटिएका नेपालीहरुले बताएअनुसार राति करिव ८ बजेतिर चार व्यक्ति मोटरसाइकलमा आएर नेपालीहरुमाथि आक्रमण थालेका रहेछन् । उनीहरुलाई नेपालीले समातेर पिटेछन । ज्यान जोगाएर भागेका उनीहरु पछि ५० जनाजति स्थानीय युवा लिएर आक्रमण गर्न आएछन् । त्यसपछि १ सय जना र पछि अर्को चरणमा सय जना गरी करिव साढे २ सय जनाले नेपालीमाथि आक्रमण गरेका रहेछन् । नेपालीहरुले हल्का प्रतिरोध गरे पनि मलेसियनहरुले नराम्रोसँग पिटेछन् । साथीहरु ज्यान जोगाउँदै भाग्नुपर्ने अवस्थामा पुगेछन् । उनीहरुले तरवार, रड र घरेलु हतियार लिएर होस्टलमा आक्रमण गर्न थालेका रहेछन । केहीवेरपछि पुलिस आएर उनीहरुलाई नियन्त्रणमा लिएछ । त्यसका लागि हवाइ फायर पनि गर्नुपरेको उनीहरुले बताए ।
आक्रमणपछिको स्थिति
    झडपपछि घाइतेलाई अस्पताल पुर्‍याइएछ भने प्रहरीले ९ जनालाई पक्रिएछ । स्थिति शान्त भएपछि पनि साथीहरु नभेटिएपछि होस्टलमा रहेका नेपालीहरुले १२ जना नेपाली हराएको भन्दै साथीहरुलाई खबर गरेछन् । उनीहरुका हिसाबले ती साथीहरु हराएको ठिकै हो । किनभने ९ जनालाई पुलिसले नियन्त्रणमा लिएछ, तीन जना घाइतेहरु अस्पताल लगिएछन् । हामीले पक्राउ परेका र अस्पतालमा रहेका नेपालीहरुको नाम सूची सुनाउँदै यी साथीहरुको अवस्था यस्तो पाइयो भनेपछि होस्टलमा रहेका नेपालीहरुले भने- उनीहरु भेटिए भने त कसैको पनि ज्यान गएको रहेन छ ।
यति कुरा सुनेपछि हामी पनि शान्त भयौं । होस्टलमा रहेका, पुलिसको नियन्त्रणमा रहेका र घाइते भएर उपचार गराइरहेका नेपालीहरुको विवरण दुरुस्त आयो । कसैको पनि हताहती भएको रहेनछ भन्ने निस्र्कष निकाल्न अब हामीलाई केही पनि गाह्रो भएन ।
धन्य, जे सुनिएको थियो, त्यस्तो अपि्रय केही पनि सुन्नु परेन । देख्दा अवस्था हृदयविदारक नै छ होष्टल क्षेत्रको । त्यहाँ कति ठूलो भिडन्त भएको रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । साथीहरु भाग्यवस बाँचेछन्, नत्र धेरै क्षति बेहोर्नुपर्ने रहेछ । स्थानीय प्रहरीले समयमै हस्तक्षेप गरेका कारण ठूलो क्षति टरेको देखियो ।
आखिर किन भयो झडप ?
     हुलका हुल मलेसियन आएर नेपालीमाथि आक्रामण गर्नुपर्ने कारण के हो ? हामीले दिनभर त्यसको पनि खोजी गर्‍यौं । प्रहरीले आइतवार बिदाको दिन भएकाले नेपालीहरुले पहिले रक्सी पिएर सामान्य विवाद गरेको र पछि मलेसियनहरु पुगेर आक्रमण गरेको प्रारम्भिक अनुमान सुनायो ।
त्यहाँ रहेका नेपालीहरुले अन्य केही पाटोबारे पनि खुलाए । नेपाली केटाहरुले स्थानीय मलेसियन केटी जिस्काएको र त्यसबाट रिसाएका मलेसियन युवाले हुल बाँधेरै पिटेको केहीले निस्र्कष निकाले ।
मलेसियाको सो क्षेत्रमा रहेका नेपाली युवतीहरुका कारण पनि बेलाबेला मनमुटाव हुने गरेको र त्यसकै कारण पनि आक्रमण भएको हुनसक्ने अर्काथरिको अनुमान थियो ।
के कारणले आक्रमण भएको थियो भन्ने यकिन हुन नसके पनि त्यसमा धेरै थोरै नेपालीहरुको पनि दोष थियो भन्ने निचोड निकाल्न कठिन भएन । तर, त्यो दोहोरो झडप नभई विशुद्ध मलेसियनहरुको सांघातिक आक्रमण थियो भन्ने त्यहाँ रहेका कामदारहरुको भनाइ छ । फेरि आक्रमण हुन सक्ने त्रास कामदारहरुमा थियो । त्यसैले दूतावासका द्वीतीय सचिव चक्र सुवेदी सरले रोजगारदाता र प्रहरीलाई तत्कालै होस्टल सार्न आग्रह गर्नुभएको छ ।
रिहाइको प्रयास

   दिनभर दौडधुपपछि हामीले राति करिव साढे ७ बजेतिर मात्र खाना खायौं । भोलि १० बजे सुबेदी सर प्रहरीकहाँ जानुहुनेछ । उहाँले नियन्त्रमा लिइएका सवै नेपालीसँग भेटेर थप जानकारी लिनुहुनेछ । उनीहरुमाथि सांघातिक आक्रामण भएकाले कुनै कारवाही नगरी रिहा गर्न सुवेदी सरले आग्रह गर्ने बताउनुभएको छ । तर, यतिबेलासम्म मलेसियामा ६ जना नेपालको मृत्यु भएको भन्ने हल्ला पनि निदान भएको छ । बिहानै मृत्युको अपुष्ट खबर दिने नेपालको परराष्ट्र मन्त्रालय र केही नेपाली मिडियाहरुले पनि त्यसलाई सच्चाइसकेका छन ।
मलेसियामा श्रमिक जीवन बिताइरहेको र आंशिकरुपमा नेपाली समुदायमा सक्रिय रहेर पत्रिकारिता पनि गरिरहेको मलाई आजको दिन भने निकै तनावपूर्ण रह्यो ।
(तामाङ मलेसियाको जोहोरबारुस्थित अनलाइनखबर सम्वाददाता हुन् )
नेपाली राजदूतावास मलेसियाको विज्ञप्ति 

 









मलेसियामा गठन भएका संगठनहरुको विज्ञप्ति 



No comments:

Post a Comment