Friday, 19 September 2014

लघुकथा:- पाप कि पुण्य // व्यवसाय

                "पाप कि पुण्य"
 
    " यो दु:खीलाई एक-दुई रुपियाँ दिएर पुण्य कमाउनु होस्। " एक जना वयस्क फकीर मतर्फ दुई हात फैलाउँदै बोल्यो ।
              उसले निकै पहिले देखि यसरि नै जीविकोपार्जन गरिरहेको हुनु पर्दछ। लट्टा परेको कपाल अनि लामा-लामा दाह्री,जुँगालाई सफाचट्ट गर्ने हो भने तन्दुरुस्त युवा देखिन्छन् ।मानसिक सन्तुलन गुमेको वा अशक्त-अपांगको कुनैपनि लक्षण छैन।
            मैले पाँच रुपियाँ दिंदै भनें-
" यसरि माग्नेलाई नदिनु भनेको पाप हो तर स-कुशल माग्ने मान्छेलाई दिनु भनेको महापाप हो।अब मैले पाप कि पुण्य पाउँछु होला  ?"
          रुपियाँ पाएपछि बेमतलव हुँदै चुपचाप अर्को व्यक्तिसमक्ष मलाई गरेको व्यवहारको रिहर्सल गर्न थाल्यो।
रचनाकाल:- २०६१/०१/०१  

                      ###  ***  ###  ***


                            "व्यवसाय"                    



      दीर्घकालसम्म यसरी नै लागीपरि रह्यौ भने तिमीले निकै सम्पत्ति आर्जन गर्ने छौ।' उसको राजनीतिक प्रवृत्तिलाई कटाक्ष गर्दै भनेको थिएँ।
'त्यो कुन व्यवसाय होला ? म गर्न तयार छु।' अन्जान व्यक्त गर्यो।
'राजनीति ! जो तिमी गरिरहेका छौ।हेर्दै जाउँ चाँडै कुबेर बन्ने छौ।' उसले गर्ने गरेको ठेक्का-पट्ठा र कमिसनको तै-तरिकालाई नजिकबाट बुझेकोले भनेको थिएँ।
'कहि राजनीति पनि व्यवसाय हुन्छ ?'
         दस वर्षको अन्तरालमा झट्ट हेर्दा र बुझ्दा उसले हासिल गरेको अहोदाहरु बाहेक भौतिक सम्पत्तिहरु मैले नै ज्यादा जोडजाम गरेको देखिन्छ।वस्तुत: पैसा र बहुमूल्य रत्नहरुको जगेडा गर्ने होडबाजीमा भने उसले मलाई कैयौ गुणा उछिनी सकेको रहेछ ।जसको दसीहरु सहित "अख्तियार दुरुपयोग अनुसन्धान आयोग" ले उसको वैधानिक धन-सम्पत्तिसंगै स्रोत नखुलेको चलअचल सम्पत्तिहरुको विवरण अदालतसमक्ष पेस गरेको समाचार पत्रीकामा प्रकाशित भएकोले थाहा पाएँ।
०२-०७-२०१४ 

No comments:

Post a Comment