Tuesday, 23 July 2013

कविता:- 'ठूलो मान्छे' र 'म'

    "ठूलो मान्छे"

''ऊ
पहिले धेरै तल थियो
भर्याङ्ग चढ्न सिकाएर  माथि उक्लाएँ
अहिले
उ धेरै माथि छ
लगभग अन्तिम तलाको लिस्नुतिर
अब उसलाई कसैको जरुरत छैन
सम्बन्ध टुट्नु र फुट्नुमा
कुनै मतलव छैन
बरु

छततिर मुन्टो उठाएर आकाश निल्ने अभिष्टलाई 
आँखामा देखाउछ/अनुहारमा चम्काउछ  
र 
शिकायत गर्छ मप्रति
माथि उक्लन नजानेकोमा
हात पक्रन नसकेकोमा 
चिप्लेटी खेलाउदा पनि नचिप्लिएकोमा
अपसोच
उसलाई कसरी सम्झाउँ/बुझाउँ
म कदापि सक्दिन
उसले जसरी स्वाभिमान बेचेर
आफ्नो लिलामीको भाउ आफै तोक्न
यसर्थ
म त्यहिँ छु
जहाँबाट मैले कुनै समय उसलाई
हात दिएर माथि उक्लाएको थिएँ
२६-०६-२०११ 

****       *****       *****     *******
   'म' 

भात्किएको मन्दिरको अखण्ड दीप हुँ
म त यसै तेजस्वी छु
कहिले लत्याइएर
कहिले कहर लिएर
त्यसैले, ए सुन !
ममा कुनै चाह छैन
कसैको निम्ती ज्वलन बन्न
रहेको अंशलाई यति मै रहन देउ
आखिर निभ्नु त मैले छ नै
यो उपस्थितिले बरु अझ म
जिर्ण हुनेछु
किनकी कसैको निम्ती
म कदापि यथोचित हुन सक्दिन।

यस्तै उपस्थितिले
फेरि-फेरी कुनै पनि मुसाफिरले
सहानुभूति नजताई
मेरो जिर्णावस्थालाइ कुल्चिएर
गोरेटो बनाइदिने छन्
शायद डहर बन्नेछु
त्यतिबेला
मेरो अस्तित्वले नै सोध्दो हो

नाजवाफ सवालहरु केलाएर
खुई !काट्दो हुँ 
यसर्थ
आजकाल मैले
सबैको उपस्थितिलाई अस्विकार गर्न थालेकोछु
त्यसैले ए ! सुन
भो फेर्किएर जाउ
मेरो समिप कहिल्यै नआउ
ढाड्ससम्म चाँहीन्न कसैको
मलाई यस्तै रहन देउ
किनकी
म त्यसै नै
भात्किएको मन्दिरको अखण्ड दीप हुँ
म त यसै तेजस्वी छु ।
...२००५ 

No comments:

Post a Comment