[कथा] “सँघार”
“म यस्तै नै छु।“
“किञ्चित अपसोच छैन ?“
“अब त जिन्दगीसँगै शिकायत पनि छैन मलाई।“
“उनलाई त ख्याल गर।“ चुरोट सल्काउदै ऊ बोल्यो।
मप्रति सहानुभूति दर्शाउनेहरु त धेरै आएका थिए अनि गए पनि;तर ऊ दुई वर्षदेखि मलाई लगातार आत्मग्लानि दिलाई रहेको छ।अब ममा खोक्रो बदन सिवाय सौन्दर्यको अभिमानसम्म छैन।मलाई सुखमय भविष्यको दिलासा जताएर यो सयल-नगरीमा जड्काई दिने पनि यी नै पुरुष थिए।यतिबेला दलदलबाट पाखा झिक्न खोज्ने पनि यी नै पुरुष अग्रसर भईरहेको छ।म कसरि बुझाउ उसलाई-‘खरानी फेरि कहिल्यै आगो बन्न सक्दैन’;म त्यहि खरानी हुँ।
आफ्नो दुर्भाग्यको भागीदारीमा मैले आफ्नी छोरीलाई सामेल गराउनु न्यायोचित त पक्कै छैन।यद्यपि विवशताले निम्त्याएको कदमलाई स्वीकार्नु त पर्छ।म कसैकी भरोसाको फल बनेर यहाँ गुज्रिन पुगें;त्यसैकी प्रतिफल बनेर जन्मिन पुगिन् मेरी छोरी।
“विगतलाई सम्झिएर भविष्यलाई उस्तै सुनौलो पार,अब वर्तमानलाई यहि तुर्याई देऊ।जिन्दगी गुजार्न अझै लामो समय बाँकी छ।“ नजर जुधाउदै उसले भन्यो।
“टुटेर झर्ने ताराको निशाना फेरि आकाशमा कहाँ रहन्छ र ! धर्तीमा झरेपछि अस्तित्व नै तबाह भएर जान्छ।“ मैले भनें।
मलाई थाहा छ,ऊ मलाई हृदयदेखि नै चाहन्छ।खैर ! आफ्नो यथार्थ कतै छुपाएर उसको स्वाभिमानलाई दुनियाँको नजरमा अपाच्य बनाई दिन चाहन्न।समाजदेखि भागेता पनि आखिरीमा हामी समाज कै आसपासमा जिईरहेका हुन्छौ।उसलाई समाजको पर्वाह छैन,छ त सायद ऊ उदाहरण बन्न चाहिरहेको छ;तर मलाई पर्वाह छ।म उदाहरण बनेर नैतिकताको परिधिमा बेरिन चाहन्न,त्यसैले म यहाँको सँघार नाघेर असम्भव प्राय:जीवनवृत्ति गुजार्नलाई लालसासम्म जताउन सक्दिन।उसलाई आफ्नो भन्दा मेरो पर्वाह छ तर मलाई आफ्नो पर्वाह छैन किनकि म पतिङ्गर भई सकेकी छु।
“व्यर्थै तिमी मप्रति आफ्नो मन-मस्तिष्कलाई निकम्मा बनाउने गर्छौ;कोहि त पक्कै तिम्रै निम्ति प्रतिक्षारत छिन्।आफूलाई भावुक बनाएर जीवन बर्वाद नपार।“ चुरोट तान्दै मैले भनें।
“तिम्लाई आफू हुँ जस्तो लाग्दैन ?” चुरोटको खरानी एस्ट्रेमा झार्दै प्रतिसवाल गर्यो।
“तिम्लाई म कसरी सम्झाउँ,जवानी र जीवनी भिन्न-भिन्नै तप्का हुन् भनेर।अहिले तिमी जवानीको सारमा जीवनी खोजिरहेका छौ,यो उल्फत हो।जीवनी त्यो यथार्थ हो,जसको सीमा पाच्य हुन अपरिहार्य छ।“
“त्यसो भए तिमी अलग दुनियाँकी हौ त ?”
“वर्तमान अकाट्य सत्य छ।“
ऊ मप्रति किन आकर्षित छ,मलाई थाहा छैन।सायद मेरो परिस्थितिलाई उसले सहानुभूति दिँदा-दिँदै म माथि दया पलाएको हुनु पर्छ।म आफै बबुरो छु र पनि ऊ मसँगै भिक्षा मागिरहेको छ।मसँग बदन सिवाय केहि छैन त्यो दिई नै रहेकी छु;जिन्दगी नै म कसरी दिउँ जो कतै समेटिन लायक छैन।फेरि मेरो सुन्दरता फुस्रो भईसकेको छ,यो बदन पनि केहि समय पछि अवश्य बेकम्मा भएर जान सक्छ।बैंशमा सुन्दरताले महत्त्व लिन्छ भने आत्माले प्राय: उपस्थिती मात्र जनाउछ;ताजुबको कुरा ऊ मप्रति हत्तेरो छ।
म यसरी कठोर किन बनिरहेकी छु;बरु त्यतिबेला म बहकिनु हुँदैनथ्यो।यो परिस्थितिलाई समाहित गर्नु रहेछ र त एक इशारालाई काफी सम्झिएर पछि लागें।आबाद जीवनको चाह राखेर कदम चालें,यतिबेला बर्वादको जीवन जीउन वाध्य भएकी छु।अब त दुर्दशामा सदा पिल्सिएर होला आफूलाई आदतमा होमी सकेकी छु।यो मेरो इच्छा थिएन।जो जसरी नी अँगाल्नु पर्ने हुन्छ त्यो आफसेआफ इच्छा जस्तो भएर सम्बद्ध हुने गर्दछ।मेरो नियति ममा नै स्पष्ट छैन।फेरि विश्वासको हत्या भएपछि दर्दनाक अवश्थामा कसैको साथ पाउँदा पनि त्यसलाई आड मान्न नसकिँदो रहेछ।मलाई ऊप्रति पूर्ण भरोसा छ रै पनि उसको साथलाई माथ लगाएर सहयात्री बन्न हिच्किचाई रहेकी छु।जिन्दगीको अर्थ नै अनर्थ बनिसकेको छ।सयल-नगरीको परी भई शोभा बनि दिएर जिन्दगीको गन्तव्यतर्फ सफर गरिरहेकी छु। यो सयल-नगरीको सँघार नाघ्ने अब ममा पटक्कै चाह छैन,जति जीवन गुजार्नलाई पलहरु घटाउन चाहिरहेकी छु।बेलाबखत उसको सहानुभूतिमा म नबहकेकी भने होईन तर जीवन अनुभूतिले गर्दा मनलाई काबूमा राख्न वाध्य छु।त्यसैले म उसँगको दाम्पत्य जीवनको कल्पनासम्म गर्न सक्दिन।जिन्दगीको सार्थकता खोज्नु पनि अब मेरो वशमा रहेन।ममा विश्वास नै अर्घेलो बनेर खडा भएको छ।
“म घर फर्किंदै छु,करिब दुई महिनाको लागि।“ मेरो बदनमा लत्पतिए बापतको मूल्य टेवलमा राख्दै ऊ बोल्यो।
म मौन रहें।
“सायद फर्किन्छु नै होला।“ चुररोट सल्कायो।
“बिहे पनि त गर्छौ होला नी !” नजर जुधाएर जिज्ञासा राखें।
“थाहा छैन,वाध्य हुन सक्छु।“ चुरोटको धुवाँ फ्याक्दै रमाना भयो।
उसँग मोल लिन पहिलेदेखि नै अप्ठयारो लागेता पनि मेरो बारम्बारको इन्कारलाई वेवास्ता गर्दै तोकिएको मोल यसरी नै टेवलमा राख्ने गर्थ्यो।हुन त धन्दा हो मैले लिन नै पर्छ;समस्यालाई अप्ठयारोले टार्न सक्दैन।अब त टेवलमा राखिदिएको पैसा टिप्न पनि आदत बसि सक्यो।
उसको कुराले मलाई अनौठो महशुस भो।मबाट मेरो आफ्नै अमूल्य चीज विलय हुँदै गरे झैँ लाग्यो।यस्तो ममा पहिले कहिल्यै भएको थिएन।कतै ! मेरो मन बिथोलिन त पुगेन;आफैप्रति सन्देह जाग्यो।उसले बिहे गरोस् या नगरोस् सरोकारवाली झैं गरि प्रश्न गर्न पुगें।फेरि उसको द्वुविधापूर्ण जवाफलाई म के सम्झुं ? कहिले कहीं कुनै-कुनै कुरा वेवास्ता गर्न चाहेर पनि वास्ता गर्न वाध्य हुनु पर्दो रहेछ।उसको प्रस्तावलाई मैले सदैव इन्कार गरिरहें;ऊ कहिल्यै मप्रति रुष्ट भएन।मेरी छोरीलाई खुबै माया जताउने गर्थ्यो।यस्तो लाग्थ्यो,छोरी पनि ऊसँग घुलमिल भई सकेकी छे।बेलाबखत उसले पढाउँदा छोरीले पनि खुब चाख मानेर अध्ययन गर्थी।स्कुल पठाउनु मेरो वशको कुरा थिएन।उसले सबै खर्च बेहोर्छु भन्थ्यो तर सम्भव थिएन।छोरीको भविष्यप्रति म जति चिन्तित बन्थें त्यो भन्दा ज्यादा ऊ व्यवहारमा उतार्ने गर्थ्यो।म छोरीलाई यो सयल-नगरीको वातावरणदेखि अन्त कतै लैजान चाहन्छु;ऊ पनि यसै भन्ने गर्थ्यो।
सोच्छु- ’छोरीलाई मैले किन जन्माउन पुगें ?’ यतिबेला मलाई पश्चाताप लागिरहेको छ।धन्न छोरी भएर जन्मिएकिले यहि सयल-नगरीकी एकदिन म जस्तै शोभा बनाईनलाई मेरै साथ राख्न दिईएको छ।कदाचित् छोरो भएर जन्मिएको भए कुनै ढलमा फ्याली सकिएको हुने थियो।यहाँको वातावरणमा मैले यस्तै देखीसकेकी छु।जव केहि सोच्न थाल्ने छिन् तव आफूलाई यहाँ पाउदा आफ्नो जन्मलाई नै श्राप सम्झी मलाई अवश्य धिक्कार्ने छिन्।अब त मैले छोरीको भविष्यलाई मध्यनजर गर्नै पर्छ;कुनै सार्थक उपायहरु अपनाएर कठोर कदम चाल्नै पर्छ।मलाई थाहा छ,ऊसँग समाहित हुन पुगें भने कमसेकम छोरीको भविष्यको लकीर नै बद्लिने थ्यो।उसले मलाई बारम्बार भन्ने गर्थ्यो-‘छोरीलाई म आफ्नो नाम दिनेछु,उनको हरेक आवश्यकतालाई पुरा गर्ने कोशिस गर्नेछु।‘ उसको कुराहरु मलाई अनौठो तवरले विश्वास पनि लाग्ने गर्थ्यो।
बैंसको उन्मादले निम्त्याई दिएको हालतलाई आफ्नै कमजोरी सम्झी मन बहलाउनु पर्दो रहेछ ।यहाँ रहनु भन्दा आत्महत्या गर्नै जाती भनि नसोचेकी पनि होईन;तव त निकै ढिलो भईसकेको रहेछ।आफूसंगै पेटमा रहेको बच्चालाई हत्या गर्न सकिन।जे जस्तै परिस्थितिमा जन्मिएता पनि उसले यो संसारमा आउन पाउनु पर्छ।कसरी वञ्चित गराउन सक्छु र !सायद यो आमाले गर्ने बच्चा प्रतिको ममता हुँदो हो;म पनि अछुतो रहन सकिन।म पक्कै त्यतिबेला उखरमौली चाँहि थिईन;वश बैंसलाई सम्हाल्न नजान्दा कसैले फाईदा लुट्न सफल भयो।त्यो कपट रुपी बोलीको लवज अनि त्यो छद्म रुपी चेहेरालाई सायदै मेरो छायाँसम्मले कदापि भुल्ने छैन।त्यसले पनि कुनै दिन जिन्दगीमा मैले पाएको भन्दा चौगुणा हण्डरहरु अवश्य पाउने छ।सामान्यतया: मृत्यु भन्दा कैयन दर्दनाक बीभत्स मृत्युको भागीदार बन्ने छ।दोश्रोलाई दुर्दशामा जड्काई दिने जो हो ऊ पनि कदापि अछुतो रहन सक्दैन।उसको प्रत्येक पल भयानक बन्छ नै।क्षणिक सुखमा उफान भई रमेता पनि अन्ततोगत्वा जञ्जालमा सेरिन पुग्छ।मेरो यहि करार छ,मर्लान्त अघि कम्तिमा एक पटक त्यो व्यभिचारीसँग भेटवार्ता हुन पाईयोस्।मलाई थाहा छ,जिन्दगी अथाह सफर हो।त्यसैले यस्तो मोड आउन सक्छ भनेर कहिल्यै कल्पनासम्म गरेकी थिईन।सायद आफ्नो जिन्दगीको लकीर मध्ये मृत्यु अकाट्य सत्य गरि अवगत हुने गर्दछ।फेरि मृत्यु चाहेको बखत कहाँ आउँदो रहेछ र ! हुन सक्छ जिउने ईच्छामा ज्यादा लालसा गरियो भने अकल्पनीय गरि मृत्यु आउँछ होला।म जिउनलाई थोरै पनि लालसा गर्न सक्दिन।
सायङ्काल छाईसकेको थियो।सयल-नगरीको चमक-धमक बत्ति बलिसकेको थियो।यसैको आडमा ग्राहकहरुको आगमनलाई हामी प्रतिक्षारत थियौ।सिमसिम पानी पारेर जाडो बढ्नाले बदनलाई न्यानो पार्ने बस्त्र लगाएर सँघारमा बसिरहेकी थिएँ; ऊ अकस्मात् देखा पर्यो।मैले त ऊ अब आउने छ भनेर सोचेकी पनि थिईन।तीन महिना बितिसकेकोले आशा नै मारिसकेकी थिएँ।ऊ मसामु आएर कोठा भित्र प्रवेश गर्न नजरको इशारा गर्यो।साथीहरुले हाँसेर जिस्काउदै थिए।मैले पर्वाह गरिन।म सरासर उसको पछि लागें।उसले छोरीलाई केहि खानेकुरा दियो।छोरी रमाउदै बाहिर गई।मैले ढोकाको चुकुल लगाएँ।चुरोट सल्काउदै ऊ बोल्यो-
“आरामै छौ?”
“म यस्तै नै छु।“
“केहि उल्झनमा फसेकोले फर्किन ढिलो भो।“ उसले आफै स्पष्टिकरण दिन खोज्यो।
“त्यसो भए विहे गरेर आयौ होला नी।“ चुरोट सल्काउदै खुल्दुली प्रकट गरें।
“तिमी विना कसरि सम्भव छ? घरमा पनि चाँजो-पाँजो मिलाएर आएको छु।“
“उस्..! आगोमा हाम्फाल्ने चेष्टा नगर डढेर खरानी बन्न सक्छौ।“ नजर जुधाएर मैले भनें।
“तिम्लाई पाउन मलाई यो पनि स्वीकार्छ,आज त तिम्लाई जवर्जस्ती गरेर भए पनि नलगी टसकामस गर्ने छैन।“
ऊ गम्भीर देखियो।म मौन रहें।उसलाई सम्झाउने ममा शब्द नै छैन।उसले जिन्दगीलाई सामान्य ढंगले सम्झिएको हुनु पर्दछ या त मैले।जिन्दगीको सफर गर्नु त्यति सजिलो पक्कै छैन;यो मलाई राम्ररी थाहा छ।ऊ पनि यस सम्बन्धमा परिपक्व भईसकेको हुनु पर्दछ।ऊसँग सहयात्री बन्ने मलाई रत्तीभर इच्छा छैन र पनि ऊमा समाहित हुन मनले घचघचाउन थाल्यो।खैर ! मेरो हठ कहिले काहीं म आफैलाई उचित लाग्न छोड्यो।मैले आफ्नो जिन्दगीप्रति न्याय पनि गर्नु पर्छ;कमसेकम छोरीको भविष्यको ख्याल मैले गर्नै पर्छ।छोरीको जिन्दगीलाई मैले गन्दगी बनाई दिनु कदापि न्यायोचित ठहर्दैन।निकैबेर पछि ऊ बोल्यो –
“तिम्रो स्वीकारोक्ति मलाई चाहिन्न; बरु भन यहांबाट तिमी कसरी निस्कन सम्भव हुन्छ,बेलीबिस्तार गरौँ।“
म मौन रहें।
“आजै हिड्नु पर्छ;यो भन्दा राम्रो अवसर फेरि कहिल्यै नआउन सक्छ।“ नजर जुधाएर पुन: बोल्यो।
वल्ल मैले मुख खोलें।
“तिम्रो हठ सामू म झुक्न वाध्य भएँ।फेरि एक पटक जिन्दगीलाई दाउमा लगाउँदैछु,कथन कदाचित् भोलि गएर तिम्रो कदमहरु डगमगाउन पुगेमा तिमीलाई महापाप लाग्ने छ।कम्तिमा आत्मग्लानिसम्म मान्न पुग्यौ भने तिमी पनि व्यभिचारी नै ठहर्ने छौ।“ भावुक मुद्रामा स्वीकारोक्ति ओकलें।
“म अवसरवादी हुँदो हो त,सम्बन्ध पहिल्यै टुटाई सक्ने थिएँ।सायद हाम्रो भाग्यको लकीरमा संयोग मिलेको हुनु पर्दछ।म चाहन्छु हामीलाई ठेस लाग्ने ती दिनहरु कहिल्यै नआउन्।“
“तिम्रो विचार महान छ,यसलाई सदैव सम्हालेर राख्नु।म थोरै भए पनि सौभाग्यशाली नै रहेछु;तिमीमा म समर्पित भएँ।“ उसको कुममा शिर झुकाउदै मैले भनें।
“अब कसो गरौ ! यहांबाट आज जसरी नि निस्कनु पर्छ।“ चटारो भावमा ऊ बोल्यो।
“कसैलाई पत्तो नदिई छोरीलाई लिएर जाउँ,म सखार सम्ममा प्लेटफार्म आईपुग्ने छु।प्रतिक्षा गर्नु तत्कालै रमाना हुनु पर्छ।नत्र यस्तो मौका सायद कहिल्यै आउने छैन।कथन कदाचित् म आउन सकिन भने साँझ छोरीलाई नलिईकन तिमी यहाँ आउनु।यदि कुनै पनि हालतमा हाम्रो सम्बन्ध तय हुन सकेन भने ममा कृपा गरेर मेरी छोरीलाई सदाको निम्ति मेरो छायाँबाटै अलग हुने गरि तिमीले लिएर जानु।छोरीलाई जस्तो सुकै बनाउनु तर म जस्तो चाहीं कदापि नबनाई दिनु।म जिन्दगीभर तिमीप्रति आभारी हुनेछु।“ मधुर स्वरसंगै कतिबेला मेरो आँखा रसाउन पुगेछ पत्तो भएन।उसले आँसु पुसी दिंदै कस्सिएर आलिंगन मार्दै मेरो ललाटमा चुम्बन गर्यो।केहीक्षण पछि ऊ चुपचाप सँघार नाघेर रमाना भो।
मध्यरात भो।यतिन्जेल पनि छोरी देखा नपरेकिले मलाई पूर्ण विश्वास भो,उसले लिएर गएछ।यहाँ मलाई सोधपुछ हुन थाल्यो।मप्रति शंका-उपशंका गर्दै अपशब्द प्रहार हुन थाल्यो।कुनै कोठीमा गई होलि भन्ने जवाफ बारम्बार दोहोर्याई रहें।हाम्रो सुरक्षार्थ राखिएका हरिमुस्लेहरुले खोजि गरे;कहीं भेट्न सकेनन्।उसैले छोरी लागेको अड्कल तिनीहरुले लगाउन थाले।ऊ मेरो नाठो भएको जिकिर गरे।
सखार भो,म यहाँबाट निस्कन सकिन।सम्भवको सानो छेस्कोसम्म मिल्न सकेन।साथीहरुको कसरत पनि निकम्मा भो।आज मेरो निम्ति कोठी बन्द गरियो।यहि कोठी भित्रै दिन बिताएँ।सन्ध्याकाल छाएकोले बिजुली बत्तिको प्रकाश पनि मधुरै छरिएको थ्यो।ऊ आएको जानकारी मलाई साथीले दिई।एक क्षण पछि दुबैलाई सामुन्ने उभ्याईयो।सोधपुछ हुन थाल्यो।हामीले हाम्रो बन्न लागेको सम्बन्धलाई स्विकारेनौ।उसलाई बेस्मारी चुटियो;बचाउनलाई मेरो केहि जोर चलेन। र पनि उसले छोरी लागेको स्वीकारेन।एक पलको लागि त मलाई पनि डर भो,मेरी छोरी उसंग छैन भनेर तर मलाई पूर्ण विश्वास छ,छोरी उसैसंग छे।मैले धेरै अनुरोध गरें,उसलाई नकुटियोस् भनि तर केहि सीप लागेन,अन्तमा उसंग कहिल्यै नभेट्ने भनि विश्वास दिलाएँ।उसले पनि आईन्दा कहिल्यै नआउने वाचा गर्यो।यसपछि उसलाई छोडियो।मैले भावुक मुद्रामा उसलाई भनें-
“अब कहिल्यै पनि तिमी मेरो सामु देखा नपर्नु,मेरो छायाँबाटै अलग भएर जाऊ।तिमीप्रति म त्यसै पनि आभारी छु,सक्छौ भने तिम्रो महान विचारलाई सदैव सम्हालेर राख्नु।“
“हो,म पनि तिम्रो छायाँसम्म पर्न दिन्न,मलाई विश्वास गर।“ नजर जुधाएर ऊ बोल्यो।
उसलाई गाली-गलौज गर्दै हरिमुस्लेहरुले बाहिर लगे।ढोकाको सँघारमा उभिएर उसलाई हेरिरहें।ऊ ओझेल हुन अघि एक पटक एक पलक फर्किएर मलाई हेर्यो।मैले आँशु झारिदिन सिवाय केहि गर्न सकिन।
समयको गतिलाई मैले पछ्याउन सकिन न त मलाई नै समयले पर्खिएर कदम चाल्न सक्यो। र पनि म यतिबेला आफैप्रति विरक्तिएकी छैन।आफैसंग शिकायत गरौ त अब ममा यो खोक्रो बदनसिवाय के नै बाँकि छ र ! फेरि जसलाई गुमाएर अब मेरो के नै रित्तिन सक्छ र ! नि:सार जिन्दगीले मृत्युको सार पनि टिपेरै छोड्यो।म निकम्मा भईसकेकी छु।मेरो बदन पनि कसैले भोग गर्न नालायक बनिसकेको छ।यतिबेला मलाई कसैको सहानुभूति पनि चाहिएको छैन।अनि ऊ जस्तो अरु कुनै पुरुष मलाई ढाडस दिन कहिल्यै आएनन्।म पनि यस्तै नै चाहन्थें।मैले जिएर के पाउछु,अनि जिन्दगीले बित्दै जाँदा के पायो?यसको कुनै लेखा-जोखा गर्न मलाई इच्छा छैन।म खरानी भई सकेकी छु,जो कहिल्यै आगो बन्न नसक्ने गरि।जिन्दगी नै गन्दगी बन्न पुगेकोमा मलाई अपसोच छैन न त प्रायश्चित नै गर्न चाहन्छु।जे भोग्दै छु यहि थियो मेरो जीवन;यसलाई मैले स्वीकार्नै पर्छ।आफूप्रति आत्मग्लानि पनि छैन।
दश वर्षको उत्तर-चढावमा म यस्ती बन्न पुगें जिन्दगीले निकम्मा पायो।उ र मेरी छोरीको केहि खबरसम्म पाउन सकेकी छैन।साँचै नै उनीहरु बेखबर बन्न पुगे,मेरो छायाँसम्म छोरीलाई उसले पर्न दिएन।ऊप्रति म मर्लान्त आभारी बनिरहेकी छु।यतिबेला मेरो निम्ति सयल-नगरीको मूल सँघार नै खुल्ला गरिएको छ।धेरै पटक कोठीबाटै धकेलिएकी छु तर मलाई यहाँबाट अन्त कहिँ जाने इच्छा छैन।अझ मेरो हठको सामु यी हरिमुस्लेहरुको केहि जोर चाल्न सकेको छैन।न त मेरो मृत्युको केहि पल अघिसम्म नै चल्न सक्नेछ।मैले यहि बैंश गुमाएकी छु,अब मृत्यु लुकाउन म कहाँ जाउँ?कोठी र मेरो एक किसिमको गहिरो सम्बन्ध नै बसिसकेको छ।हो म जीवनको अन्तिम पलसम्म नै यहि रहने छु,ऊ र मेरी छोरी एक दिन पक्कै मलाई लिन आउने अपेक्षामा एक दृढसंकल्प लिएर सदैव कोठीको सँघारमा बसिरहेकी छु।जुनदिन मलाई आलिंगन मार्दै छोरीले भन्ने छिन् –‘आमा ! तपाईलाई लिन हामी आएका हौ।‘
अनि मेरो समिप बसेर उसले भन्दो हो- ‘अब जाऊँ,यो सँघार सदाको निम्ति नाघि देऊ।‘
म चाहीं उसलाई र छोरीलाई देखेर केहि बोल्न नसकी भक्कानिएर रुँदि हुँ।मेरो आँसु पुछिदिंदै उसले मेरो हालत सोध्दो हो- ‘कस्तो छौ?’
म उसलाई आलिङ्गन मार्दै आँसु पुछेर भन्ने छु –
‘म यस्तै नै छु।“।
-मौलश्री लिम्बु [रचनाकाल:- ३०-११-२००६, मलेसिया]
[दृष्टान्त:- प्रयुक्त कथा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मलेसिया द्वारा प्रकाशित “स्मारिका”साहित्यिक पत्रिकामा २०-०८-२००८ मा प्रकाशित भई सकेको छ।]
No comments:
Post a Comment