Friday 4 October 2013

गजल:- नआउँ भन्थें // अनिँदोमा

८) गजल

नआउँ भन्थें विदाईमा ,तिम्रै आग्रहमा धाएँ
नासो थियो मेरो माया, सबै फिर्ता लिन आएँ

अन्मिएकी थियौ तिमी,नयनमा मोतिसरि  
हालतको बन्दी हामी,मैले मनलाई सम्झाएँ

कर्तव्यलाई अंगालेर,सुनौलो जीवन पायौ
भताभुङग जीवनमा, मैले फेरि घात पाएँ



सारा दस्तुर बुझेकोछु ,दुनियाँमा टार्छ कस्ले ?
महशुस गरेपछि,सर्वथोक नै  गुमाएँ

सम्झौता कहाँ अल्झिएछ,लाग्छ हाम्रो नियतिमा
जति थिए आँशु बुँद ,बधाई मैले चढाएँ

९) गजल

अनिँदोमा दिन बित्ला सुसाएर सुत्नु होला
कोल्टे फेर्दै वदनलाई दु:खाएर सुत्नु होला

आजभोली बिर्से जस्तो लाग्छ मलाई किन कुन्नि
ऐठन बनि आउंछु खुट्टा घुमाएर सुत्नु होला

सखारको किरण आहा ! मलाई कति धेरै न्यानो
मध्य दिनको घामलाई पनि झुक्याएर सुत्नु होला

दुनियाँलाई फुर्सद छैन पसिनाले भिजि सके
गर्मि भए लुगा सबै फुकाएर सुत्नु होला

जाग-जाग शिशिर याममा कुम्भकर्ण बन्नु हुन्न
अल्छी लागे उपनामलाई छुपाएर सुत्नु होला।
२६-०५-२०१०

No comments:

Post a Comment